नेकपाको नेतृत्वमा एमसीएको कार्यालय घेराउ, भोली संसद भवन घेर्ने

डेली न्युजराप्ती       २७ मंसिर २०७८ १९:२५ मा प्रकाशित     482 No Comments


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आठ राजनीतिक दलीय मोर्चाले एमसीएको कार्यालय घेराउ गरेको छ । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार दरबारमार्गस्थित एमसीएको कार्यालय घेराउ गरिएको हो ।

घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल लगायत संयुक्त मोर्चामा आबद्ध विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ताहरु घेराउ कार्यक्रममा सहभागी भएका थिए ।

सहभागीहरु ‘एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्त शक्तिहरु एक हौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालयमा पुगेका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेलको नेकपा, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदेशन गरेका हुन् ।

तीन तिरबाट आएको ¥यालीलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवलय सदस्य कञ्चनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि खारेज हुनुपर्ने बताए ।

‘कसैले जस्ताको तस्तै संसदबाट पास गर्न नहुने भनेका छन्, कसैले संसदमा नलगेर सिधै लागु गरौँ भनेका छन्, कसैले परियोजना ठिक भएको र यसलाई संसदले छिटो अनुमोदन गर्नु पर्ने भनेका छन् ।’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी नेपालका लागि घातक छ । यो कुनै पनि हालतमा लागु गर्नु हुँदैन । यसलाई सिधै मन्त्रीपरिषदको निर्णयबाट खारेज गर्नु पर्छ ।’

एमसीसी इण्डोप्यासिफिक रणनीति (आइपीए)को अभिन्न अङ्ग भएकाले यसको मुख्य रणनीति चीनलाई घेर्ने रहेको बताए ।
‘हामीलाई चीन र अमेरिकाको लडाईँ पर्दा खासै केही फरक पर्दैन । त्यो हाम्रो चासोको विषय पनि होइन ।’ उनले भने, ‘हाम्रो चासो भनेको अमेरिकाले नेपाललाई सैन्य ब्यारेक बनाउन खोजिरहेको छ । त्यसका लागि हामीले संघर्ष गर्न परेको छ । अमेरिकाले नेपाललाई सैन्य अखडा बनाउन एमसीसीलाई माध्यम बनाएको छ ।’
‘अमेरिकाले नेपालमार्फत चीनमाथि क्षेप्यास्त्र हान्यो भने चीनले पनि त्यसको काउण्टरमा जहाँबाट क्षेप्यास्त्र हमला भएको थियो त्यही हमला गर्ने हो ।’ उनले भने, ‘दुबै देशका क्षेप्यास्त्र नेपालमा खस्ने छन् र नेपाल र नेपाली जना ध्वस्त हुनेछन् । त्यसबाट बच्नका लागि एमसीसी खारेज गर्नपर्छ ।’
त्यस्तै, विरोध सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि भए पनि एमसीसी नेपालबाट फिर्ता पठाउन पर्ने बताए ।

‘एमसीसी सम्झौतामा भएका प्रावधानले नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सुरक्षा र नेपालको कानुनको धज्जी उडाएको छ । यो जसरी इस्ट इण्डिया कम्पनी भारतमा आएर कब्जा गरेको थियो, ठिक त्यसकै अर्को रुप हो एमसीसी ।’ उनले भने, ‘भारतका पुजिपतीलाई केही डल्ला सुन दिएर जसरी बेलायत भारत पसेको थियो, त्यसैगरी अमेरिका डलर देखाएर नेपाल आउन खोज्दैछ । यसलाई जसरी पनि रोक्न पर्छ ।’

एमसीएको कार्यालय पाँच तारे होटल याक एण्ड यतिमा रहेको छ । त्यसले महिनाको ४ लाख भाडा तिर्दै आएको छ ।
संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार भोलि मंगलबार बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको जनाएको छ ।
स्रोत:eratokhabar

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार