तुलसीपुर खानेपानी: नेकपा बाहेक सबै दलहरुले ९ दलिय लिखित सहमती तोडे,चुनाव हुने

डेली न्युजराप्ती       १५ पुष २०७८ ०७:४७ मा प्रकाशित     443 No Comments


तुलसीपुर। तुलसीपुर खानेपनी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वकालागि निर्वाचन हुने भएको छ । तुलसीपुरमा क्रियाशिल ९ राजनीतिक दलले सर्वसम्मत बनाउन खोजेपनि त्यो सम्भव भएन । अध्यक्षमा तीन जनाको उम्मेदवारको निर्वाचन हुनेछ । ६ जनाले उम्मेदवार हालेपनि माओवादी केन्द्रका निर्मल कुमार आचार्य, एमालेका मनोज लामिछाने र नेकपाका खेमराज वलीले उम्मेदवार फिर्ता लिएका छन् ।

अब नेपाली काँग्रेस बीपीका दीपक कुमार धिताल, काँग्रेसका यमकान्त भण्डारी र काँग्रेसकै पवन बुढाथोकीबीच प्रतिस्पर्धा हुनेछ । काँग्रेसका पवन बुढाथोकीले पार्टीको निर्णय नमानेको पार्टीका एक नेताले बताए । ९ दलको गठबन्धनका आधिकारिक उम्मेदवार भण्डारी हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि ५ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएका छन् । आज निर्मला डीसी र नारायणप्रसाद भण्डारीले उम्मेदावारी फिर्ता लिएका हुन् । अब माओवादी केन्द्रका सिताराम शर्मा, काँग्रेसका गिरीधारी पौडेल र पूर्णप्रसाद धितालबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका सिताराम शर्मा हुन् ।

त्यस्तै सचिबमा एमाले–एमाले बीच नै प्रतिस्पर्धा हुनेछ । एमालेले आधिकारिक उम्मेदवार शेवकराम भण्डारीलाई बनाएको छ । तर, उनकै बागी उम्मेदवार दामोदर लामिछाने छन् । आज काँग्रेसका रञ्जनकुमार गौतम, गोपाल शर्मा र नेपाल कम्युनिस्ट पार्टीका मेघराज घिमिरेले उम्मेदवारी फिर्ता लिएका थिए ।

कोषाध्यक्षमा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । आधिकारिक उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी निकट भद्रबहादुर वली रहेका छन् । तर, काँग्रेसका मेघराज न्यौपाने, भोलाप्रसाद थापा र माओवादी केन्द्रका कर्णबहादुर वलीले उम्मेदवारी फिर्ता लिएनन् ।
त्यस्तै २ जनाको कोटा रहेको पुरुष सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ । पदमबहादु्र खड्का, लक्षमण केसी र शोविन्द्र चन्दको उम्मेदवारी परेको छ । उनीहरु तीनजनाबीच निर्वाचन हुनेछ । आधिकारिक उम्मेदवार राप्रपाका लक्ष्मण केसी र एकीकृत समाजवादीका पदमबहादुर खड्का रहेका छन् ।

तीन जना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । ति मध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार