बुद्धिजीवीहरूको वैचारिक प्रकाशन ‘शास्त्रार्थ’ बजारमा

डेली न्युजराप्ती       २९ माघ २०७८ १०:२३ मा प्रकाशित     409 No Comments


‘श्रमिक वर्गको पक्षमा पत्रिका विहंगत वैचारिक बहसको चौतारी बन्न सकोस्’
बुटवल । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले विचारप्रधान राष्ट्रिय पत्रिका “शास्त्रार्थ” प्रकाशित गरेको छ । नेकपा सम्बद्ध बुद्धिजीवीहरूको साझा र वैचारिक संगठन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले ‘शास्त्रार्थ’को पहिलो अङ्क प्रकाशित गरेको हो । पत्रिकाको सम्पादकीयमा पञ्चायत वा बहुदलीय संसदीय व्यवस्थाले जनताको जीवनमा गुणात्मक परिवर्तन गर्न नसकेको भन्दै यसलाई ‘नयाँ बोटलमा पुरानै रक्सीको उखान’ चरित्रार्थ भएको उल्लेख गरिएको छ । सम्पादकीयमा देशको समस्या पात्रहरुको नभई प्रणालीको भएको भन्दै वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्ने प्रकाशनको उद्देश्य रहेको बताइएको छ ।
नेकपा केन्द्रीय सदस्य एवं वरिष्ठ माक्र्सवादी लेखक अनिल शर्मा सल्लाहकार रहेको पत्रिकामा नेकपाका महासचिव विप्लव, प्राध्यापक कृष्ण खनाल, एकराज भण्डारी, व्यापक नेपाली, आहुति, शोभा दुलाल, भूमि आलोक, मोहन अन्सारी, डा. भगवानचन्द्र ज्ञवाली, नन्दलाल खरेल, खम्बु चन्द, उषाकिरण आजाद, रामकुमार श्रेष्ठलगायतको महत्वपूर्ण सामग्रीहरु रहेका छन् । महासचिव विप्लवले देशमा देखिएको राष्ट्रिय सङ्कटको मूलकारण पुँजीवादी राज्यव्यवस्था वा प्रणाली रहेको चर्चा गर्दै वैज्ञानिक समाजवादको वैकल्पिक राज्यसत्ताबारे व्याख्या गर्नुभएको छ । महासचिव विप्लवले एक राष्ट्रिय दैनिकमा प्रकाशित प्राध्यापक कृष्ण खनालले लेख्नुभएको लेखको खण्डन गर्दै भन्नुभएको छ, “कुनै पनि राजनीतिक मूल्य स्थायी, स्थिर र सार्वकालिक हुँदैन । समाजको विकास, नागरिकहरुको चाहना र आवश्यकतासँगै मूल्यहरुको पनि विकास र परिवर्तन हुने गर्छ ।” महासचिव विप्लवले देशको आधारभूत चरित्रमै आमूल परिवर्तन जरुरी भएको भन्दै नयाँ शिक्षा, संश्लेषण र विशेषतासहितको वैज्ञानिक समाजवाद आवश्यक भएकोमा जोड दिनुभएको छ । पत्रिकाको कानुनी सल्लाहकारमा कपिलचन्द्र अधिकारी रहनुभएको छ भने सम्पादन समूहमा देवकला अधिकारी, व्यापक नेपाली, डा.भगवानचन्द्र ज्ञवाली, नन्दलाल खरेल रहनुभएको छ र व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ र दीपेन्द्र बस्नेत रहनुभएको छ । पत्रिकाको अन्तिममा संगठनका गतिविधिहरु, संगठनद्धारा प्रकाशित वक्तव्यहरु राखिएको छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन वा परिवर्तनका पक्षधरहरुका लागी महत्वपूर्ण वैचारिक खुराक रहेको पत्रिकाको मूल्य ५० रहेको छ । आगामी दिनमा नेकपाले उठाएको राजनीतिक तथा वैचारिक बिषय, श्रमिक वर्गको मुक्ति र सङ्घर्षको पक्षमा पत्रिका विहंगत वैचारिक बहसको चौतारी बन्न सकोस् र एकीकृत जनक्रान्तिको पक्षमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सहित प्रकाशन वा सम्पादकीय टिमलाई निरन्तर प्रकाशनको शुभकामना छ।

जनबाटोबाट….

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार