होली पर्व:आज पहाडी तथा हिमाली जिल्लामा मनाईदै

डेली न्युजराप्ती       ३ चैत्र २०७८ ०७:४९ मा प्रकाशित     296 No Comments


काठमाण्डौ,३ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उछृङखल रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।

उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार