वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सुरु गरेको ‘नयाँ संस्कार’

डेली न्युजराप्ती       २१ चैत्र २०७८ ०७:५० मा प्रकाशित     378 No Comments


आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले अबदेखि कार्यक्रमको ‘उद्घाटन सत्र’लाई ‘प्रारम्भ सत्र’ भन्ने भएको छ। काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाको पहिलो दिन पार्टीले सुरु गरेका विभिन्‍न ‘नयाँ संस्कार’बारे जानकारी दिइएको हो।

अबदेखि वैज्ञानिक समाजवादीका कुनै पनि कार्यक्रमका मञ्‍चमा कुर्सी तथा सोफाहरु राखिने छैनन्। पार्टीका कार्यकर्ता, नेता र नेतृत्वकर्ता सबैको बसाइ अब सँगै रहने जागृत रायमाझीले जानकारी दिए।

प्रज्ञा भवनमा भएको प्रारम्भ सत्रमा पनि मञ्‍चमा कुनै कुर्सी, सोफा र माला थिएन। थियो त केवल रोष्टम मात्रै। पार्टी अध्यक्ष आहुती, विप्लव, सिपी गजुरेल, अतिथि खगेन्द्र संग्रौला र आमन्त्रित कविहरु विनोदविक्रम केसी, राजु स्याङतान र सुमिना पनि कार्यकर्तासँगैको कुर्सीमा बसेका थिए।

अबदेखि पार्टीका कार्यक्रममा सभापतिको आसन ग्रहण, प्रमुख अतिथि तथा अतिथिको आसन ग्रहण पनि नहुने रायमाझीले जानकारी दिए। ‘अबदेखि हामी कसैले कसैलाई श्रदेय, आदरणीय, सुप्रिमो र भाइबिहिनि भन्‍ने छैनौँ’, उनले भने, ‘सबैले सबैलाई कमरेड भनेर सम्बोधन गर्नेछौँ।’

कार्यक्रमको मञ्‍चलाई पार्टीले अब एक ‘पाठशाला’को रुपमा स्थापित गर्न खोजेको रायमाझीले बताए। पुँजिपति संस्कृतिको अन्त्य गर्न यस्तो संस्कारको शुभारम्भ गरिएको उनले जानकारी दिए।

‘मञ्‍चमा बसेका नेताहरुले कान कोट्याउँलान्, नाक कोट्याउँलान्, निद्रा लागेपछि हाइ गर्लान्, उनीहरुको यस्ता हर्कतलाई हामीले चुपचाप हेरिदिनुपर्ने?’, उनले थप्दै भने, ‘आजदेखि हामीले मञ्च खारेज गरेका छौँ।’

अबदेखि पार्टीको कार्यक्रममा फूलमाला र खादा पनि प्रयोग नगरिने रायमाझी बताउँछन्। पार्टीले सुरु गरेका नयाँ संस्कारहरुबारे जानकारी दिँदै उनले थपे, ‘हामीले कसैको जन्मोत्सव मनाउने छैनौँ। र कसैको लाशलाई मुठ्ठी कसेर लालसलाम पनि गर्ने छैनौँ। बरु सानो स्मृतिसभा गर्न सकिएला।’ पार्टीले ९० वर्षीय नन्दन अर्यालको नेतृत्वमा प्रभुत्व समितिसमेत गठन गरेको पनि रायमाझीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार