कैलालीमा माकेका निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जन नेकपामा प्रवेश

डेली न्युजराप्ती       २७ बैशाख २०७९ ०८:४३ मा प्रकाशित     285 No Comments


कैलाली। कैलालीको घाेडाघाेडीमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जनले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

घाेडाघाेडी नगरपालिका वडा नम्बर १२ मा का २०७४ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष पर्मा कुमार चाैधरी, सदस्यहरु प्रभु चाैधरी, मानबहादुर चाैधरी, चन्द्रा चाैधरी र ओमकला परियार लगायत दुई दर्जनले साेमबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पहिलो निर्वाचनमा निर्वाचित याे टिम अहिले पनि खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र रुपबाट वडाको चुनावमा हाेमिएकाे छ । जनताको राम्रो काम गर्दागर्दै कथित गठबन्धनको नाममा माओवादी केन्द्रले अपमान र पक्षपात गरि अर्कोलाई टिकट दिएपछि याे टिम पुनः स्वतन्त्र उम्मेदवारी दिएर अगाडि बढेको छ । यसलाई पार्टीको नीति बमोजिम नेपाल कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गरेको छ ।

साेमबार पार्टी प्रवेश तथा ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुनले पार्टीको तर्फबाट याे स्वतन्त्र टिमलाई हरसम्भव सहयोग गर्ने बताएका छन् । पार्टीमा प्रवेश गरेकालाई सम्मान तथा स्वागत गर्दै नेता पुनले आफ्नो पार्टीले संसदीय दलाल पुजीवादी व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएको र याे चुनावलाई पार्टीले संगठन र संघर्षको माेर्चाकाे रुपमा प्रयाेग गरेको कुरामा जाेड दिएका थिए । कार्यक्रममा पार्टीका कैलाली जिल्ला सचिव गणेश ढकाल, कञ्चनपुरका सचिव प्रकाश मल्ल, विशेष कमिटी सचिव किरण, विशेष कमिटी सदस्य जयदत्त पाण्डे, सचिवालय सदस्यहरु बरदान, पवित्र , जितु, मधुसूदन लगायत जिल्ला कमिटी, युवा, विद्यार्थी र स्थानीय जनताको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संयाेजन तथा सञ्चालन पार्टीका नगर सचिव अर्जुन कठरिया र स्वागत नगर इन्चार्ज भरत शाहले गरेका थिए । नव प्रवेशिका तर्फबाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पर्मा चाैधरीले माओवादी केन्द्रले अवमूल्यन गरेता पनि आफ्नो टिमले गत कालमा पनि राम्रा जनपक्षीय काम गरेको र आगामी दिनमा पनि आफुहरु विजय भए थप राम्रोसँग जनताका काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार