स्थानीय निर्वाचन उपयोग कार्यनीति:एक समिक्षा

डेली न्युजराप्ती       ७ जेष्ठ २०७९ १७:२५ मा प्रकाशित     273 No Comments

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकले स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई उपयोग गर्ने कार्यनीति लियो। यसलाई वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिको सहयोगी कार्यनीतिको रुपमा संश्लेशण गरियो। यो कार्यनीतिको उदेश्य एकीकृत जनक्रान्तिको रणनैतिक लक्षलाई सहयोग पुर्‍याउने, पार्टीलाई जनताको विचमा लैजाने, एक हदसम्म पार्टीको जन प्रभावलाई परिक्षण गर्ने, जनपरिचालनलाई व्यापक र व्यवस्थित वनाउने, जनतालाई वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्थाको असफलतावारे सुसुचित गर्ने र यसको भण्डाफोर गर्ने साथै संभव भएका स्थानहरूमा अहिलेको राज्य व्यवस्थाको स्थानिय इकाईलाई समेत जनताको पक्षमा प्रयोग गर्ने र जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने उदेश्यको सहयोगी वनाउने उद्देश्यहरू अन्तर्निहित थिए। स्वभावतः क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यनीति र पहलकदमीहरूले पार्टी आन्तरिक जीवन, राष्ट्रिय राजनीति र एक हदसम्म अन्तर्राष्ट्रिय राजनीतिमा हलचल पैदा गर्दछ र गर्नुपर्दछ। त्यसपछि मात्र यसले आफ्नो प्रभाव र हस्तक्षेपलाई आवश्यक स्तर र उचाईमा पुर्‍याउन सक्छ। हाम्रो पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकको वहस र निर्णयले पनि पार्टी आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा एउटा जवरजस्त तरंग र हलचल पैदा गर्यो। पार्टी भित्रको एउटा सानो फुटवादी, अवसरवादी र अराजकतावादी प्रवृत्तिले पार्टीको यो कार्यनीतिलाई पार्टी संसदवादमा फसेको र यो कार्यनीति नभई रणनीति भएको गलत निश्कर्ष निकाली पार्टी र नेतृत्वका विरुद्ध गोयवल्स शैलीमा विषवमन गर्दै पार्टी छोड्यो भने समग्र पार्टी पंती यो कार्यनीतिको प्रयोगमा अघि बढ्यो।
सकारात्मक पक्षहरू
स्थानीय निर्वाचन उपयोगको नीति सहीत हाम्रो पार्टी विविध प्रतिकुलताका विच निर्वाचन प्रक्रियामा स्वतन्त्र उम्मेदवारीको रुपमा होमियो। खासगरी जनयुद्ध र एकीकृत जनक्रान्तिका आधार इलाका, पार्टीको प्रभाव भएका स्थानहरू र केही शहरहरूमा पार्टीले स्वतन्त्र उम्मेदवारहरु पठायो। ३० वटा नगरपालिका, ४२ वटा गाउँपालिका, १ महानगर र १२० वटा वडाहरू गरि पार्टीको तर्फबाट ७५८ जना उम्मेदवारहरु स्वतन्त्र रुपमा निर्वाचन प्रक्रियामा सहभागी भए । ३ हप्ताको मात्रै छोटो चुनाव तयारी समयको वावजुद तत स्थानमा निर्वाचनमा पार्टी होमीयो। निर्वाचनको प्रचारप्रसारको क्रममा हजारौं जनताको सहभागितामा सयौं ठाउँहरूमा चुनावी सभा, अन्तरक्रिया, छलफल र जनभेटघाटहरू सम्पन्न भएका छन्। यो निर्वाचनले पार्टी र पार्टीको विचारलाई जनताको घरदैलो सम्म पुर्‍याउन सफल भएको छ। यस क्रममा जनताले हाम्रो पार्टीको उपस्थितिलाई आफ्नो प्रतिनिधि पार्टी आएको रुपमा लिए। हाम्रो पार्टीलाई भ्रष्ट र जनविरोधीहरुको विकल्पको रुपमा हाम्रो उपस्थितिलाई स्वागत गरे। जनताका सुझावहरूलाई सुन्ने र ग्रहण गर्ने अवसर पनि यो निर्वाचनले प्रदान गर्यो। समर्थक, राजनीतिक र वैचारिक रुपले प्रशिक्षित जनतालाई यो निर्वाचनले पार्टीको पक्षमा उभिने, परिचालित हुने अवसर पनि प्रदान गर्यो। यस क्रममा दलाल पूँजीवादी संसदीय व्यवस्थाको असफलता र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने विषयमा व्यापक छलफल र अन्तरक्रियाहरु सम्पन्न भए। यो अवधिमा हजारौं जनताको विचमा पार्टीका विचारहरू प्रवाहित भए। हजारौंको संख्यामा युवाहरू परिचालित भए। यो निर्वाचन उपयोग नीति जनपरिचालन, जनसम्वन्ध विस्तार, पार्टीको संगठन, प्रभाव र हस्तक्षेप वढाउने कोणबाट उपलब्धिमुलक रह्यो। पार्टीको सरल र मितव्ययी प्रचारप्रसार शैली पनि उदाहरणी रह्यो। देशैभरी हजारौं जनताले पार्टीका उम्मेदवारको पक्षमा मतदान गरे भने थवाङ, माल्कोट लगायतका कयौ स्थानका वार्डहरुमा हाम्रा उम्मेदवारहरू पैसाको व्यापक चलखेल, सरकारी गठबन्धन लगायतका विविध षड्यन्त्रका वावजुद झिनो मतान्तर दोस्रो स्थानमा आए।

समिक्षाका पक्ष
यो निर्वाचन हामी र हाम्रो पार्टीले आयोजना गरेको कार्यक्रम थिएन। सरकारले घोषणा गरेको कार्यक्रममा छोटो तयारीको विचवाट यो मोर्चामा होमिनुपर्ने स्थिति थियो। छोटो तयारी र विभिन्न समस्याका विचवाट स्थानीय निर्वाचनमा जानुपर्ने परिस्थितिमा अपेक्षाकृत जित हासिल हुन नसक्नु समिक्षाको पक्ष रहेको छ। यसका पछाडिका निम्न कारणहरूले संभव र अपेक्षाकृत सफलता हासिल गर्न सकिएन।
१) छोटो र अपर्याप्त तयारी समय:
संसदवादीहरुले यो निर्वाचनको तयारी अघिल्लो निर्वाचन सम्पन्न भए पछि नै गरिरहेका थिय। हाम्रो पार्टी भने १५ दिनको मात्र तयारी सहित निर्वाचनमा होमिनुफरेको थियो। तसर्थ संसदवादीहरुको लामो तयारीका सामु हाम्रो अत्यन्त छोटो तयारी अपर्याप्त हुनगयो।
२) पार्टीको आन्तरिक स्थिति:
स्थानीय निर्वाचन उपयोगको कार्यनीतिको विषयमा पार्टीभित्रका फुटवादी र अवसरवादीहरुले गोयवल्स शैलीमा दिएको गलत भ्रम र पार्टी र क्रान्ति विरुद्ध फैलाएको हल्लाले नकरात्मक भुमिका खेल्यो।
३) पार्टीको अवस्थाको आकलन मनोगत हुनु:
हाम्रो पार्टी १५ वर्ष पछि निर्वाचनको प्रक्रियामा सहभागी भएको थियो। यस विचमा स्थानीय स्तरमा राजनीतिक र प्रशासनिक स्थितिमा व्यापक परिवर्तन भएको थियो। भ्रष्ट स्थानीय निकायका प्रतिनिधिहरूले जनतालाई विभिन्न प्रलोभन र भ्रममा पारेका थिय। हाम्रो पार्टीले विगतका निर्वाचनहरू निरन्तर वहिस्कार गरिरहँदा हाम्रो पार्टीको चुनावी शक्ति र वास्तविक अवस्थाबारे यतार्थपरक आकलनमा समस्या रह्यो।

४) संसदवादीहरुले पैसामा भोटको खरीद गर्नु:
यो निर्वाचनमा संसदवादीहरुले जनताको मतलाई खरीद विक्रि गरे। ग्रामीण क्षेत्रमा पनि एउटै गाउँ /नगर पालिकामा ३/४ करोड भन्दा वढी पैसा लगानी गरेको रिपोर्टहरू प्राप्त भएका छन। जाड रक्सी, भोजभतेर देखि एउटा भोटको ३ देखि १० हजार सम्ममा खरिद गरेका छन। यसले पनि कथित लोकतान्त्रिक व्यवस्थाको ध्वजी उडेको छ। हाम्रो तर्फबाट भने सामान्य व्यवस्थापनको पनि समस्या रहनु समिक्षाको विषय रह्यो।
५) मतदाता नामावली छुट्नु:

हाम्रो पार्टीले विगतका निर्वाचनहरू वहिस्कार गरेका कारण समर्थक जनताले मतदाता नामावली संकलनको वेला आवश्यक ध्यान नदिदा हजारौंको संख्यामा मतदाता नामावली छुट्न गयो। जसको परिणाम रोल्पा, कालिकोट, मुगु लगायतका जिल्लाका कयौ वडाहरूमा झिनो मतान्तरले असफलता व्यहोर्नु पर्यो।
६) आवश्यक चुनावी तालमेलको समस्या:

चुनावमा सरकारी पार्टीहरू गठबन्धन सहित सहभागी भएका थिए। त्यसको प्रतिस्पर्धामा हाम्रो पार्टी अधिकांस स्थानमा एकल रुपमा निर्वाचनमा होमीयो। स्थानीय स्तरमा आवश्यक र संभव तालमेलको पनि समय लगायतका विविध कारणले नहुनु एक समस्या रह्यो।
७) यसबाहेक उम्मेदवार छनौट, प्रचारप्रसार सामाग्रीको अभाव, कतिपय ठाउँमा पार्टी भित्रैवाट वागी उम्मेदवारी पर्नु, निर्वाचन प्रतिनिधि (एजेन्ट) हरूले आवश्यक पहलकदमी लिन नसक्नु लगायतका समस्याका विषयहरू रहे।
यो वस्तुस्थिति र विभिन्न कारणहरूले निर्वाचनमा अपेक्षित र संभव परिणाम नआएपनी निर्वाचन उपयोगको नितिले पार्टीलाई जनतामा फर्काएको छ। पार्टी र जनताको सम्वन्धलाई थप विश्वासीलो, सुदृढ र विस्तार गरेको छ। छोटो तयारी र अन्तिम घडीको पार्टीको आह्वानमा पनि कालिकोट, रोल्पा लगायतका जिल्लामा हजारौं जनताले पार्टीको पक्षमा मतदान गरेका छन। भ्रष्ट र जनविरोधीहरुले पैसामा खरीद गरेका भोटको तुलनामा हामीलाई जनताले दिएकाे मत हजारौं गुणा मुल्यवान छ। जसको एक आपसमा तुलना हुन सक्दैन।

यो निर्वाचनले स्थानीय स्तरमा पार्टीलाई जनमत सहितको प्रतिपक्षको भूमिकामा पुर्याएको छ। आफ्नो जनमत सुदृढ, विस्तार र व्यवस्थित गर्दै स्थानीय निकायका भ्रष्ट र जनविरोधी हर्कतका विरुद्ध जनता सहितको संघर्षको निम्ति वलियो आधार खडा गरेको छ। यो निर्वाचन उपयोगको कार्यनीति एकीकृत जनक्रान्तिको एउटा खुड्किलो मात्र हो। यो वर्ग संघर्षको एक मोर्चा पनि हो जहाँ दलाल पूँजीवादी संसदीय व्यवस्थाका पक्षधर प्रतिनिधि र जनताका वैज्ञानिक समाजवाद पक्षधर प्रतिनिधिको विचमा वैचारिक, राजनीतिक र मतको प्रतिस्पर्धा भयो। क्रान्तिको मोर्चामा कयौ हार, असफलता र क्षतिहरूको हुन्छन। सधै हार र सधै जित भन्ने विषय संभव हुँदैन। विजयमा उत्साहित भएर उन्माद चड्ने र असफलतामा निराश भएर विचलित र विगठित हुने प्रवृत्तिवाट बच्नु पर्दछ । यो निर्वाचनवाट जुन शिक्षाहरू हासिल भएका छ त्यसबाट वस्तुवादी ढङ्गले निचोडहरु निकाल्दै शिक्षा लिने, पाठ सिक्ने र उपलब्धि एवं संभावनाहरूको रक्षा र पहिचान गर्दै अगाडि वढ्नु र दलाल पूँजीवादी संसदीय अर्थ राजनीतिक व्यवस्थाको पुर्ण अन्त नभएसम्म निरन्तर एकीकृत जनक्रान्तिको झन्डा उठाउनु अहिलेको आवश्यक हो।
(लेखक नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष हुन ।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार