नेकपासहित ९ कम्युनिस्ट पार्टीद्वारा एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न कडा चेतावनी

डेली न्युजराप्ती       १ असार २०७९ ११:५८ मा प्रकाशित     259 No Comments


काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित नौ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्न र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्न कडा चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेकपा , नेकपा (माओवादी समाजवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र जनसमाजवादी मञ्च, नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्न र एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न कडा चेतावनी दिएका हुन् ।

राजनीतिक दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ- “नेपालको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको छ । यस स्थितिमा हामी प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न नेपाल सरकारसमक्ष विशेष माग गर्दछौँ ।”

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ,नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पाल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा (मसाल) केससका संयोजक सन्तबहादुर नेपाली, जनसमाजवादी मञ्च, नेपालका संयोजक गम्भीरद्वारा जारी संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग रहेको उल्लेख गर्दै भनिएको छ, “यो प्रोग्राम हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग हो । यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिणएसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ । हामी निम्नानुसारका कम्युनिस्ट पार्टीहरू सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।”

विज्ञप्तिमा नेपालको संसद्द्वारा एमसीसी पारित गरिएको घोषणा भएपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप एकाएक बढेको ठहर गर्दै भनिएको छ- “प्रधानमन्त्री शेरबहादुर देउवा यसको सहजकर्ता बनेका छन् । वर्तमान सरकारको नेतृत्व गर्ने नेपाली काङ्ग्रेस तथा गठबन्धनमा समावेश अन्य दलहरू यसप्रकारको नाङ्गो हस्तक्षेपको विरोध गर्नुको साटो सत्तारोहणका लागि अमेरिकी साम्राज्यवादीे शासकहरूको चाकडी गर्नमा व्यस्त छन् । अमेरिकी साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिँदै आएको हस्तक्षेप र संसद्वादी दलहरूको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध सशक्त आवाज उठाउन र नेपाली सार्वभौमिकताको रक्षाका लागि देशभक्तिपूर्ण आन्दोलनमा अगाडि आउन हामी सम्पूर्ण देशभक्त, वामपन्थी तथा प्रगतिशील पार्टी, समूह तथा व्यक्तित्वहरूलाई विशेष आग्रह गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार