अखिल(क्रान्तिकारी)को महासचिवमा ललित,सचिवमा प्रकाश र कोषाध्यक्षमा प्रीतिमा

डेली न्युजराप्ती       १३ असार २०७९ २०:४६ मा प्रकाशित     272 No Comments


काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक रिक्त पदमा पदपूर्तिसहित विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

संगठले आज रिपार्टस क्लबमा पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा असार ११, १२ र १३ गते बसेको बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । राजनैतिक वैचारिक विचलनका कारण रिक्त पद रहेको संगठनको महासचिवमा ललित विक, सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रितिमा चौधरीलाई निर्वाचित गरेको उक्त संगठले जानकारी गराएको छ ।

अध्यक्ष प्रकाश शाहीको अध्यक्षता र पार्टी प्रवक्ता प्रकाण्ड प्रमुख अतिथि, पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज चिरन पुन ‘मिलन’ तथा संगठनका सल्लाहकार चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले वैज्ञानिक समाजवाद स्थापनाको लागि बहस तथा छलफल अघि बढाउने निर्णय गरेको छ ।

बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने पनि निर्णय लिएको छ । यस्तै, समान, निःशुल्क, वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने पनि महत्वपूर्ण निर्णय बैठकले लिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आफ्नाे संगठनले मुल्यबृद्धि, महङ्गी, भ्रष्टाचार, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौताका विरुद्ध निर्णायक संघर्ष गर्ने लगायतका निर्णय गरेको बताएका छन् । संगठनका अध्यक्ष शाहीले युवामा देखिएको लागुऔषध दुर्व्यसनी र प्रतिभा पलायनविरुद्ध अभियान सञ्चालन गर्ने जनाए । निजी विद्यालयहरुले प्रत्येक वर्ष फेर्ने पाठ्यक्रम र सरकारी तथा सामूदायिक विद्यालयमा भइरहेको पाठ्यपुस्तक अभावबारे पनि संघर्ष गर्ने बैठकको निर्णय रहेको शाहीले बताए ।

पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र विक, नवनिर्वाचित महासचिव ललित विक, सचिव प्रकाश जप्रेल र काेषाध्यक्ष प्रितिमा चाैधरीले पनि बाेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार