जनसञ्चारको क्षेत्र र भूमण्डलीकरण

डेली न्युजराप्ती       १६ असार २०७९ ०७:२८ मा प्रकाशित     396 No Comments

विचार: खोमा तरामुमगर

आजको युगडिजिटल युग हो । डिजिटलको अर्थ हो-इन्टरनेटको पहुँच, अर्थात् ‘न्यु मिडिया’ । आजभन्दा २० वर्ष अगाडि मध्यपूर्वको जस्मिन विद्रोह होस् वा अमेरिकामा वालस्ट्रिट आन्दोलन, यसले साम्राज्यवादको मुटुमा कम्पन पैदा गरेको थियो । यो आन्दोलन अमेरिकाबाट शुरू भएर एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोपका असीभन्दा बढी देशका शहरमा आगोजस्तै सल्किएको थियो करोडौं जनता पुँजीवादका विरुद्ध सडकमा उभिएर ‘लङ्लिभ सोसलिज्म’ को नारा लगाएका थिए यसको शुरूआत फेसवुक, ट्वीटरजस्ता न्यु मिडियाहरूबाट भएको थियो । हामी अहिले साँधुरो कोठामा बसेर विश्वका घटनाहरुलाई यसरी हेर्न, बुझ्न र जान्न सक्छौं । सञ्चार क्षेत्रको विकासलाई कसैले छेक्न सक्दैन । यो कुरा सत्य हो । तर सूचना र सञ्चार क्षेत्रका साधनहरू कसको हातमा छ र कुन स्वार्थका लागि प्रयोग भइरहेका छन् ? यो महत्वपूर्ण प्रश्न हो ।

आजको सूचना भूमण्डलीकरण साम्राज्यवादसित सम्बन्धित छ। सूचना सञ्चारका उच्च प्रविधिमार्फत् विश्वमा आर्थिक, राजनीतिक, सांस्कृतिक, फौजी र चौतर्फी एकाधिकार कायम गर्ने विचार, उद्देश्य र प्रक्रियासित अहिलेको सूचना भूमण्डलीकरण गाँसिएको छ। अर्थात् अहिलेको सूचना भूमण्डलीकरण स्वभाविक प्रक्रिया नभएर साम्राज्यवादको नीति र योजनामा केन्द्रित छ । अमेरिकी समाजशास्त्री जेम्स पेट्रासले भूमण्डलीकरण अमेरिकी साम्राज्यवादको स्वार्थसित गाँसिएको भन्दै यसलाई ‘नयाँ विश्व व्यवस्था’ भनेका छन् । उनले भुमण्डलीकरणको अर्थ अमेरिकी साम्राज्यवादको वर्ग स्वार्थद्वारा नियन्त्रित र निर्देशित भएको बताएका छन् ।

जनसञ्चारको क्षेत्र:
भूमण्डलीकरण साम्राज्यवादको पेवा होइन । हामीले साम्राज्यवादी भूमण्डलीकरणलाई जनसञ्चारको भूमण्डलीकरणमा फेर्नुपर्छ। जनसञ्चार जनताको बलिदानीपूर्ण सङ्घर्षको इतिहाससँग सम्बन्धित छ । हज्जारौ शहीद, घाइते, बेपत्ता योद्धाहरुका ओजश्वी सपनाहरूसित सम्बन्धित छ क्रान्तिको गौरवपूर्ण इतिहासगाथा र उज्जवल भविष्यसित सम्बन्धित छ। अर्थात् मानव सभ्यताको सबैभन्दा सुन्दर, उन्नत र वर्गविहीन राजनीतिक व्यवस्था साम्यवादसित सम्बन्धित छ । आज साम्राज्यवादले फैलाएका गलत प्रचार र भ्रमका विरुद्ध जनसञ्चार क्षेत्र आमनेसामने भएर उभिनुपर्छ, । आज साम्राज्यवादले आफ्नो गलतनीतिलाई प्रचारयुद्धको रूपमा विकास गर्दै उत्पीडित राष्ट्र र जनतामाथि भ्रमित विचारको बम बर्साइरहेको छ त्यसकारण सञ्चार क्षेत्र युद्धको अङ्ग मात्रै बनेको छैन, क्रान्तिको महत्वपूर्ण साधन समेत बनेको छ साम्राज्यवादको गलत नीति र विचारको खण्डन नगरी वैज्ञानिक समाजवाद स्थापित हुन सक्दैन । जनपक्षीय सञ्चार क्षेत्रलाई भूमण्डलीकरण नगरी वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण हुन सक्दैन मालेमावादीहरु सूचनार सञ्चारका सन्दर्भमा सबैभन्दा सचेत, गम्भीर र जिम्मेवार हुनुपर्दछ । क्रान्तिमा सूचना सञ्चारको भूमिकालाई कसरी समायोजन गर्ने भन्ने कुरामा हामी भ्रममा पर्नुहुदैन।

जनसञ्चार क्षेत्रको अन्तर्राष्ट्रिय अनुभव:
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकाससँगै जनसञ्चार क्षेत्रको विकास भएको थियो । सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सले क्रान्तिकारी विचारको प्रवाहमा जनसञ्चारको भूमिकाबारे ‘जनसञ्चारको प्राथमिकता स्वतन्त्र व्यापार नबन्नुमा हुन्छ’ भनेर भन्नु भएको थियो । उहाँले लेखकहरुले बाँच्न र लेख्न सक्नका लागि कमाए पनि कमाउनका लागि लेख्न नहुने र आफ्नो आस्थाका र निष्ठाका लागि आवश्यक परे क्रान्तिमा बलिदान दिनुपर्ने कुरालाई महत्व दिनुभएको थियो । महान लेनिनले क्रान्ति र प्रचारकर्ताको भूमिकाबारे महत्वपूर्ण निर्देशनहरु दिनुभएको छ । उहाँले प्रचार र आन्दोलन एक-अर्कासँग गाँसिएका अभिन्न अङ्ग भएको भन्दै जहाँ आन्दोलन वा युद्ध हुन्छन् त्यहाँ प्रचारको महत्वझन् बढी हुने बताउनु भएको थियो । क्रान्तिकारी समाचारपत्रले के गर्नुहुन्छ र के गर्नु हुँदैन ? भन्ने प्रश्नमा लेनिनले भन्नुभएको छ, “एक क्रान्तिकारी समाचारपत्रलाई कुनै पनि हालतमा पुँजीवादी प्रतिष्ठान बन्नदिनु हुदैन र हाम्रा सबै अखबार पुँजीवादी ऋण संस्थाबाट स्वतन्त्र हुनुपर्दछ ।” उहाँले जनसञ्चारको क्षेत्रलाई सामूहिक आन्दोलनकर्ता, सामूहिक प्रचारकर्ता र सामूहिक सङ्गठनकर्ता भनेर यसको महत्वलाई जोडदिनु भएको थियो । लेनिनले इस्क्रा पत्रिकाको सम्पादन आफै गर्नुभएको थियो तर इस्क्रा मेन्सेविकहरुले कब्जा गरेपछि प्राब्दा प्रकाशन गरेर समाजवादी क्रान्तिको प्रचार र त्यसको पक्षमा वैचारिक काम गर्नुभएको थियो ।

चीनको नयाँ जनवादी क्रान्तिको सन्दर्भमा माओत्सुतङले जनसञ्चार क्षेत्रको दायित्वबारे भन्नुभएको छ, “कामरेडहरु, तपाईंहरू सञ्चारकर्मी हुनुहुन्छ । जनसमूहलाई शिक्षादिनु, जनसमूहलाई आफ्ना हितहरुबारे जान्न बुझ्न समर्थ तुल्याउनु, तिनलाई आफ्ना अभिभाराहरु र पार्टीका आम र विशेष नीतिहरुबारे जान्न बुझ्न समर्थ तुल्याउनु नै तपाईंहरुको काम हो । अखबार चलाउनु पनि अरू काम गर्नुजस्तै हो, यो काम राम्ररी गर्ने र त्यसलाई सजीव तुल्याउने हो भने दिलोज्यानले काम गर्नु जरुरी छ।” माओले क्रान्तिको अवधिभर मात्र होइन, क्रान्ति सम्पन्न भइसकेपछि पनि आफैले पार्टी र गैरपार्टी प्रकाशनहरुको सम्पादन गरी तिनीहरुमा नियमित लेख, टिप्पणी, सम्पादकीयहरु लेख्नुभएको थियो । उहाँले ‘भुत्ते चक्कुले बैरीको रगत बगाउन नसकिने’ भन्दै हाम्रा अखबारहरु सजीव, प्रष्ट र तिख्खर हुनुपर्ने र तिनले कहिल्यै पनि मसिनो स्वरमा गुनगुनाउने र कुरा चपाउने गर्न नहुने बताउनुभएको थियो ।

अमेरिकी पत्रकार जोन रीड र रिस विलियम रूसी अक्टोबर क्रान्तिको उर्लदो भेलसँगै पेट्रोग्रादमा पुग्नु भएको थियो । उहाँहरू त्यहाँ प्रत्यक्षदर्शी मात्र होइन, तेस्रो अन्तर्राष्ट्रियका प्रतिनिधिकारूपमा समेत त्यो आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । जुलियस फ्युचिकचेकोस्लाभाकियाका कम्युनिस्ट पार्टी नेता मात्रै होइन, क्रान्तिकारी पत्रकार समेत हुनुहुन्थ्यो । उहाँले गेष्टापोको कठोर यातना गृहमा बसेर विश्व प्रसिद्ध पुस्तक ‘झुण्ड्याउँदा-झुण्ड्याउँदै’ लेख्नुभएको थियो । इरानी सामूल पनि प्रतिक्रियावादीका कब्जामै मारिनु भएको थियो । अमेरिकी पत्रकार एड्गर स्नोले माओसँग १२ रात लगाएर लिएको लामो अन्तर्वार्ता ‘चीनमाथि रातोतारा पुस्तकका रूपमा प्रकाशित छ । अर्का अमेरिकी पत्रकार अन्नालुई स्ट्रङ पनि सन् १९२१ मा रूसी समाजवाद निर्माणको बेला रूस जानु भएको थियो । उहाँले स्टालिनको नेतृत्वमा रूस कसरी कृषि, उद्योग धन्दा, प्रविधि, रेलमार्गहरू निर्माण भए ? कसरी ग्रामीण रूसी महिलाले आफ्नो जीवनमा स्वतन्त्रता पाए र बुर्का हटाएर खुला भए ? भन्ने रोचक रिपोर्टिङ ‘स्टालिन युग’ नामक आफ्नो पुस्तकमा लेख्नुभएको छ । उहाँ स्टालिनदेखि, माओ र सन् यात्सेनसम्म परिचय बनाएकी स्थापित कुशल पत्रकार हुनुहुन्थ्यो । स्ट्डद्वारा लेखिएको उक्त पुस्तक रूसी समाजवाद निर्माणकालको एक राजनीतिक इतिहासको दस्ताबेजका रूपमा परिचित छ ।

लाल र निपुण बन्ने प्रश्न:
यहाँलाल र निपुणको विषय प्रवेश गर्नुअघि सञ्चार क्षेत्रबारे केही कुरा गरौं । सञ्चार क्षेत्रलाई दुई खेमामा विभक्त गरेर मूल्याङ्कन, विश्लेषण र ग्रहण गर्ने गरिएको छ । त्यो हो- व्यवसायिक पत्रकारिता र मिसन पत्रकारिता । नाफाघाटाको सरोकारमा मात्र सीमित रहनु जनसञ्चार क्षेत्रको लक्ष्य हुन सक्दैन । यसको महत्वपूर्ण पक्षयसले उठान गरेको विषय, सम्प्रेषित गरेको सूचनाको प्रभाव र उसले आत्मसात गरेको वर्ग पक्षधरता हो । त्यसैले आफ्नो कामको विशिष्टता, कानूनी वा प्राविधिक दृष्टिकोणले सञ्चार क्षेत्रका सबै माध्यम वा संस्थाहरु ‘व्यवसाय’ नै हुने भए पनि दृष्टिकोणको हिसाबले सञ्चार क्षेत्रका सबै माध्यमहरु ‘मिसन’ नै हुन्छन् । यद्यपी त्यो श्रमिक वर्गको पक्षमा नहुनु चिन्ताको विषय हो । ‘साझा, स्वतन्त्र र निष्पक्षता’ को कुरा पनि त्यही हो । वर्ग विभाजित समाजमा कुनै पनि कुरा वर्ग निरपेक्ष हुँदैनन् । समाजका हरेक चीज विभाजित छन् र आ-आफ्नै उद्देश्य छन् । यसको अपवादमा सञ्चार क्षेत्र कसरी ‘तटस्थ, स्वतन्त्र र निष्पक्ष’ हुन सक्छ ? त्यसकारण सञ्चार क्षेत्र ‘व्यवसायिक’ हुने र कुनै ‘मिसन’ हुने कुरा सर्वथा गलत हो । मुख्य कुरा सञ्चार क्षेत्र अर्थात् जनसञ्चार क्षेत्रका जनपत्रकारहरु लाल र निपुण हुनु हो । मालेमावादी विज्ञानको सही मान्यता के हो भने कोही पनि लाल नभई निपुण हुँदैन र निपूर्ण नभईकन वास्तविक अर्थमा लाल हुन सम्भव हुँदैन । त्यसकारण सञ्चार क्षेत्रमा क्रान्तिकारी जनसञ्चारकर्मीहरू लाल र निपूर्ण दुबै हुन जरुरी छ। नेपालमा यसका उदाहरण कृष्णसेन इच्छुक लगायत महान् जनयुद्धमा बलिदान गर्ने जनपत्रकारहरु हुनुहुन्छ । पत्रकार एवं कवि कृष्णसेन इच्छुक विचार र निष्ठाका कारण जेलभित्रै मारिनु भएको थियो । जनयुद्धकालमा अन्य जनपत्रकारहरु डि. कौडिन्य (देवकुमार आचार्य) कञ्चन प्रियदर्शी, कमल ए. सी., कुमार घिमिरे, राजकुमार केसी, मिलन नेपाली, विनोद सजना थारु), नगेन्द्र पोख्रेल, भिमबहादुर घर्ती (दारुण), महेश्वर पहारी, दिवश, सचिन, प्रेमप्रकाश चन्द, कुशल, अग्नी, विपना, हेमराज कूडेल (वसन्त, प्रताप) आदि पत्रकारहरूको सञ्चार क्षेत्रमा क्रियाशील हुँदाहुँदै बलिदान भएको थियो ।

जनसञ्चार क्षेत्रको दायित्व:
क्रान्ति र प्रतिक्रान्तिको सङ्घर्षबाट इतिहासको पाङ्ग्रा अगाडि बढ्छ । विगतका अनुभवले मात्रै इतिहास अगाडि बढ्न सक्दैन आगामी सङ्घर्षको केन्द्र गाउँ र शहर दुबैलाई बनाउनु पर्छ । विज्ञान र प्रविधिलाई क्रान्तिमा जोड्नुपर्छ । विज्ञान र प्रविधिलाई श्रमजीवी जनताको जीवनसित जोडेर प्रचार कार्यलाई तीव्र बनाउनुपर्छ, । श्रमिक वर्गको सत्ता निर्माणका लागि र एकीकृत जनक्रान्तिको वैचारिक श्रेष्ठतालाई स्थापित गर्न जनसञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । नेपालको जनयुद्धमा प्रतिक्रान्ति भए पनि फेरि नेकपाले क्रान्तिको झण्डालाई उठाएको छ । अहिले जनसञ्चार क्षेत्रले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा र नयाँ राजनीतिक कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमत सङ्ग्रहको नीतिलाई जनताको मनमस्तिष्कमा पुऱ्याउने कामको दायित्व लिनुपर्दछ ।

त्यस कारण आजको युग सञ्चारयुद्धको युग हो । पेट्रासकै शब्दमा क्रान्तिकारीहरूले ‘डेस्सटप मिलिट्यान्टस’ बनाएर सञ्चार क्षेत्रबाट हस्तक्षेपलाई तीव्र बनाउनुपर्छ । समयले हामीलाई साम्राज्यवाद विरुद्ध फूलले प्रहार होइन, कलममा बारूद भर्न आव्हान गरेको छ। हामीले आजको भूमण्डलीकृत साम्राज्यवादको चरित्रलाई ठीकसँग बुझ्न सकिनौं भने क्रान्तिको पक्षमा जनमत निर्माण गर्न सकिँदैन । सूचना प्रविधिमा आएको अभूतपूर्व क्रान्तिलाई आजका क्रान्तिकारीहरूले वैज्ञानिक समाजवादको पक्षमा उपयोग गर्नुपर्छ । हामीले भूमण्डलीकृत साम्राज्यवादको प्रचारयुद्ध विरुद्ध हरहमेशा क्रान्तिको अग्रमोर्चामा रहेर श्रमजीवीवर्गलाई जागृत गराउनुपर्छ ।

साभार:जनपत्रकार संगठन नेपालको मुखपत्र “जनपत्रकार”बाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार