दलाल पुजिवादलाई मिल्काउन कुनै आइतबार पर्खिनु पर्दैन:विप्लव

डेली न्युजराप्ती       २ श्रावण २०७९ १९:५६ मा प्रकाशित     562 No Comments

साउन ०२/दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले दलाल पुजीवादलाई मिल्काउन कुनै आइतबार पर्खिनु नपर्ने बताएका छन।
पार्टीको आधिकारिक अनलाइन जनपत्रीका डटकम (www.janapatrika.com)को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन।

विप्लवले भने, ‘दलाल पुजीवादलाई मिल्काउन कुनै आइतबार पर्खिनु पर्दैन। हामी लड्न सक्छौ,जित्न सक्छौं।’

विप्लवले मानव सभ्यता संग जोडिएका हरेक गतिविधिको सूचना सम्प्रेषण गर्न सञ्चार प्रविधिले महत्पूर्ण भूमिका खेल्दै आएको बताएका हुन् । इतिहासमा सञ्चार जनताको हितमा काम गर्ने साधन थियो र अहिले पनि त्यो हुनुपर्छ विप्लवले भने ।
विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै निन्दा गरे ।

उनले भने, ‘तीन तीन महिनामा मन्त्री फेर्ने, देशको अर्थतन्त्र तहसनहस पार्ने, खाने कुम्ल्याउने, जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ । यतिको भद्दा मजाक इतिहासमा कमै पाइन्छ ।’

जनतालाई महंगीले थिचेको बेला नेताहरु कोही दौरा सुरुवाल सिलाउन त कोही थन्क्याउन तल्लिन रहेको विप्लवले बताए ।

‘संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल भइसकेको छन् । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिइरहेका छन् । एकप्रकारले मन्त्री बन्ने रोलक्रम जस्तो चलेको छ । जंगबहादुर राणाको भन्दा पनि भद्दा खेल भइरहेको छ । पालोपालो केही महिना मन्त्री हुने, कुम्ल्याउने, लुट्ने खाने, देशको सम्पत्ति उडाउने, फर्किने र फेरि अर्को मन्त्री बन्ने । फटाहाहरुको रोलक्रम चलिरहेको छ,’ उनले भने ।

उनले पूँजीवादमा कुनै मानवीयता नभएको टिप्पणी समेत गरे । मानव पूर्खाले मानवजातिको हितका लागि सूचना र सञ्चारको प्रयोग गरेको साधन आज मानव जातिलाई नै खतरामा पार्ने प्रवृत्तिको कब्जामा पर्न थालेको उनको भनाइ छ ।

विप्लवले भने, ‘त्यसकै निम्ती आज हामी देख्छौँ कि पुँजीवादले जनताको सूचना सञ्चारको साधनलाई पनि आफ्नो निम्ति प्रयोग गरेर आफ्नो लुटको हतियार बनाउने प्रयत्न गरिरहेको छ ।’

महासचिव ‘विप्लव’ ले राज्यले आफ्नो पार्टीसँग गरेको सहमति लागू नगरेको बताएका छन् ।

उनले भने, ‘हामी सँगै लडेको हो नि । दुई वर्षमा हामीले नेतृत्व गर्‍यौं । हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी हो । नेपाल कम्युनिष्ट पार्टी प्रतिरोधको संघर्ष चलाएको थियो र त्यो संघर्षको नेतृत्व हामीले गर्‍यौं । हाम्रा नेताहरूले गरेका हुन् । कैयौँ नेताहरूलाई छोडियो । तर, हाम्रा योद्धा कमरेडहरूलाई, युवाहरूलाई छाडिएको छैन । यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’

महासचिव विप्लवले अघि भने, ‘अहिले आएर २१औ शताब्दीमा पुँजीले सञ्चारलाई कब्जा गरेको छ र कतिपय अवस्थामा पूँजीको सेवा र शक्तिको परिचालन गर्न जनतामाथि दमन र हैकम जमाउन सञ्चारको गलत प्रयोग भइरहेको छ । हाम्रो पार्टीको यो जनपत्रिका अनलाइनले कुनै पनि मूल्यमा जनताको हितको रक्षाका लागि तयार हुनुपर्छ र जुनसुकै स्थितिमा पनि अग्रस्थानमा रहेर आफ्नो भूमिका पूरा गर्नु पर्ने छ ।’

राज्य आतङ्कको विरुद्धमा प्रतिवाद गर्ने ,जनताको कष्ठबाट फाइदा लिने दलालको विरुद्धमा, लुटको विरुद्धमा , वैदेशिक हस्तक्षेप लगाएत विकृतिको विरुद्धमा निर्मम ढंगबाट जनपत्रिका डटकमले प्रतिवादको भूमिका खेल्ने महासचिव विप्लवको भनाई थियो ।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र जनपत्रीका डटकम (janapatrika.com) अनलाइन आज बाट सञ्चालनमा आएको हो। सोमबार काठमाडौंको राष्ट्रीय नाचघर जमलमा उद्घाटन समारोह कार्यक्रम आयोजना गरी नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले उक्त अनलाइनको उद्घाटन गरी सञ्चालनमा आएको सार्वजनिक गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड,सचिवालय सदस्य विषम लगाएत केन्द्रीय सदस्यहरुको बिशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार