विप्लवसहित २५ नेता विरुद्ध पक्राउ पुर्जी जारी,नेकपाले भन्यो–‘हातमा दही जमाएर बस्दैनौ’

डेली न्युजराप्ती       १६ श्रावण २०७९ १६:५२ मा प्रकाशित     1200 No Comments

दाङ। देउवा–प्रचण्ड लगायत गठबन्धन सरकारले नेकपा र सरकार पक्षबीच भएको ३ बुँदे सहमतिको गम्भीर उलंघन गरेको छ । नेकपाले संयमित भएर ३ बुँदे सहमतिको पालना गरिरहेको बेला सरकारले वार्तापछि गरिएको ३ बुँदे सहमति लगत्तै यसलाई कार्यान्वयन गर्नुको सट्टा उलंघन गर्दै आएको छ । अहिले सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेर यसलाई थप पुष्टि गरेको छ । नेकपाले अहिले ३ बुँदे सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको छ । यो नेकपाको संयमता हो । सरकारले सहमतिलाई उलंघन गर्दै जाने हो भने ३ बुँदे सहमति भंग हुन पनि सक्छ तर नेकपा देशको जिम्मेवार पार्टी भएकोले ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिदै आएको छ । सोमबार ललितपुर जिल्ला अदालतले महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रीय सदस्यहरु उमा भुजेल, रणबीर, बसन्त श्रेष्ठ, आजाद, नवीन विश्वकर्मा, प्रेम दर्लाल, नेकपाले कारवाही गरी पदमुक्त गरेका धर्मेन्द्र बास्तोला, दीपक, पदम राई, मोहनबहादुर कार्की लगायत नेताहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ । उहाँहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा महासचिव विप्लवसहित नेताहरुलाई पुर्जी जारी गरेको छ ।यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई पत्र काटेको छ । यस्तै मुद्दा हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ ।नेकपा र सरकारवीच भएको ३ बुँदे सहमतिमा देशको राजनीतिक समस्या शान्तिपूर्ण समाधान गर्ने, प्रतिबन्ध फुकुवा गर्ने र नेकपा नेता कार्यकर्ता रिहा र बन्दीहरुलाई छोड्ने सहमति भएको थियो ।

नेकपाद्वारा सरकारलाई ३ बुँदे सहमति उल्लंघन नगर्न चेतावनी,उल्लंघन गरे हातमा दही जमाएर नबस्ने उद्घोष: नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको छ । सो पार्टीले राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको ठोकुवा गर्दै जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनकभएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन्।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने पार्टी हातमा दही जमाएर नबस्ने सरकार र राज्यका अधिकारीहरूलाई चेतावनीसमेत दिइएको छ र यसवाट भावी निम्तिने गंभिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने उल्लेख गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो पार्टी र नेता कार्यकर्ता विरुद्ध दलाल पूँजीवादी राज्यको ललितपुर जिल्ला अदालतले आज जारी गरेको कथित पक्राउ पुर्जी बारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) नेपाल कम्युनिष्ट पार्टी नेपालको दलाल पूँजीवादी राज्य व्यवस्था र त्यसका सञ्चालकहरुले देश र नेपाली जनता माथि थोपरेको राष्ट्रघात र जनघातका विरुद्ध आमूल परिवर्तनको लागि पुर्नगठित भएको र एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको पार्टी हो । राष्ट्रिय मुक्ति र जनताको मुद्दामा अग्रमोर्चामा रहेर लडेकै कारण ओली प्रचण्ड नेतृत्वकोे नेकपा (नेकपा) को ओली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर दमन गर्यो । प्रतिवन्ध र दमनको दुई वर्षको दृढतापूर्वक प्रतिरोध र देशमा सृजना भएको विकराल अवस्थालाई जिम्मेवारपूर्ण ढंगले लिएर ओली सरकारसँग पार्टीले वार्ता गर्यो र तीनबुँदे सहमति भयो । दलाल संसदीय व्यवस्था र ओली सरकारले राष्ट्र र नेपाली जनताको जीवनमा पैदा गरेको संकटपूर्ण अवस्था जुन राष्ट्रिय स्वाधीनता, जनअधिकारका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विकास लगायतसंग सम्बन्धित मुद्दाहरू थिए । जसको समाधानको निम्ति वार्ता र सहमती गरिएको थियो । यसका निम्ति वार्ता एवं सम्वादको माध्यम र शान्तिपूर्ण तरिका तय गरियो ।

आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरसः लागु गरिराखेको छ । ३ बुँदे सहमतिपछि पाँच महिनासम्म चलेको ओली सरकारले यसको इमान्दारिताका साथ लागू गरेन । गठन भएको तेस्रो दिनमा वार्ता भई तीन बुँदे सहमति लागु गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकार पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागु गरिराखेको छैन । देश र जनताको मुद्दामा प्रवेश गर्ने कुरा त छाडौँ । अहिलेसम्म हाम्रो पार्टीका राजबन्दीहरुलाई समेत रिहा गरेको छैन । पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरु झुट्टा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीनबुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रष्ट हुन्छ । राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको छ । जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक छ ।

२) आजका मितिसम्म आउँदा देश र नेपाली जनताको अवस्था भयावह छ । हाम्रो देशमाथिका इतिहासका साम्राज्यवादी हस्तक्षेपलाई उछिन्दै IPS, MCC र SPP मार्फत अमेरिकी साम्राज्यवादले गरिरहेको हस्तक्षेप देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति भयाभह एवं घातक छ । राजनीतिक क्षेत्र दलाली, आत्मसमपर्ण, राष्ट्रघात र सत्ताको घिनलाग्दो खेलद्धारा ग्रस्त छ । व्यापार घाटा, भ्रष्टाचार, कमिशन र कालोबजारले देशको अर्थव्यवस्था टाट उल्टिएको छ । महंगीको भारले नेपाली जनताको दैनिक जीवन चरम कष्टकर छ । सामाजिक विभेद, हत्या, हिंसा र असुरक्षाले नेपाली जनता आक्रान्त छ । चरम बेरोजगारीले जनता दैनिक प्रताडीत छन । देश र जनताका विद्यमान यावत समस्याका विरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको छ । यसको प्रतिवाद गर्न र जनप्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत, मानवअधिकार एवं कानुनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, बामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत र आमनेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

सरकार र नेकपा बिच भएको तिन बुदे सहमतीको सहमतिपत्र।

३) हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौ । यसवाट भावी निम्तिने गंभिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ । राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशिल प्रक्रियामा छ ।“

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार