दाङमा विद्यार्थीको हात फ्याक्चर हुनेगरी कुट्ने शिक्षकले भने ‘यो मिडियामा ल्याउने खालको छैन’

डेली न्युजराप्ती       २२ भाद्र २०७९ १९:४८ मा प्रकाशित     215 No Comments


तुलसीपुर २१ भदाै । दाङकाे शान्तिनगर गाउँपालिका ३ मा रहेकाे बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो । शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिनुभयो । विद्यार्थीको दायाँ हात फ्याक्चर भएको छ ।

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले हान्नुभयो । सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भन्नुभयो ।

यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले पुठामा हान्दा हातमा लागेर औला फ्याक्चर भएको बताउनुभयो । ‘यो मिडियामा ल्याउने खालको छैन । सामान्य हो । म आफै औषधी गर्नका लागि विद्यार्थीलाई ल्याएर हस्पिटल आएको छु । यतै आउनुस कुरा गरौला सर ।’ शिक्षक भण्डारीले टेलिफोनमा भन्नुभयो ।

घाइते विद्यार्थीकोको भोली बिहान ७ बजे अप्रेसन गर्ने तयारी रहेको बुझीएको छ । शिक्षकको कुटाईबाट घाइते विद्यार्थीलाई राप्ती प्रादेशिक अस्पताल पश्चात सिटी हस्पिटलमा लगिएको थियो । यता प्रहरीले पिडित बालकका अभिभावकले किटानी जाहेरी दिएमा मुद्दा चल्ने बताएको छ । प्रहरीमा जाहेरी नआएको भन्दै प्रहरी निरीक्षक बखत बहादुर शाहीले अभिभावकले उजुरी दिएमा पक्राउ गरेर कार्बाही प्रकृया अघि बढाउने बताउनुभयो ।
विद्यार्थी कुटपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार