कार्यदिशा बुझ्न अमेरिकी बुद्धिजीवी ‘वायुयान’ चढेर आए,‘एकान्तबासी अघोरी’लाई कसरी सारसङ्ग्रहवादी भयो ?

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ १७:१२ मा प्रकाशित     124 No Comments

विचार:विप्लव ।

इमान्दार पार्टी पंक्तिलाई थाहा छ कि नेपाली क्रान्तिको कार्यदिशा के हुनुपर्दछ भन्ने सवाललाई निदान गर्दै हामीले किरणबाट विद्रोह गर्दा ‘एकीकृत जनक्रान्ति’ ठोस गरेका थियौं । यो कुनै रातारात मनोगतवादी तरिकाले गरेको संश्लेषण या कसैको नक्कल गरेर प्रस्तुत गरेको संश्लेषण नभएर जनयुद्धदेखि कम्युनिस्ट आन्दोलन विशेषतः नेपाली क्रान्तिभित्र कार्यदिशाबारे चलेको गहिरो बहस, जनविद्रोह र जनयुद्ध भन्ने कार्यदिशाका मूर्त विशेषता एवं तिनका परिस्थितिजन्य सीमा, २१ औं शताब्दीका नयाँ विशेषताहरु र नेपाली अर्थराजनैतिक सम्बन्धहरुमा आएका परिवर्तनलाई विश्लेषण गरेर बुद्धिमत्तापूर्ण ढंगले गरेको संश्लेषण हो ।हामीले त्यतिबेला नै स्पष्ट भनेका छौं कि जनविद्रोह र जनयुद्ध बीसौं शताब्दीका क्रान्तिकारी कार्यदिशा हुन् । सापेक्षित पुँजीवादी देश रुसमा प्रयोग भएको जनविद्रोहको कार्यदिशा र किसान र ग्रामीण क्षेत्र बाहुल्य भएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देश चीनमा प्रयोग भएको दीर्घकालीन जनयुद्धको कार्यदिशा त्यसबेलाका ठोस परिस्थितिलाई समाधान दिन सक्षम कार्यदिशा थिए । तर, ती कार्यदिशाले आजको नेपाली एवं विश्व परिस्थितिसँग मेल खाँदैनन् । नेपाल अहिले न रुसको जस्तो परिस्थितिमा छ न त चीनको जस्तो विशेषतामा नै छ । नेपालमा सामन्तवादको अन्त्यपछि दलाल पुँजीवादी सत्ता चलिरहेको छ । राजनैतिक एवं आर्थिकरुपले निकै नयाँ र भिन्न विशेषतामा छ । यहाँको मुख्य अन्तर्विरोध दलाल पुँजीवादी सत्ता र श्रमिक जनताका बीचमा रहेको छ । यसको समाधान सही तरिकाले गर्ने हो र हामीले वास्तविक सफल क्रान्ति गर्ने हो भने तीभन्दा गुणात्मकरुपले नयाँ र उच्च कार्यदिशा संश्लेषण गर्नुपर्छ । एकीकृत जनक्रान्तिका विशेषता र आधारहरु के हुन् भन्ने हामीले प्रशस्त छलफल गरिसकेका छौं ।एकीकृत जनक्रान्तिको प्रस्ताव गर्दा कञ्चन हामीसँगै थिए । यद्यपि उनको सक्रिय सहभागिता हुन सकेन किनकि किरणबाट विद्रोह गर्दा अन्तिम समयमा मात्र उनी उपस्थित हुनसके । तर, पछि काफी छलफल भयो र हाम्रो स्पष्ट बुझाई एकीकृत जनक्रान्ति नै वैज्ञानिक र वस्तुवादी हो भन्ने भयो । यसबारे उनले मेहनत गरेर लेखहरु पनि लेखेका छन् । एकीकृत जनक्रान्तिबारेको एउटा रोचक प्रसँग छ कि हामीले प्रतिरोध कारवाहीहरु बढाएपछि प्रतिबन्ध सुरु भयो । लगत्तै एकजना अमेरिकी बुद्धिजीवि सम्भवतः निकै प्रभावशाली प्रोफेसर हामीलाई भेट्न नेपाल आए । मसँग भेट नहुने भएपछि कञ्चनलाई पठायौं । उनी वायुयान नै ‘बुक गरेर’ कञ्चनलाई भेट्न आए । कञ्चनले बताए कि भेट्न आउनुको मुख्य विषय नै ‘एकीकृत जनक्रान्ति’ भनेको के हो ? जनविद्रोह र जनयुद्धभन्दा फरक केमा छ भन्ने थियो । जब कञ्चनले एकीकृत जनक्रान्तिको व्याख्या गरे ती बुद्धिजीवि उत्तेजित जस्तो भएर जुरुक्क उठेर ‘ठीक’ भन्दै हात मिलाएका थिए । यदि कञ्चन एकीकृत जनक्रान्तिबारे अनभिज्ञ भएको भए या चित्त नबुझेको भए कसरी अमेरिकी बुद्धिजीविलाई विश्वास दिलाउन सक्थे । त्यसो हो भने आफु त आफु भयो विदेशीलाई समेत मोहित पार्ने कार्यदिशा सफलताको यो विन्दुमा आउँदा झन कसरी सारसङ्ग्रहवादी भयो होला त !सुदर्शनको हकमा योभन्दा पनि फरक सम्बन्ध छ । जब सुदर्शन प्रचण्डबाट अलग भए, उनी कुन पार्टीमा जाने भन्ने स्पष्ट थिएन । उनले हामीसहित किरण, बराल, रविन्द्रलगायत साथीहरुसँग लामै छलफल गरे । हामीसँगको छलफल जमेर हुने गर्याे, लामा–लामा बहसपछि उनी हामीसँग नै सहमत भए । उनको दिमागमा एकीकृत जनक्रान्ति के हो ? यसको समग्र प्रणालीबारे कसरी सोचिएको छ भन्ने चेत हामीले नै भरिदिएका थियौं । उनी वास्तवमै उत्साहित पनि भएका थिए । उनी माओवादी पार्टीमा हुँदा पहिले प्रचण्डका हनुमान नै थिए । प्रचण्डले कमजोरी स्वीकार गर्दा पनि उनी टसमस नहुने जस्ता देखिन्थे तर जब उनी कारवाहीमा परे, उनी वास्तवमा सडकमै पुगेको अवस्था थियो (नेकपामा आएपछि यसको प्रतिष्ठालाई भजाएर करोडपति भइसकेका छन्) । त्यसबेला हामीले नै रेखदेख गरेका थियौं । सिद्धान्त, राजनीति र व्यवहार सबैबाट हामीसँग उनी एकीकृत भए ।यदि उनी एकीकृत जनक्रान्तिमा सहमत हुँदैनथे भने एकता सम्भव हुँदैनथ्यो । यो कुरा उनले धेरै ठाउँमा मजैले लेखेका छन् र प्रशिक्षणमा पनि भन्ने गरेका थिए । अन्य साथीहरुको चर्चा यहाँ आवश्यक नै छैन । किनकि धेरैजसो साथीहरु प्रचण्ड, किरणहरुसँग भएका सङ्घर्षमा प्रत्यक्ष सहभागी र सहमत भएर आएका हुन् । जो सहमत थिएनन् ती आएनन्, फर्किए या भागे । यति स्पष्ट हुँदाहुँदै सुदर्शनका लागि एकीकृत जनक्रान्ति कुनै ‘एकान्तबासी अघोरी’लाई जस्तो किन सारसङ्ग्रहवादी लाग्यो !
-(जनक्रान्ति अंक ५ बाट)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार