कसरी उपयोग गर्ने स्ववियु निर्वाचनलाई ?

डेली न्युजराप्ती       २४ माघ २०७९ ११:४७ मा प्रकाशित     239 No Comments

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख्ने, शैक्षिक गुणस्तर जोगाउने र मर्यादित प्राज्ञिक थलो बनाउने कार्यमा अबको स्ववियुले विशेष भूमिका खेल्नुपर्छ ।

आगामी ५ चैतका लागि त्रिविले घोषणा गरेको स्ववियु निर्वाचनलाई विकृत परम्परा, नीति र संस्कारको निरन्तरता तथा गलत राजनीति र संस्कारको पुस्तान्तरणभन्दा पनि विश्वविद्यालयको समग्र विकास र त्रिविलाई कसरी स्वाभिमानयुक्त विश्वविद्यालय बनाउने र समाजवाद निर्माणको एउटा खम्बाका रूपमा रूपान्तरण गर्ने भन्नेमा बहस केन्द्रित गर्न जरुरी छ ।

यसपटकको निर्वाचन खाली चुनावका लागि चुनाव वा विभिन्न संगठनका आफ्ना निहित स्वार्थ पूरा गर्ने संस्थाको चुनावका रूपमा मात्र नभई समग्र विश्वविद्यालयलाई नेपाली समाजको सामाजिक, आर्थिक र प्राज्ञिक विकासको केन्द्रका रूपमा स्थापित गर्न निम्न विषय आसन्न स्ववियु निर्वाचनका एजेन्डा र बहसका विषय बन्न जरुरी छ ।

नेपालमा स्ववियु र विद्यार्थी आन्दोलनको ऐतिहासिक धारा भनेको राजनीतिक व्यवस्था परिवर्तन या व्यवस्थाविरोधी आन्दोलनको धारा हो । ०६२/६३ को जनआन्दोलन तथा ०७२ को संविधान निमार्णपछि स्थापित र संस्थागत गरिएको दलाल पुँजीवादी संसदीय व्यवस्था नै राजनीतिक रूपमा नेपालको मुख्य समस्या बनेको छ । यसको चरित्र जनविरोधी, अस्थिर, भ्रष्ट, अराजक र राष्ट्रघाती छ ।

संविधान निर्माणयता देशमा मौलाइरहेको अस्थिरता, अराजकता, भ्रष्टाचार, राष्ट्रघात, नेपाली अर्थतन्त्रको निरन्तरको ओरालो यात्रा, विदेशी हस्तक्षेप र आर्थिक नियन्त्रण एवं परनिर्भरताले यसको पुष्टि गर्छ । तीव्रतर आर्थिक विकास र समुन्नत समाजवादी व्यवस्थाका निम्ति हाम्रो प्रगतिको बाधकका रूपमा रहेको अहिलेको दलाल पुँजीवादी संसदीय व्यवस्था र यसको नेतृत्वको अन्त्य र यसको विकल्पमा देश र जनताप्रति प्रतिबद्ध भई देशलाई समाजवाद, समृद्धि, आत्मनिर्भरता र सुशासनको मार्गमा डोर्‍याउने वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्न जरुरी छ ।
नेपालमा असफल संसदीय व्यवस्थाको विकल्पबारे विश्वविद्यालयमा बौद्धिक बहस गर्न आवश्यक छ । तसर्थ, दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्यको आन्दोलन अहिले पनि स्ववियु र समग्र विद्यार्थी आन्दोलनको मुख्य राजनीतिक एजेन्डा बनाउन जरुरी छ ।

त्रिवि नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । विद्यार्थी संख्याका हिसाबले यो विश्वको १२औँ ठूलो विश्वविद्यालय हो । अहिले पनि यस विश्वविद्यालयमा करिब ६ लाख विद्यार्थी विभिन्न विधामा अध्ययनरत छन् । यसका देशैभरि ६२ वटा आंगिक क्याम्पस, एक हजार ४० सामुदायिक सम्बन्धन प्राप्त क्याम्पस र थप सम्बन्धन प्राप्त निजी क्याम्पस रहेका छन् । तर, त्रिवि बहुआयामिक समस्या एवं विकृति/विसंगतिले ग्रस्त छ । त्यसो हुँदा विश्वविद्यालयको आमूल रूपान्तरणका निम्ति निम्न विषयमा सुधार जरुरी छ ।

पहिलो, त्रिवि संसदीय विकृत राजनीतिक हस्तक्षेपको चरम सिकार भएको छ । त्रिविलगायत नेपालका सवै विश्वविद्यालमा उपकुलपतिदेखि शैक्षिक र प्रशासनिक सबै जिम्मेवारी दिँदा राजनीतिक दललाई भाग लगाउने र उनीहरूले आफ्ना कार्यकर्ता वा भक्तलाई ती पदमा आसिन गराउने अवैज्ञानिक, गलत र अनैतिक परम्परा चलिरहेको छ । विश्वविद्यालय भनेको प्राज्ञिक थलो हो । यहाँ ज्ञानको निर्मार्ण र पुस्तान्तरण हुन्छ ।

त्रिविलाई संसदीय पार्टीहरूले कार्यकर्ता भर्तीकेन्द्र बनाएका छन् । विश्वविद्यालयलाई असफल राजनीतिक पार्टी र त्यसका असफल नेताहरूको कुदृष्टिबाट बचाउन विश्वविद्यालयमा राजनीतिक भागबन्डाको तत्काल अन्त्य हुनुपर्छ । विश्वविद्यालयका सबै जिम्मेवारी र नियुक्तिमा खुला प्रतिस्पर्धाद्वारा क्षमतावान् र विश्वविद्यालयलाई नेतृत्व गर्न सक्ने व्यक्तिहरू ल्याउन जरुरी छ । त्यस्तो नेतृत्वलाई एउटा विधिभित्र रहेर विश्वविद्यालय हाँक्ने अधिकार दिनुपर्छ । कामको मूल्यांकन गर्ने स्वतन्त्र निकाय बनाउन जरुरी छ ।

सामुदायिक विश्वविद्यालय भनेको समाजवादको आधार निर्माण गर्ने सबैभन्दा उपयुक्त थलो हो । सबै वर्ग र क्षेत्रका युवालाई गुणस्तरीय उच्च शिक्षा समान रूपले प्रदान गर्दा त्यसले समाजवादको आधार खडा गर्छ । राज्यद्वारा व्यवस्थापन गरिएको गुणस्तरीय र समान उच्च शिक्षा प्रदान गर्नु नै विश्वविद्यालयको राजनीति हो र हुनुपर्छ ।

अबको स्ववियु निर्वाचनबाट कर्मकाण्डी स्ववियु होइन, समग्र नेपालको उच्च शिक्षा र त्रिविको आमूल रूपान्तरणका लागि आवश्यक नीतिगत, व्यवस्थापकीय, प्राज्ञिक–शैक्षिक, भौतिक र विद्यार्थीको समग्र हितका लागि बहस उठाउन सक्ने स्ववियु ब्युँताउन आवश्यक छ

दोस्रो, त्रिवि र अन्य सबै विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्न जरुरी छ । प्रधानमन्त्री नै कुलपति हुने र सबै विषयमा नियन्त्रण र हस्तक्षेप गर्दा प्राज्ञिक संस्थाको कार्य सम्पादनमा हस्तक्षेप हुन्छ । त्यसकारण गुण र दोषका आधारमा पुरस्कार र सजायको व्यवस्था गर्ने विधिको विकास गरी विश्वविद्यालयलाई ट्रस्ट वा अन्य फरक संरचना निर्माण गरेर स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्न जरुरी छ ।

राज्यद्वारा व्यवस्थापन गरिएको गुणस्तरीय उच्च शिक्षा, जोे सबै वर्गका जनताका छोराछोरीको पहुँचमा हुन्छ, त्यो आजको आवश्यकता हो । त्रिविको गुणस्तर निकै खस्किँदो अवस्थामा रहेको छ । खोजपत्र तथा थेसिसको किनबेचदेखि परीक्षा प्रणाली र विद्यार्थी उत्तीर्ण अनुपातसम्म हेर्दा यसको गुणस्तर निकै कमजोर प्रमाणित हुन्छ । त्रिविको शैक्षिक गुणस्तर उकास्नका लागि निम्न विषयमा विशेष ध्यान दिन जरुरी छ ।

पहिलो, विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति प्राध्यापकलाई समयानुकूल तालिम, उनीहरूको ज्ञान र अनुभवको सीमालाई वृद्धि, विकास र अपडेट गर्न जरुरी छ । देशको सबैभन्दा राम्रो जनशक्तिलाई शैक्षिक पेसामा लगाउने नीति बनाउन जरुरी छ । यसका लागि क्षमतावान् युवालाई प्राध्यापनमा लगाउने नीति बनाई आकर्षित गर्न आवश्यक छ । ज्ञान र प्रविधिको क्षेत्रमा भएको व्यापक विकास र परिवर्तनलाई पकड्ने, सिकाइ र अध्यापन विधिलाई विकास गर्दै लाने, ज्ञानको निर्माण गर्न सक्ने, ज्ञान निर्माणमा एकअर्कामा प्रतिस्पर्धा गर्ने प्राध्यापकको आवश्यकता छ ।

हाम्रा उमेरले पाका प्राध्यापकको उही पुराना टिपोटको सुगारटान परिवर्तन गर्न आवश्यक छ । विश्वविद्यालयमा जागिर खान होइन, ज्ञानको निर्माण र पुस्तान्तरण गर्न काम गर्ने हो भन्ने सोचको विकास गर्न जरुरी छ । कतिपयको बिदाइ, कतिपयको क्षमतावृद्धि र ठूलो मात्रामा क्षमतावान् नयाँ शैक्षिक जनशक्तिलाई विश्वविद्यालयमा केन्द्रित गर्न जरुरी छ ।दोस्रो, अहिले पनि त्रिविलगायत नेपालका विश्वविद्यालयको पाठ्क्रम विदेशीद्वारा निर्मित र निर्देशित छन् ।

संसारमा ज्ञान र प्रविधिमा भएको पछिल्लो विकास र नेपालको प्राकृतिक साधनस्रोत तथा सामाजिक अवस्थालाई मानव संसाधनसँग जोड्ने समायानुकूल पाठ्यक्रममा परिमार्जन र सुधार आवश्यक छ । नेपालको वर्तमान पाठ्यक्रम माटो सुहाउँदो नभएको र संसारमा भएका पछिल्ला विज्ञान र प्रविधिको खोज अनुसन्धानबाट धेरै पछाडि परेको छ । विश्वविद्यालय शिक्षाको आत्मा नै पाठ्यक्रम हो । हामीलाई संसार र आफ्नै देशलाई चिन्ने पाठ्यक्रमको आवश्यकता छ । नयाँ विषय थप गर्ने र पुरानो पाठ्यक्रममा व्यापक परिमार्जन आजको आवश्यकता हो ।

तेस्रो, विश्वविद्यालयको मुख्य काम ज्ञानको खोज र अनुसन्धान हो । विश्वविद्यालय खोज र अनुसन्धानको केन्द्र हुनुपर्छ । संसारका थुप्रै विश्वविद्यालयले अनुसन्धानमार्फत ज्ञान निर्माण गरी सम्बन्धित देश, समग्र मानवजाति र विश्वलाई नै अगाडि बढाइरहेको र विविध रूपमा सुरक्षित बनाइरहेको सन्दर्भमा नेपालका विश्वविद्यालयले पनि यस दिशामा आफूलाई अगाडि बढाउनु जरुरी छ ।

देशलाई आवश्यक ज्ञानको खोज–अनुसन्धान गरी त्यसलाई समाज, मानव जाति, अर्थतन्त्र र समग्र राष्ट्रको विकास र प्रगतिका निम्ति लगाउन आवश्यक छ । चौथो, विश्वविद्यालयको प्रशासन चुस्त र कामकाजी हुन जरुरी छ । अहिले पनि विद्यार्थी परिचय पत्रसमेत समयमै नपाउने, परीक्षा समयमा नहुने, परीक्षाफल समयमा प्रकाशन नहुनेलगायत समस्याबाट पीडित छन् । यी सामान्य र आधारभूत समस्यासमेत समयमा हल गर्न नसक्ने प्रशासनलाई व्यापक रूपान्तरण गर्न जरुरी छ ।

पाचौँ, शिक्षाको गुणस्तरका लागि भौतिक संरचनाको पनि त्यतिकै आवश्यकता पर्छ । आवश्यक ल्याब, शैक्षिक सामग्री, कक्षाकोठा, पुस्तकालय, खेलमैदानलगायतको पनि उत्तिकै महत्व हुन्छ । त्रिविको अहिलेको अवस्था हेर्दा क्याम्पसहरू खण्डहरमा परिणत हुँदै गएका छन् भने न्यूनतम सरसफाइ र आवश्यक भौतिक संरचनाको पनि अभाव छ । त्रिविको स्वामित्वमा रहेको जमिनलगायत सम्पत्तिहरूको दुरुपयोग हुँदै आएको छ ।

अहिले पनि क्याम्पसहरूमा शौचालय, पुस्तकालय, खानेपानी, कक्षाकोठा, ल्याब, खेलमैदानलगायतको व्यवस्थापन निकै कमजोर छ । आधारभूत भौतिक पूर्वाधार निर्माण गर्न जरुरी छ । छैटाैँ, पछिल्लो समय नेपालका विश्वविद्यालयमा विद्यार्थीको संख्या क्रमशः घटिरहेको छ ।

अधिकांश विद्यार्थी कक्षा १२ पछि बिदेसिन लालायित देखिन्छन् । यसमा नेपालको शैक्षिक र अर्थ राजनीतिक व्यवस्था र अवस्था जिम्मेवार छ । एक अध्ययनले कक्षा १२ उत्तीर्ण गर्ने करिब ७३ प्रतिशत विद्यार्थीको रोजाइ विदेश रहेको देखाएको छ । त्यसकारण विद्यार्थी संख्या वृद्धि पनि एक चुनौतीका रूपमा रहेको छ । यसका लागि विश्वविद्यालयको व्यापक रूपान्तरण र गुणस्तर वृद्धि गर्न आवश्यक छ । विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन आवश्यक नीतिगत, प्रशासनिक, प्राज्ञिक र भौतिक आधार निर्माण गर्न आवश्यक छ । बिदेसिने विद्यार्थीमार्फत ठूलो मात्रामा नेपाली पुँजी बिदेसिइरहेको अवस्था छ ।

सातौँ, नेपालका विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् । विश्वविद्यालयमा उत्पादित जनशक्ति र ज्ञानलाई श्रम, रोजगारी, उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादनका भट्टी भएका छन् । यसको सम्बन्ध देशको राजनीति र अर्थ व्यवस्थासँग प्रत्यक्ष रूपमा जोडिन्छ । त्यसकारण विश्वविद्यालयवाट उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र देशको समुन्नति र समृद्धिको अभियानमा लगाउन आवश्यक कदम चाल्न जरुरी छ ।

आठौँ, नेपाली शिक्षा प्रणालीको समस्या भनेको परीक्षा प्रणालीमा पनि रहेको छ । सेमेस्टर वा वर्षभरि पढेर अन्तिममा एउटा परीक्षा दिएर पास हुने प्रणाली अन्त्य गर्न जरुरी छ । निरन्तर सिकाइ र व्यवहारमा प्रयोग तथा निरन्तरको मूल्यांकनका आधारमा मूल्यांकन विधि पनि नयाँ बनाउन जरुरी छ । अहिलेको अवस्था हेर्दा परीक्षा भएको एक वर्षमा पनि परीक्षाफल प्रकाशन गर्न त्रिवि अक्षम देखिँदै आएको छ ।

नवौँ, विश्वविद्यालयमा आवश्यक पर्ने साधन स्रोतको उचित व्यवस्था गर्न आवश्यक छ । भएको स्रोतलाई पनि अधिकतम उपलब्धिसहित प्रयोग गर्ने र थप स्रोतको व्यवस्था गर्न आवश्यक छ । दसौँ, पाठ्यपुस्तक र कक्षाकोठाको ज्ञानसँगै विद्यार्थीलाई वास्तविक समाज र देशसँग पनि जोड्न आवश्यक छ । विद्यार्थीको समग्र वृद्धि विकासका लागि खेलकुद, मनोरञ्जन, व्यवस्थापन तथा सामाजिक काममा सहभागी बनाउँदै उनीहरूको समग्र विकासमा जोड दिन आवश्यक छ ।

यी विषय यसपटकको स्ववियू निर्वाचनका ऐजेन्डा र युवा विद्यार्थीमाझ व्यापक छलफल र बहसका विषय बन्न जरुरी छ । अबको स्ववियु निर्वाचनबाट कर्मकाण्डी स्ववियु होइन, समग्र नेपालको उच्च शिक्षा र त्रिविको आमूल रूपान्तरणका लागि आवश्यक नीतिगत, व्यवस्थापकीय, प्राज्ञिक–शैक्षिक, भौतिक र विद्यार्थीको समग्र हितका लागि बहस उठाउन सक्ने स्ववियु ब्युँताउन आवश्यक छ ।

व्यापक बहस र छलफलबाट त्रिविलाई नमुना विश्वविद्यालय तथा खोज, अनुसन्धान र ज्ञान निर्माणको केन्द्र बनाउने अभियानका रूपमा स्ववियु निर्वाचनलाई प्रयोग गर्न जरुरी छ । विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख्ने, शैक्षिक गुणस्तर जोगाउने र हाम्रा विश्वविद्यालयलाई मर्यादित प्राज्ञिक थलो बनाउने कार्यमा अबको स्ववियुले भूमिका खेल्नुपर्छ । त्रिविलाई ज्ञान निर्माण, समाजवादको जग निर्माण र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारस्तम्भ बनाउने प्राज्ञिक संस्थाका रूपमा विकास गर्नका लागि पनि यो स्ववियु निर्वाचनलाई उपायोग गर्नुपर्छ ।
(लेखक अखिल (क्रान्तिकारी)का उपाध्यक्ष हुन्)

साभार: नयाँपत्रीका डेलि अनलाइनबाट….

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार