हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

डेली न्युजराप्ती       २७ बैशाख २०८० ०७:४२ मा प्रकाशित     156 No Comments

काठमाडौँ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए। नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् ।
पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् । सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पु¥याउन कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् ।
सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो । वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार