सिद्ध पृथ्वी जनता माविमा शिक्षकहरुको राजनीतिक खिचातानीले बिद्यार्थीहरुको पठनपाठन अस्तव्यस्त

डेली न्युजराप्ती       ७ जेष्ठ २०८० १७:४५ मा प्रकाशित     480 No Comments

जेष्ठ ७ , तुलसीपुर । दंगिशरण गाउँपालिका वडा नं.६ स्थित सिद्ध पृथ्वी जनता माविमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
बिधालयमा दुई जना प्रधानाध्यापक तोकिएपछी गएको विहीबारदेखि विद्यार्थीले लगाएको ताला अझै खुलेको छैन ।

विद्यालयमा अहिले दुई जना प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । त्यसले गर्दा शिक्षकहरुले विद्यार्थीहरुलाई पढाएनन्, आफ्नै विवादमा रुमल्लिए । त्यसपछि अहिले विद्यार्थीहरु विद्यालय पोशाक, किताब,कपीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन्। ‘सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाई रोकिएको छ, हामीलाई नै पढाउनु भएको छैन’,विद्यार्थी सुनिल केसीले भने‘त्यसैले हामीले तालाबन्दी गरेका हौं ।’

दुई जना प्रधानाध्यापकको विवाद नटुंगिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाई छ । त्यहाँ विद्यालय व्यबस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने त्यसको काउन्टरमा गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गएको माघ १३ गते विद्यालय व्यबस्थापन समितिको बैठकले तत्कालिन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय ग¥यो । तत्कालिन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो।‘यस अघिका प्रअ हर्कबहादुर बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो’,उनले भने‘त्यसपछि तत्कालिन अबस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विव्यसले निर्णय गरेको हो ।’

त्यसपछि विद्यालयका सिनियर शिक्षक बाबुराम अधिकारीले राजीनामा दिए । सुगर, प्रेसरको विरामी भएकै कारण दिएको उनको राजीनालाई विद्यालय ब्यबस्थापन समितिले पनि सदर गरि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पठाईसकेको थियो । तर, इकाईले उनको राजीनामा स्वीकृति गरेन् । त्यसपछि उनी प्रधानाध्यापककै दावी गरेर विद्यालयमा आए । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उनले पालिकामा निवेदन दिए र,पालिकाले बरिष्ठ शिक्षकका रुपमा प्रधानाध्यापक बनाएर पठायो ।

जैसीलाई विब्यसले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उनी १२ वैशाखमा विद्यालय गए । सोही दिन बसेको विब्यस बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय ग¥यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठन–पाठन पनि ठप्प छ ।‘मलाई पालिकाले नै प्रअका रुपमा पठायो’, अधिकारीले भने‘विब्यसले म भन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौथो नम्बरमा हुनुहुन्थ्यो , उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो’,उनले भने‘त्यसपछि पालिकाले मलाई सिनियर शिक्षक भएकाले प्रअको जिम्मा तोकेर पठायो ।’

कानुनमा नै बरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा तोक्नु पर्ने ब्यबस्था रहेकाले सोही अनुसार पालिकाले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए । ‘विव्यसले कनिष्ट शिक्षकलाई निमित्त तोकेपछि त्यसलाई सच्चाउन पालिकालाइ पत्र पठायौं’, उनले भने‘तर, त्यसको सुनुवाई नभएपछि बरिष्ठ शिक्षकको उजुरीका आधारमा हामीले उहाँलाई निमित्त बनाएर पठाएका हौं ।’ अहिले निमित्त भएपनि विव्यसले विज्ञापन निकालेर प्रधानाध्यापक नै बनाउन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार