९ जेठ २०८०, दाङ /राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको टिप्पणी गर्नुभएको छ ।
प्रगतिशील पत्रकार संघ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाकी प्रवक्ता पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले हमला गर्नुका साथै लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने
नीति पनि अपनाइरहेको प्रति नेपाल र नेपाली जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतरा रहेको र नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको उल्लेख गर्नुभयो ।
नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिएको उल्लेख गर्दै एमसीसी परियोजना त्यसैको पछिल्लो उपज भएको जिकिर गर्नुभयो ।
नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्तर्गत रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरूद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु रहेको दावी गर्दै त्यसको परिणामस्वरूप नेपालमा ठूलो धनजनको क्षति हुने र यसले नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने खतरा बढेको बताउनुभयो ।
जसका कारण अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्र समेतका लागि गम्भीर खतरा पैदा भएको छ । त्यसका विरूद्ध उच्च सतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपील गर्दै देशव्यापी अभियानमा हिडेको छ, उहाँले भन्नुभयो । अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले
अमेरिकी साम्राज्यवादका विरूद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान आगामी जेठ १ गते सुरू भएर जेठ १५ गते समापन गरिने छ । त्यो अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट सुरु गरेर जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने छ ।
नेपालको राजनीतिक स्थिति र आवश्यकता अनुसार गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ नाराअन्तर्गत जनमोर्चाको आन्दोलन पनि लगातार अगाडि बढिरहेको बताउनुभयो । उहाँले देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतामाथि लगातार आक्रमण गरिराखेको बताउँदै भारतीय साम्राज्यवादबाट पनि नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि समेत गम्भीर प्रकारले आक्रमण भइरहेको दावी गर्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो संघीयता खारेजी आफुहरुको विगतदेखिकै मुद्दा संस्थागत गर्न नेपाली जनताको साथ चाहिएको बताउनुभयो । उहाँले संघ र स्थानीय सरकार चुस्त बनाउन, अधिकार सम्पन्न मितव्ययी संरचनामा ध्यान दिन सचेत गराउने काम गर्दै आएको बताउनुभयो । उहाँले प्रदेश संरचना खारेजीको माग गर्नुभयो । महंगो संघीयताका बारेमा जनतामा सचेतना फैलाउन र अमेरिकी साम्राज्यवाद विरुद्ध खबरदारी गर्न मेचीमहाकाली अभियान लिएर दाङ आइपुगेको उहाँको भनाई छ ।
प्रगतिशील पत्रकार संघको जिल्ला सल्लाहकार कृष्णप्रसाद आर्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा मसालका प्रदेश प्रवक्ता तिलक जिसी, जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, केन्द्रीय सदस्य सरिता जिसी अखिल छैठौंका देवेन्द्र कवँरलगायतको उपस्थित रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण जिल्ला अध्यक्ष महेश रिजालले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.