काठमाडौं – नेपालका शैक्षिक कन्सल्टेन्सीहरुले अवैध बाटोबाट नेपाली विद्यार्थीहरुलाई युरोपियन मुलुक साइप्रस पठाउने गरेको पाइएको छ । कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीलाई भारतको नयाँ दिल्ली हुँदै साइप्रस पठाउने गरेको पाइएको हो । नेपाली विद्यार्थी पठाउन बैधानिक रुपमै रोकिएको साइप्रसमा राम्रो कमाई हुने लोभ देखाएर कन्सल्टेन्सीहरुले भारतको बाटो हुँदै साइप्रस पठाउने गरेको मोटिभेट न्यूज डटकमको खोजबाट पत्ता लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साइप्रसका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ । विदेशका विश्वविद्यालय तथा कलेजहरुमा पैसा पठाउन र विमानस्थल प्रबेश गर्नका लागि एनओसी अनिवार्य हुन्छ । तर कन्सल्टेन्सीले एनओसीबिना नेपाली विद्यार्थीलाई चोर बाटोबाट साइप्रस पठाउने गरेका छन् । एनओसी नबन्दा शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीलाई विभिन्न प्रलोभन देखाउँदै भारतको बाटो साइप्रस पठाइरहेका छन् ।
‘साइप्रस जानका लागि भारतको नयाँ दिल्ली विमानस्थलमा नेपालीहरुलाई कुनै रोकतोक छैन । पहिला नेपाल स्थित भारतीय दूतावासको अनुमति चाहिने भएपनि अहिले नेपालीका लागि खाडी मुलुक बाहेक अन्यत्र त्यस्तो अनुमति चाहिदैन । भिसा र टिकट भए पुग्छ ।’, श्रोतल भन्यो, ‘यही विषयलाई उनीहरुले सेटिङ भनेका छन् । एयरपोर्टमा सेटिङ मिलाइदिने भन्दै विद्यार्थीबाट मोटो रकम असुलिरहेका छन् ।’ कन्सल्टेन्सीले सेटिङ मिलाएर साइप्रस पठाइदिने भन्दै विभिन्न प्रलोभन देखाएको विद्यार्थीले समेत स्वीकारेका छन् । ‘हामीलाई कन्सल्टेन्सीले सुरुमा सेटिङ मिलाएर साइप्रस पठाइदिने भनेर विभिन्न प्रलोभन देखाएको थियो ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘तर उसले दिल्लीबाट पठाउने रहेछ । मलाई डर लाग्यो म गइन ।’ उनले आफू नगए पनि आफूसँग गएका विद्यार्थीले दुःख पाएको बताए ।
‘साथीहरु साइप्रसको युनिभर्सिटी अफ सेन्टरल्याण्डसायर (युक्लान)मा अध्ययनका लागि गएका थिए । तर त्यहाँ उनीहरुलाई पढ्न समस्या भएको छ ।’, उनले भने, ‘कन्सल्टेन्सीले ट्युसन फि नपठाएको भन्दै विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् ।’ यसरी अबैध बाटोबाट विद्यार्थी पठाउनेमा चितवनको जेभिएर इन्टरनेशनल एजुकेशन, काठमाडौं सोह्रखुट्टेको सुपरनोभा एजुकेशन कन्सल्टेन्सी, काठमाडौं बागबजारको योजिन मल्टिप्रपोज कन्सल्टेन्सी, काठमाडौं पुतलीसडकको माइकरिअर एजुकेशनल कन्सल्टेन्सी लगायत रहेका छन् । तर उनीहरुले आफूहरुले अबैध बाटोबाट विद्यार्थी नपठाएको बताएका छन् ।
जेभिएर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुमन अधिकारीले आफूले साइप्रसको तीनवटा विश्वविद्यालयमा मात्र विद्यार्थीलाई पठाएको बताए । ‘हामीले एनओसी जारी हुने तीन वटा विश्वविद्यालयमा मात्र विद्यार्थीलाई पठाएका छौं । अबैध बाटोबाट विद्यार्थी पठाएको तपाईंलाई कसले भन्यो ।’, झनक्क रिसाउँदै उनले भने, ‘अबैध बाटोबाट विद्यार्थी पठाएको मैले पनि सुनेको छु । तर हामीले त्यस्तो गर्दैनौं । तपाईंलाई कसले भन्यो ?’ अधिकारीले बेलायतको युक्लान विश्वविद्यालयको साइप्रस शाखामा नेपाली विद्यार्थीहरुको भर्ना गरिरहेको स्वीकारे । ‘एनओसी खुल्ने आशामा हामीले युक्लान विश्वविद्यालयमा विद्यार्थीको भर्ना खोलेका छौं ।’, उनले भने, ‘मन्त्रालयका सरहरुले एनओसी दिने भन्नुभएको छ ।’ तर मन्त्रालयले साइप्रसको कुनै पनि विश्वविद्यालयलाई एनओसी नदिएको जनाएको छ ।
यस्तै माईकरिअरकी संचालिका विजया चापागाँईले पनि आफूहरुले एनओसी जारी हुने शैक्षिक संस्थामा मात्र विद्यार्थी पठाउन विज्ञापन गरेको बताइन् । ‘हामीले एनओसी शाखासँगको सल्लाह पछि विज्ञापन गर्न सुरु गरेका हौँ । हाम्रोबाट यो बर्ष आजसम्म कुनै पनि साइप्रसको भिसा लागेको छैन ।’, उनले भनिन्, ‘हामीले साइप्रस युनिभर्सिटी, युनिभर्सिटी अफ निकोसिया र युरोपियन युनिभर्सिटीका लागि विद्यार्थी कलेक्सन गरिरहेका छौं । एनओसी खुलेपछि हामीले विज्ञापन गरेका हौं । अव फेरी एनओसी रोकेको बारेमा मलाई जानकारी छैन ।’
#motivatenews
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.