काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले अमेरिकाको डिजाइनमा नेपालमा नयाँ पार्टी खुल्न लागेको खुलासा गरेका छन् । काठमाडौंमा आयोजित नेकपाको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अनिलले कांग्रेसबाट गगन थापा, रास्वपाबाट रवि लामिछाने र जनमत पार्टीका सिके राउतलाई मिलाएर अमेरिकाले नयाँ पार्टी बनाउन खोजेको बताएका हुन् ।
सोमबार नेकपा उपत्यका प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राजनीतिक रुपमा अरुको विश्वास गर्न नसकेपछि अमेरिकाले नयाँ पार्टीका लागि रणनीतिक तयारी गरेको उनको भनाई थियो । ‘अमेरिकाले नेपाली कांग्रेसका सभापतिबाट ठूलो आशा गरेको थियो । उसको आशा एमसीसी ५ बर्ष रोकिएपछि निराशामा परिणत भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले गर्न नसक्ने अवस्था देखेपछि उसले गगनलाई अगाडि सारेको छ ।’, उनले भने, ‘कांग्रेसभित्र बसेर गगनहरुले हस्तक्षेप गर्न नसकेपछि नयाँ मोर्चा खोल्ने अमेरिकी तयारी छ ।’
अमेरिकाले नेपालको अदालत, नेपाली सेना र कर्मचारीहरुलाई प्रभावमा पारिसकेको भन्दै उनले भने, ‘अब अमेरिकाले राजनीतिमा प्रभाव जमाउन खोज्दैछ । पहिला पहिला भारत भएर आउने अमेरिका यो पटक सिधै एमसीसीमार्फत आएको हामीले देखेका छौं । अब उसले संसदमा भएका पार्टीलाई संसदमा नङ्ग्याउन, सडकमा भएकालाई दमन गर्ने, कांग्रेस फुटाउने र राजनीति पनि आफ्नो हातमा लिने षड्यन्त्र गर्दैछ । ’
अमेरिकाको यही षड्यन्त्र अरु पार्टीका नेताहरुले नबुझेको भन्दै बुझिसक्दा उनीहरुलाई पछुत्ताउनु बाहेक अर्को विकल्प नहुने बताए । ‘अमेरिका नेपाल आइसक्यो भनेर हामीले समाजवादी पार्टीहरुलाई भनेका छौं । उहाँहरुले होर ! भनेर बसिरहनु भएको छ ।’, उनले भने, ‘हामीले त्यही भएर समाजवादी मोर्चाको विषयमा छलफल गरेका छौं । यसमा धेरै साथीहरु तयार हुनुहुन्छ । अमेरिकी साम्रज्यवादका विरुद्धमा लड्न समाजवादी मोर्चा अनिर्वाय छ ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.