समाजवादी मोर्चाको बहस र सान्दर्भिकता

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० १४:१३ मा प्रकाशित     142 No Comments

विष्णु पन्त
१. समाजवादी मोर्चा र राष्ट्रिय एकताको आवश्यकता ः बदलिँदो विश्व परिस्थितिलाई नियाल्ने हो भने बृहत राष्ट्रिय एकता नै देशका लागि सार्वभौम आवश्यकता हो । फुट र विभाजनले विनाश निम्त्याउँछ । फुट विभाजनको परिणाम के हुन्छ भन्ने तथ्य हेर्नलाई पछिल्लो परिघटना माओवादीलाई हेरे पुग्छ । विभाजनले वर्ग दुश्मनलाई बलियो र विजयी बनाएको छ भने मित्र शक्तिलाई निराश बनाएको छ । आवेगमा त यो पनि भन्न सकिन्छ कि विभाजनले क्रान्ति, परिवर्तन र अग्रगमन निम्त्याउँछ । आत्मगतरूपमा धेरै वर्ष पहिले भै बिलाइसकेको माओवादी अहिलेसम्म त धुकुर–धुकर संसदमा उभिन सफल भएको छ ।

उता सडकमा त्यस्तै बेहाल छ । नेकपा राज्य वा सरकारको प्रतिबन्ध र फासीवादलाई पनि परास्त ग¥यो तर अपेक्षाकृत अगाडि बढ्न सकेन । एउटा अनौठो र सत्य के छ भने न त पेरुमा न त नेपालमा दोस्रो जनयुद्ध पुनस्र्थापित हुन सक्यो । उत्कर्ष पुगेको युद्धहरु एक पटक ध्वस्त भएपछि तुरुन्तै पुनरावृत्ति हुन कठिन रहेछ । त्यसकारण आज आएर फेरि एक पटक समाजवादी मोर्चाको बहस भएको छ । यो बहसको केन्द्र भागमा विभाजित माओवादीहरु र विभाजित एमालेहरु छन् । यदि अझै पनि नेपालमा वाम वा कम्युनिष्ट भविष्यलाई स्थापित वा पुनर्जिवित गर्ने हो भने एउटै बाटो छ, यो हो कम्युनिष्टहरुको भविष्यलाई स्थापित वा पुनर्जिवित गर्ने । त्यसको लागि पनि एउटै बाटो छ, त्यो हो कम्युनिष्टहरुको पुनर्जागरण, पुनर्एकता र व्यवस्था परिवर्तन । सारमा भन्ने हो भने नेपालमा कम्युनिष्टहरुको धेरै नै बदनाम भएको छ, त्यसको मुख्य कारण हो विभाजन, प्रतिशोध, भ्रष्टीकरण र पतन ।

कम्युनिष्टहरु यति बदनामित छन् कि अब योभन्दा बदनामित हुने ठाउँ नै छैन । आजको प्रमुख आवश्यकता हो कम्युनिष्टहरुको बृहत एकता तर एकताको नारा कमजोर हँुदा मात्र लाग्छ, बृहत मोर्चाभन्दा साथ त्यहाँ विभिन्न नामहरु हुनसक्छन् । कम्युनिष्ट, वाम, प्रगतिशिल, राष्ट्रवादी, अग्रगामी वा समाजवादी मोर्चा आदि । मोर्चाको बहस खासगरी टुक्र–टुक्रा विभक्त कम्युनिष्ट समूहहरुमा उठेको छ । एकता गर्नुभन्दा अगाडि कम्युनिष्टहरु किन फुट्छन् भन्ने पक्षमा बहस र समीक्षा उठेको छ । कम्यनिष्टहरुले आपूmलाई वर्ग दुश्मनले लगाएका आरोपहरुबाट समीक्षा गर्न सक्नुपर्दछ ।

एक पटक शान्त भएर ती आरोपहरुलाई हेरौं त ः कम्युनिष्टहरु अधिनायकवादी निरंकुश, संकीर्ण, जड, ढोंगी वा पाखण्डी, रुढीवादी, चरम व्यक्तिवादी र फासीवादी हुन्छन् । अर्काे चरित्र हेरौं, कम्युनिष्टहरुमा अस्वीकार्यता वा विरोध र फरक मतलाई स्वीकार नगर्ने, अप्रतिस्पर्धात्मक सोच, निषेधात्मक वा सफायवादी दृष्टिकोण अहंकार, घमण्ड उत्पीडक बन्ने अचेत चाहना, अनि अरुलाई अज्ञानी र आपूmलाई मात्र सर्वज्ञानी ठान्ने चेतना हुन्छ । धेरै कम्युनिष्टहरुमा फरक मतलाई सम्मान गर्ने समाथ्र्य नै हुँदैन । भर्खर मात्र आहुतीले विनाकारण विप्लवसँगको मोर्चाको औचित्य नभएको भन्दै वक्तव्य निकाले र केही समय पहिले किरण पनि त्यसैगरी अलग्गिए ।

एमाले र माकेबीचमा स्वीकार्यता नै छैन । केपी ओली र माधव नेपाल अनि केपी ओली र प्रचण्डबीच शत्रुतापूर्ण, अराजनीतिक र असभ्य सम्बन्ध छ । यी आरोप र प्रवृत्तिहरुबाट मुक्त हुन खोज्नु मात्र सही नेतृत्वको सम्भावना हुन्छ । आजको विज्ञान, प्रविधि, सूचना र आर्टिफिसियल इन्टलीजेन्सको युगमा कमजोरीमाथि ढाकछोप गरेर वा लुकाएर होइन रूपान्तरण गरेर मात्र आपूmलाई सुदृढ गराउन सकिन्छ । पछिल्लो समय केही निराशावादी कोणबाट लगाइएका आरोपहरुलाई पनि समीक्षा गरौँ, ती हुन्– १. कम्युनिष्ट विवाद ः नाटकीय, २. विचारको बहस ः सहायक, ३. मुख्य विवादः नेतृत्वको, ४. वास्तविक वा व्यवहारिकरूपमा सबै शान्तिपूर्ण संघर्षको बाटोमा, ५. जनयुद्ध वा शसस्त्र संघर्षको नारा ः नाटकीय मात्र ।

वास्तवमा फिल्ड, प्रयोग वा व्यवहारमा हेर्ने हो भने विप्लवलाई मात्र संघर्षका नारा लगाउने अधिकार छ र अरुका गफ मात्र सावित भए । माथि उल्लेखित आरोपहरुमाथि निर्मम भएर समीक्षा गरी अगाडि बढे मात्र कुनै पनि एकता दीर्घकालीन र दुरदर्शी हुनसक्छ । अन्यथा, त्यो एकता विगतको एमाले र माकेको जस्तो एकता हुन्छ । न विचार छ न उद्देश्य छ, न पद्धति छ र न सामूहिकता नै छ । बृहत मोर्चा बनाउने अवधारणामा विप्लव धेरै अगाडि र दुरदर्शी छन् । उनले समाजवाद मान्ने सबै दल, शक्ति र व्यक्तिसँग एकता गर्नुपर्ने धारण राखेका छन् । प्रचण्ड र माधव नेपालले एमाले वा केपी ओली बिनाको मोर्चा भन्ने व्याख्या गर्दछ । यो चिन्तनले सङ्कीर्णताको पराकाष्ठालाई प्रतिबिम्वित गर्दछ । उता एमाले र केपी ओलीले कुनै पनि मोर्चाको कुरा गर्दैनन् किनभने उनीहरुलाई एमाले ठूलो छ भन्ने अहंकार छ । वास्तवमा भन्ने हो भने ओली र प्रचण्डले सबै साना दल र समूहलाई समेट्ने गरी बृहत मोचाएको अवधारणा ल्याउन सकेको भए नेपाल कहाँ पुग्थ्यो ?

२. बृहत वाम एकताका आधारहरु ः कम्तीमा संसदीय व्यवस्थालाई बदलेर अग्रगामी व्यवस्था ल्याउने सवालमा नेपालका सबै दलहरुबीच आमसहमति बन्न सक्छ । भ्रष्टाचारको अन्त्य, राजनीतिक स्थिरता, सुशासन वा कानूनी राज्य, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीको सृजना, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी अनि भूमि वा जमिनमाथिको निजी सम्पतिको अन्त्यमा बृहत सहमति बन्न सक्छ । मोर्चाको निर्माण गर्दा सम्मानजनक एकताको आवश्यकता र त्यसको व्यवस्थापन मुख्य कुरा हुन्छ । मुख्यरूपमा हेर्दा दुई प्रकारका कम्युनिष्टहरु छन् १. संसदवादी र २. संसदीय व्यवस्थालाई नमान्ने । पहिलो समूहमा केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, चित्रबहादुर केसी र नारायणमान बिजुक्छेहरुको व्यवस्थापन र एकताको आधार तयार गर्न सकिन्छ । दोस्रो धारमा विप्लव, किरण, आहुति, ऋषि कट्टेलहरुको व्यवस्थापन । एकातर्फ ओली र प्रचण्डलाई अनि अर्काेतर्फ विप्लव र किरणलाई मिलाउन सके नेपालमा बृहत वाम मोर्चाको सम्भावना बलियो छ । सुरुमा माओवादीहरुबीचको एकता हुँदै बृहत समाजवादी मोर्चामा पुग्न सकिन्छ ।

शक्ति वा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लोकप्रियता ः राष्ट्रिय स्वतन्त्र पार्टीको उदय वा पतन के होला भनि अहिले नै पूर्वानुमान गर्न सकिँदैन । सत्य के हो भने पुराना संसदीय दलहरुको असफलता, अलोकप्रियता र असन्तुष्टिका कारण यो दलको लोकप्रियता बढेको हो । खासगरी रवि लामिछानेको लोकप्रियताबाट यो पार्टी जन्मिएको हो । सुधारवादी दृष्टिकोणबाट रास्वपाको आवश्यकता छ र त्यो रहिरहने सम्भावना छ । रास्वपाको जन्मपछि संसदवादी दलहरु पनि सच्चिनै पर्ने दबाब बढेको छ, जुन देशका लागि सकारात्मक छ । आज बालेन साह, हर्क साम्पाङहरु पनि केही लोकप्रिय काम थरेर लोकप्रिय बनेका छन् । माथिका तथ्यहरुबाट के बुझ्न सकिन्छ भने जनताले सजिलो र सुधारवादी बाटोमा माग गरेका छन् । बहिस्कार, युद्ध वा कडा संघर्षको बाटोलाई त्यति मन पराएका छैनन् । बालेन शाहले जे गरेका छन् ती चमत्कारिक छैनन् बरु नियमित र सामान्य छन् तर पनि उनी लोकप्रिय छन् । यसको मुख्य कारण हो, परम्परागत नेतृत्वमा देश, समाज, गाउँ र नगरका लागि केही गर्ने सोच नै छैन । यदि त्यस्ता भएका भए बालेन साह कहाँ लोकप्रिय हुन्थे र ? त्यसकारण यदि कम्युनिष्टहरुमा अस्तित्वको चेतना वा वुद्धि आएन भने अवको भविष्य रास्वपा वा त्यस्तै अन्य नयाँ शक्तिहरुको हो । कम्युनिष्ट वा माओवादीहरुमा पनि सुध्रिने वा सच्चिने दबाब बढेको छ, जुन सकारात्मक छ ।

४. दुई तिहाइ वाम जनमत नै बृहत एकताको आधार : नेपालमा ७० प्रतिशतभन्दा बढी जनमत वाम विचारधाराप्रति नजिक छ । उपस्थितिमा दुई तिहाइ बहुमतमा हुँदाहुँदै पनि तयो जनमत सत्ताको हिसाबले सधैँ पराजित छ । विभाजित वाम चेतनाका कारण त्यो जनता सधैँ पराजित छ । यो तथ्य स्पष्ट छ कि संसदीय व्यवस्थाभित्र न त कुनै पनि दलको भविष्य छ न त नेतृत्वको । यो व्यवस्थाले सबैको बदनाम मात्र गरेको छ । राजनीतिक अस्थिरता गराई राख्ने विदेशीहरुको स्वार्थको लागि मात्र यो तथ्यलाई आत्मसात गर्न जरुरी छ । माओवादीहरु टुक्राटुक्रा भइ एक आपसमा लडेर सिद्धिँदा फाइदा कसलाई भयो, तत्कालीन नेकपा विभाजित भई शत्रुतापूर्ण लडाईँ लड्दा फाइदा कसलाई भयो ? एमाले विभाजित हुँदा फाइदा कसलाई भयो ? विभाजनको रोगबाट बदनाम कसको भयो । हुँदाहुँदा एउटाले अर्कालाई जेल हाल्ने, अनि मार्नेसम्मका योजनाहरु बने । त्यसकारण हाम्रो पुरानो तरिका असफल भइसकेको छ । हाम्रो परम्परागत सोच, चिन्तन, दृष्टिकोणमा धेरै प्रश्न उठेका छन् । नयाँ ढंगले अगाडि बढ्ने वा सिद्धिने भन्ने चुनौति अगाडि छ । फेरि पनि एकता वा पुनर्जागरणबाट मात्र नयाँ भविष्यको सम्भावना छ ।

५. नैतिकवान् नेतृत्व र उच्च व्यवस्थाको खोजी ः आजको जनताले नैतिकवान्, इमान्दार र प्रतिबद्ध नेतृत्वको खोजी गरेको छ । नैतिकवान् र इमान्दार नेतृत्वको साथसाथै उच्च व्यवस्थापकीय क्षमताको खोजी भएको छ । आज सबै दलहरुमा वितरण प्रणालीमा असन्तुष्टि र असमानता छ । जनताले न्यायोचित वितरण प्रणालीको खोजी गरेको छ । परिवारवाद, गुटवाद अनि नातावाद र कमाउवादको अन्त्य आजको मुख्य आवश्यकता हो । सरकार र पार्टीमा आउने अवसरहरुको वितरणमा कुनै पनि स्पष्ट विधि बनेको छैन । आजसम्मको अभ्यासमा बरु बालेन साह, हर्क साम्पाङहरु लोकप्रिय भए तर कम्युनिष्टहरु धेरै पछाडि छन् । सारमा भन्दा हिजो हामीले एकता र विभाजनका दुवै अनुभवहरु हासिल गरेका छौँ । एकताले नै अगाडि बढाउँछ भन्ने वैज्ञानिक तथ्यलाई आत्मसात गरौँ । सरकार र पार्टी चलाउने स्पष्ट विधि बनाउँदै नयाँ बृहत मोर्चाको आवश्यकता छ । सबै अटाउने, सबैलाई समेट्न र ठूलाले सानालाई महत्व दिने उच्च संस्कार विकास गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार