काठमाडौँ । अवैध रूपमा सीमापार गर्दै ‘अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ ।
अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए ।
राजदूत तुलाधरका अनुसार नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको छ । ‘एक जनाले त अमेरिका लाने भन्दै आफूसँग १० लाख रुपैयाँ लिएर ल्याएको हामीसँगको संवादमा बताएका छन्,’ राजदूत तुलाधरले भने,‘संख्या यति नै भन्ने अझै प्रस्ट भइसकेको छैन । तर शुक्रबारसम्म बुझ्दा २८ जना नेपाली रहेको सूचना अजरबैजान सरकारबाट आएको छ ।’
अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।
‘हामीले नेपालीहरूका बारेमा जानकारी दिने र उनीहरूलाई त्यहाँबाट छुटाएर डकुमेन्ट तयार पारी नेपाल पठाउने गृहकार्य गरिरहेका छौं । अहिले अजरबैजान सरकार र त्यहाँका अन्य संघ संस्थाहरूसँग पनि कुराकानी भइरहेको छ,’ राजदूत तुलाधरले भने,‘आशा छ, नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कनेछन् ।’ – इकान्तिपुरबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.