काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले आगामी परिवर्तनको नेतृत्व माओवादीबाटै सम्भव भएको बताएका छन् । नेकपाको स्कुलिङ विभाग इन्चार्जसमेत रहेका उनले आगामी परिवर्तनको नेतृत्व माओवादी कम्युनिस्ट समाजवादीले गर्न सम्भव रहेको भन्दै यसको नेतृत्व लिन पहल गर्नुपर्ने बताएका हुन् ।
उनले मंगलबार ‘माओवादी एकताको मार्गचित्र २’ शिर्षकको स्टाटस समाजिक संजाल फेसबुकमा पोस्ट गर्दै नेपालका कम्युनिस्ट, माओवादी, समाजवादीहरु एक हुनुपर्ने बताएका हुन् । यसका लागि विचार र राजनीतिलाई शिर्ष स्थानमा राख्नुपर्ने, एकताको नयाँ आधार समाजवादी गणतन्त्र बनाउनुपर्ने, शान्ति प्रक्रियामा आउनु पूर्वको पार्टी नीति (सरकारमा नजाने संयुक्त मोर्चामा जाने) लागु गर्नुपर्ने, सामाजिक गतिको विज्ञानलाई आत्मासाथ गर्नुपर्ने, माओवादी पुनर्जागरण र पुनर्संरचना तथा पुनर्गठनको अभियान संचालन गर्नुपर्ने, दलाल पुँजीवादलाई वर्ग दुश्मन मान्नुपर्ने, मार्क्सवाद बिरोधिसँग संघर्ष गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।
७ वटा बुँदामा लेखिएको स्टाटनमा उनले २०६४ पछिको माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै, नेताहरुले आर्जन गरेको स्रोतबिहिन अस्वभाविक सम्पत्तिको राष्ट्रियकरण गर्नुपर्ने उनको भनाई छ ।
‘शान्ति प्रक्रियामा आउनु पूर्वको पार्टी (पार्टी सरकारमा नजाने संयुक्त मोर्चा जाने) लाई कार्यन्वयन गर्नु, सरकार वा सदनमा एक ब्यक्ति दुई पटक भन्दा बढी नजाने नीति बनाई कार्यन्वयन गर्नु र मुख्य कुरा २०६४ पछिको माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्नु र स्रोतबिहिन अस्वभाविक सम्पत्तिको राष्ट्रियकरण गर्नु ।’, स्टाटसमा लेखेका छन् ।
यस्तो छ नेता भरत सीको स्टाटसको पुरापाठ:-
माओवादी एकताको मार्गचित्र २
१) विचार र राजनीतिलाई शिर्ष स्थानमा राख्नु- यसरी सोच्दा नेपाली बिशेषताको समाजवादी गणतन्त्र प्राथमिक सूचीमा ल्याई कार्यन्वयन गर्नु, यसको लागि मुख्य बाधक रहेको बित्तीय एकाधिकार र दलाल पुजीको विद्यमान शोषणको अन्त्य गर्नु ।
२) एकताको नयाँ आधार समाजवादी गणतन्त्र बनाएपछि त्यो प्राप्तिको कार्यदिशा पनि नयाँ बनाउनु-यसरी सोच्दा एकीकृत संघर्स (शान्तिपूर्ण र सशस्त्र संघर्स , संसद र सडक) को प्रक्रियालाई एकीकृत जनक्रान्तिको कार्यदिशामा बिकास गर्दै कार्यरुप दिनु ।
३) शान्ति प्रक्रियामा आउनु पूर्वको पार्टी निति-पार्टी सरकारमा नजाने संयुक्त मोर्चा जाने-लाई कार्यन्वयन गर्नु , सरकार वा सदनमा एक ब्यक्ति दुई पटक भन्दा बढी नजाने निति बनाई कार्यन्वयन गर्नु र मुख्य कुरा २०६४ पछिको माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्नु र स्रोतबिहिन अस्वभाविक सम्पत्तिको राष्ट्रियकरण गर्नु ।
४) सामाजिक गतिको बिज्ञानलाई मान्दै विगत संघर्सबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप निरन्तर परिवर्तन र रुपान्तरणको पक्षपोसण गर्दै नेतृत्व प्रदान गर्नु ।
५) माओवादी पुनर्जागरण र पुनर्संरचना तथा पुनर्गठनको अभियान संचालन गर्दै सिङ्गो कम्युनिस्ट तथा समाजवादी शक्तिलाई त्यो दिशामा अग्रसर गराउन विगतका सकारात्मक पक्षलाई स्थापित गर्नु र नकारात्मक पक्षलाई परित्याग गर्नु ।
६) माओवादी तथा कम्युनिस्ट एकै परिवार भएको मान्यतासहित आपसी संघर्स सहायक र वर्ग दुश्मन (पुजीवाद,दलाल पुजीवाद) विरुद्धको संघर्स मुख्य बनाउनु ।
७) इतिहासको पुर्बी युरोप र पश्चिम बङ्गालको स्थितिमा नेपाल नजाओस् र इन्डोनेसिया र पेरु पनि नबनोस भन्नेमा सतर्क बन्दै आफैसग जन्मे हुर्केको मार्क्सवाद बिरोधि ब्यक्तिवाद विरुद्ध संघर्स गर्नु ।
नोट:- फेरि पनि आगामी परिवर्तनको नेतृत्व माओवादी कम्युनिस्ट समाजवादीले गर्न सम्भव छ र बनाउनुपर्छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.