बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी परियोजना नेपाललाई चीन विरोधी सैन्य अखडा बनाएर सार्वभौम र राज्यव्यवस्था कमजोर बनाउने खेल भएको जिकिर गर्दै उनले कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् । ‘सम्झौता पारित भएपछि त्यसलाई कार्यान्वयन गर्ने सरकारको दायित्वभित्र पर्ला । तर यस्ता विवादित मुद्दामा कुन बेला कार्यान्वयन गर्ने वा कुन बेला कार्यान्वयन नगर्ने भन्ने कुरा निधो हुनुपर्छ । अहिले नै कार्यान्वयन गर्नुपर्ने जरुरी किन ?’, उनले भने, ‘संसदबाट पास भइसकेकाले सरकार अप्ठ्यारो परिस्थितिमा छ । त्यसका बाबजुद पनि यसलाई कार्यान्वयन गर्न मिल्दैन । हामी कार्यान्वयन गर्न दिँदैनौँ । विप्लवजीलाई यसको कार्यान्वयनको संवेदनशीलताबारे हामीले नै जानकारी दिएका छौँ । उहाँको आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’ अमेरिकाले योजना सुरक्षाका नाममा दीर्घकालीन असर पर्ने गरी नयाँ प्रस्ताव स्टेट पार्टनरसिप एग्रिमेन्ट (एसपिए) ल्याएको उनको जिकिर छ । अमेरिकाले नेपालमा अमेरिकी होमगार्ड ल्याएर ब्यारेक खडा गर्ने योजना रहेको भन्दै उनले एमसीसी कार्यान्वयन भए अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाए । ‘योजना सुरक्षाको नाममा स्टेट पार्टनरसिप एग्रिमेन्ट (एसपीए) अमेरिकी होमगार्ड ल्याएर नेपालको उत्तरी क्षेत्रमा ब्यारेक खडा गर्ने प्रस्ताव गरेको छ । त्यसको दुईवटा उद्देश्य छ । पहिलो प्रतिआतंकवाद तालिम, दोस्रो डिज्यास्टर म्यानेजमेन्ट तालिम हो । नेपालमा त्यसको आवश्यकता किन पर्यो ? यी सबै नेपाललाई चीन विरोधी अखडा बनाउनका निम्ति प्रस्ताव हो ।’सरकारको तर्फबाट के हुन्छ भन्ने विषयमा पार्टीले जिम्मा लिन नसक्ने भन्दै उनले एमसीसी कार्यान्वयन हुनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको उनले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.