असार १५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुरमा पार्टीका कार्यकर्ताको धान रोपाइँमा श्रमदान गरि धान दिवस मनाएको छ ।
शनिबार नेकपाले तुलसीपुर -१३ का वडा सेक्रेटरी शंकर सीको धान रोपाइँमा श्रम गर्दै राष्ट्रिय धान दिवस मनाएको हो ।
पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सीको नेतृत्वमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी सहितको टोलि तुलसीपुर -१३ बखरियामा धान रोपाइँमा सहभागी भएका थिए ।
धान रोपाइँको नेतृत्व गर्नुभएका पार्टीका केन्द्रीय सदस्य एवम क्षेत्र नं.३ इन्चार्ज प्रदिप सीले धान दिवसको अवसरमा सम्पुर्ण श्रमिक वर्गलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो – ‘ आज धान दिवसको अवसरमा सर्वप्रथम सबै श्रमिक वर्गप्रती हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी धान दिवसको दिनमात्रै होइन प्रत्येक दिन श्रममा भाग लिइरहेका हुन्छौं । अहिले हाम्रो पार्टीको निती नै पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्नुपर्छ भन्ने छ । हामीले पार्टीको नयाँ आर्थिक स्वामित्वको अर्थप्रणाली अन्तर्गत बिघौबिघा जमीन लिजमा लिएर खेती गरिरहेका छौँ । हामी समाजवादको परिकल्पना सहित उत्पादनमा जोडिएका छौँ।’
नेत प्रदिपले उत्पादन बिना देशको समृद्धि नहुने भन्दै बृहत् उत्पादन मार्फत देशलाई आत्मनिर्भर बनाउने दिशामा नेकपा रहेको बताउनुभएको हो ।
धान रोपाइँमा संक्षिप्त प्रतिक्रिया दिदै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको नीति अनुसार असार १० गतेदेखी ३० गतेसम्म देशैभरी श्रम विदा भएकाले यो बेलामा दाङ पार्टी पनि जिल्लाका विभिन्न ठाउँमा सम्पुर्ण नेताकार्यकर्ताहरु उत्पादन भाग लिइरहेको बताउनुभएको हो ।
उहाँले कृषीलाई आधुनिकरण गर्दै व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
यस्तै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले गफ गरेर खाने राजनितिलाई नेकपाले अन्त्य गरेको बताउनुभएको थियो ।
उहाँले नेपालमा ठुलाठुला भाषण गर्ने तर श्रममा सहभागी नहुने पार्टी र तिनका नेताकार्यकर्ताले गर्दा मुलुक बर्बाद भएको समेत ठोकुवा गर्नुभएको हो ।
धान रोपाइँमा सहभागी पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सीले उत्पादनमा बृहत् क्रान्ती गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने महाअभियानमा नेकपा रहेको उद्घोष गर्नुभएको थियो ।
धान रोपाइँमा नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीका करिव १५ जना नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा दाङले यो वर्ष १३ बिघा जमिनमा जिल्लाको देउखुरी उत्पादन केन्द्र , घोराही उत्पादन केन्द्र र तुलसीपुर उत्पादन केन्द्र नै बनाएर धान खेती गर्न लागेको जनाएको छ ।
पार्टीले जिल्लामा पार्टीका जिल्ला इन्चार्ज सविन सीको नेतृत्वमा उत्पादन बोर्ड समेत गठन गरेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.