चितवनमा विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव

डेली न्युजराप्ती       १६ असार २०८१ १४:५७ मा प्रकाशित     144 No Comments

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको जमिनमा धान रोपेर रोपाइँ महोत्सवको उद्घाटन गरेका छन् ।

नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी-४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाईं महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी रहँदै महासचिव विप्लवले धान रोपेर सबैलाई कृषि कर्ममा लाग्न अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै महासचिव विप्लवले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामुहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरु सञ्चालन गरिएको बताए ।

राष्ट्रिय स्वाधीनतासहित वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि नेता कार्यकर्ताहरू पनि आत्मनिर्भर हुनु जरूरी रहेकोमा जोड दिँदै महासचिव विप्लवले केन्द्रीय उत्पादन इकाइको रोपाईंमा दलको दायराबाट माथी उठेर खुला मनसहित सहभागी सबैमा धन्यवाद समेत व्यक्त गरे ।

धान रोपाईं कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य सन्देश पौडेल (सी) र अन्य केन्द्रीय नेताहरु एवं माडीका जनप्रतिनिधि, राजनैतिक सामाजिक अगुवा र स्थानीयबासीहरु समेत सहभागी रहेका थिए ।

हाल नेकपाले कपिलवस्तुको शिवराज नगरपालिकामा मुख्य कार्यालय रहनेगरी वैधानिक रुपमा जनश्रम कृषि सहकारी दर्ता गरी माडीसहित देशका विभिन्न स्थानमा कृषिजन्य उत्पादन इकाईहरु सञ्चालन गरिरहेको छ ।
नेकपाले देशका विभिन्न ठाउँमा धान खेती लगायत अन्य कृषि कार्य गरिरहेको छ ।
यस्तै पोखरामा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, सुदूरपश्चिम इन्चार्ज रणविर सी लगायतका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेताहरू रोपाइँमा व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार