हेमन्तप्रकाश वली ।
असार २४,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्य दिवंगत नेता शिव सीको स्मृतिमा बृक्षारोपण गरिएको छ ।
पार्टीले अवलम्बन गरिरहेको मृत्यु संस्कार अनुसार मृतकको स्मृतिमा मंगलवार मृतकको आफ्नै घर परिषरमा फल , फुल र जडिबुटीका बिरुवाहरु रोपिएको हो ।
नेकपाले पार्टीको नवौं महाधिवेशनबाट नयाँ सी जाती र त्यसको आफ्नै मृत्यु संस्कार सी संस्कार पास गरेर देशव्यापी नेताकार्यकर्ता र जनताको बिचमा प्रयोग गरिरहेको छ ।
सी संस्कार अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको सम्झना सार्वजनिक स्थल , घर आँगनमा त्रीरोपण (फल , फुल र जडिबुटी)का बिरुवाहरु रोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिव , असहाय , अशक्त तथा बृद्धबृद्धालाई खाद्यान्न , लत्ताकपडा वितरण गर्ने , चौथो दिन मृतकको सम्झनामा अक्षयकोष स्थापना गर्ने र अन्तिम दिन अर्थात पाँचौ दिन मृतकको सम्झनामा स्मृति सभाको आयोजना गरि मृतकले समाज , राष्ट्र र परिवारका लागि पुर्याएको योगदानको चर्चा गर्ने नीति रहेको नेकपाले जनाएको छ ।
सोही नीति अनुरुप मंगलबार असार २२ गते हृदयघातका कारण निधन हुनुभएका नेता शिव सीको सम्झनामा अम्बा , सितलचिनी , धोबी सल्ला , बारमासे फुलहरु लगाएतका विरुवाहरु रोपण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले सी संस्कार अनुसार गरिएको बृक्षारोपणका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै यो सरल , सहज र वैज्ञानिक संस्कृति भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘मृत्यु संस्कारलाई बोझ र झण्झटिलो बनाउनु हुँदैन । मान्छेको जैविक शरीर विघटन भइसकेपछी त्यसको सम्झनामा मनाइने शोकहरु सरल , सहज र वैज्ञानिक हुनुपर्दछ । सी संस्कार नै आजको वैज्ञानिक संस्कृति हो । कम्युनिस्टहरुले पुरानो मृत्यु संस्कारको आलोचना मात्रै गर्ने तर वैज्ञानिक र उत्तम विकल्प दिन नसकेपछी हामिले पार्टीको महाधिवेशनबाट सी जाती त्यसको आफ्नै संस्कार लागू गरिरहेका छौँ । हामिले मृत्यु संस्कारलाई पाँच दिनसम्म मनाउने गरेका छौँ ।’
बृक्षारोपण कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी तुलसीपुरका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।
बृक्षारोपण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य धर्ती सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य प्रतिरोध सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी , जिल्ला सचिवालय सदस्य नवीन सी , प्रकृति सी लगाएतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेता शिव सीको ५२ वर्षको उमेरमा असार २२ गते ७:५० बजेतिर हृदयघातका कारण अकल्पनीय , असमायिक दुखद निधन भएको थियो ।
उहाँकि आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकि जिवनसंगिनि सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
दिवंगत नेता शिव सीका दुई छोरी छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.