दाङ। नेत्रविक्रम चन्द (विप्लव)ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिप्रति कडा आपत्ति जनाउँदै उक्त कदमलाई निरंकुश प्रवृत्तिको अभिव्यक्ति बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्धको विरोधमा भइरहेका आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका हुन्।
उनले विद्यार्थी संगठनहरूलाई चेतना, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहकका रूपमा व्याख्या गर्दै यस्ता संगठनमाथि अंकुश लगाउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत हुने बताए। “आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्नुपर्छ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवसमेत रहेका विप्लवले नेपालको इतिहासमा भएका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै सरकारको पछिल्लो सोचले ती योगदानलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए।
उनले सरकारप्रति लक्षित गर्दै जुन संस्था र शक्तिको बलमा स्थापित परिवर्तनहरूलाई कमजोर पार्ने प्रयास नगर्न चेतावनी दिएका छन्। साथै, आन्दोलनलाई अझ सशक्त बनाउँदै अघि बढ्न उनले विद्यार्थी संगठनहरूलाई आह्वानसमेत गरेका छन्।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.