सहिद कमरेड महानको स्मृति दिवसमा श्रद्धाञ्जली तथा स्मृति सन्देश

डेली न्युजराप्ती       १३ जेष्ठ २०८३ १०:५५ मा प्रकाशित     129 No Comments

आजकै दिन २०७६ साल जेठ १२ गते काठमाडौंमा राज्यद्वारा लगाइएको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा सहादत प्राप्त गर्नुहुने दाङ जिल्ला बबई गाउँपालिका-३ धनुबाँसकोटका जनपक्षीय योद्धा गादिराम राणा क.महान सहित ५ जना सहिदहरूको स्मृति दिवस हो।
यस ऐतिहासिक तथा भावनात्मक दिनमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिद क. महानको सम्झनामा सञ्चालित सहिद महान स्मृति सञ्चार गृह प्रा.लि. तुलसीपुर-५ दाङ परिवारले गहिरो सम्मान प्रकट गर्दछ।

राजनीतिक आस्था, परिवर्तनको सपना र उत्पीडित जनताको पक्षमा संघर्षरत रहँदा आफ्नो जीवन उत्सर्ग गर्ने सहिद क. महान नेपाली क्रान्तिकारी आन्दोलनका साहसी, निष्ठावान र समर्पित योद्धाका रूपमा सदैव स्मरणीय रहनुहुनेछ। उहाँले देखाउनुभएको साहस, त्याग र प्रतिबद्धताले आज पनि न्याय, समानता र परिवर्तनको पक्षमा उभिने सबैलाई प्रेरणा दिइरहेको छ।

प्रतिबन्ध र दमनका विरुद्ध आवाज उठाउने क्रममा भएको उक्त घटनाले नेपाली राजनीतिक इतिहासमा गहिरो छाप छोडेको छ। जनअधिकार र स्वतन्त्रताका पक्षमा गरिएको संघर्षमा जीवन बलिदान गर्ने सहिदहरूको सपना अझै अधुरै रहेको अनुभूति आज पनि समाजले गरिरहेको छ।

सहिद क. महानको स्मृतिलाई जीवित राख्ने उद्देश्यले सञ्चालित डेलिन्युजराप्ती अनलाइन सधैं जनताको आवाज, सत्य सूचना र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गर्दछ।
सञ्चार माध्यम केवल समाचार सम्प्रेषण गर्ने साधन मात्र नभई समाज रूपान्तरणको चेतनाशील माध्यम पनि हो भन्ने विश्वासका साथ हामी सहिदहरूको आदर्शलाई आत्मसात गर्दै अगाडि बढिरहेका छौं।
यस स्मृति दिवसका अवसरमा सहिद क. महान सहित सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहकर्मीहरूप्रति गहिरो सम्मान प्रकट गर्दछौं।

“सहिदहरूको सपना, संघर्ष र बलिदान कहिल्यै व्यर्थ जाने छैन।”

सहिद महान स्मृति सञ्चार गृह प्रा.लि. तुलसीपुर-५ ,दाङ
एवम डेलिन्युजराप्ती अनलाइन परिवार

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार