आज २४औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस

डेली न्युजराप्ती       १४ जेष्ठ २०८३ ०७:४१ मा प्रकाशित     150 No Comments

दाङ। जनपत्रकार तथा प्रगतिशील साहित्यकार कृष्णसेन इच्छुक को २४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक दल, पत्रकार संगठन, साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले स्मरण सभा, श्रद्धाञ्जली कार्यक्रम, अन्तरक्रिया तथा विचार गोष्ठी आयोजना गरेका छन्।
पटक–पटक गरी करिब दश वर्षसम्म जेल जीवन बिताउन बाध्य पारिएका इच्छुकलाई तत्कालीन राज्य पक्षले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखेको थियो। हिरासतमा अमानवीय ढङ्गले यातना दिइएपछि २०५९ साल जेठ १३ गते उहाँको हत्या गरिएको थियो।
इच्छुक नेपाली जनवादी पत्रकारिता, साहित्य र सांस्कृतिक आन्दोलनका एक अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले तत्कालीन शोषण, अन्याय र दमनविरुद्ध कलममार्फत सशक्त आवाज उठाउँदै जनताको पक्षमा निरन्तर योगदान पुर्‍याउनुभएको थियो।
स्मृति दिवसको अवसरमा विभिन्न वक्ताहरूले इच्छुकको हत्या नेपाली प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भएको उल्लेख गर्दै सत्य, न्याय र परिवर्तनका लागि उहाँले देखाएको साहसिक योगदान सधैं प्रेरणाको स्रोत रहने बताएका छन्।
देशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागीहरूले इच्छुकको अधूरो सपना पूरा गर्न जनपक्षीय पत्रकारिता, सामाजिक न्याय र परिवर्तनको आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार