सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक

डेली न्युजराप्ती       १ असार २०८३ २१:४० मा प्रकाशित     136 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिवेशन आयोजक समितिको सचिवालय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक, सांगठनिक तथा संघर्षसम्बन्धी तीनवटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महासचिवद्वारा प्रस्तुत प्रस्तावमाथि सचिवालय सदस्यहरूबीच गम्भीर छलफल भइरहेको छ। बैठकले वर्तमान राजनीतिक परिस्थिति, संगठन अधिवेशनको तयारी तथा आगामी संघर्षका कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले वर्तमान सरकारले सुकुम्बासी, भूमिहीन तथा गरिब नागरिकमाथि दमन र ज्यादती गरिरहेको आरोप लगाउनुभयो। उहाँले जनताका आधारभूत समस्याहरू समाधान गर्न असफल भएको सरकारले विभिन्न विवादास्पद विषय र काण्डहरूबाट जनताको ध्यान मोड्ने प्रयास गरिरहेको दाबी गर्नुभयो।

विप्लवले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउँदै त्यसले राष्ट्रिय स्वाभिमानमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। उहाँले राष्ट्रियता, जनजीविका र जनअधिकारमाथि भइरहेका आक्रमणविरुद्ध देशव्यापी प्रतिरोध आवश्यक भएको धारणा राख्नुभयो।

पार्टीका अनुसार सचिवालय बैठकले जनविरोधी नीतिका विरुद्ध संघर्षका कार्यक्रम तय गर्नुका साथै संगठन अधिवेशनलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने विषयमा समेत आवश्यक निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार