कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी

डेली न्युजराप्ती       ६ असार २०८३ ०९:३९ मा प्रकाशित     496 No Comments

तुलसीपुर, ५ असार । नेकपा (माओवादी) का अधिवेशन आयोजक समिति सदस्य सविन पोख्रेलले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताको नाममा भइरहेका सिद्धान्तहीन गठजोड र नेतृत्वविरुद्धका गतिविधिप्रति गम्भीर असहमति जनाउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोख्रेलले नेपालमा चलिरहेको कम्युनिस्ट आन्दोलनको नवीकरण, पुनर्गठन र एकताको बहसलाई विभिन्न स्वार्थ समूह, अवसरवादी व्यक्तिहरू तथा असफल राजनीतिक शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाउनुभयो।
उहाँले विगतमा पटक–पटक सत्तामा पुगेर पनि जनताको विश्वास गुमाएका दल र नेतृत्वहरूले अहिले नयाँ गठबन्धनलाई कम्युनिस्ट एकता र पुनर्गठनको नाम दिएर जनमत प्रभावित पार्न खोजेको उल्लेख गर्नुभयो। यस्ता सिद्धान्तहीन र उद्देश्यहीन गठजोडप्रति जनतामा कुनै आशा, भरोसा वा सरोकार नरहेको उहाँको दाबी छ।
पोख्रेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः जनताको विश्वासिलो शक्ति बनाउन नयाँ विचार, कार्यक्रम, कार्यदिशा र नेतृत्व आवश्यक रहेको बताउँदै असफल भइसकेका शक्तिहरूबीचको स्वार्थपूर्ण मिलनले आन्दोलनलाई कुनै निकास दिन नसक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले पछिल्लो समय विभिन्न कम्युनिस्ट पार्टीका नेतृत्वविरुद्ध चलाइएका घेराबन्दी र आलोचनात्मक अभियानहरूलाई नीतिगत बहस नभई नेतृत्व प्रतिस्थापनको षड्यन्त्रका रूपमा चित्रण गर्नुभयो। कम्युनिस्ट आन्दोलनमाथि भइरहेको नव–दलाल पुँजीवादी हमलालाई टेवा पुग्ने गरी सञ्चालन गरिएका कथित एकता, पुनर्गठन र नेतृत्व परिवर्तनका बहसप्रति इमानदार कम्युनिस्टहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ।
पोख्रेलले स्पष्ट वैचारिक दृष्टि, कार्यक्रम, कार्यशैली र नेतृत्व संरचनाविनाको एकता वा पुनर्गठन वास्तवमा विलय, विचलन र सहवरण मात्र हुने जिकिर गर्नुभयो।
उहाँले वर्तमान परिस्थितिमा नयाँ कम्युनिस्ट घोषणापत्र, समाजवादी कार्यक्रम, कम्युनिस्ट आचरण र व्यवहारको विकाससँगै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको बहसलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेकपा (माओवादी) ले आगामी असोजमा हुने महाधिवेशनमार्फत कम्युनिस्ट आन्दोलनको नयाँ मार्ग उद्घाटन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।
पार्टीभित्र देखिएका पदमुक्ति, राजीनामा तथा अन्य गतिविधिबारे टिप्पणी गर्दै पोख्रेलले संगठनविरोधी र विघटनकारी गतिविधिलाई कारबाहीको दायरामा ल्याउनु पार्टीको बाध्यता भएको बताउनुभयो। रुपान्तरण हुन तयार व्यक्तिहरू अझ परिपक्व र सशक्त भएर पुनः जिम्मेवारीमा फर्किन सक्ने तर विचलनकारी प्रवृत्तिका मानिसहरू आन्दोलनबाट पलायन हुने उहाँको भनाइ थियो।
पोख्रेलले कम्युनिस्ट सिद्धान्त, आचरण र श्रममा आधारित जीवनशैली अपनाइरहेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध लगाइएका आरोपहरू तथ्यहीन रहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका राजीनामा र आरोप–प्रत्यारोप क्षणिक चर्चा बाहेक दीर्घकालीन प्रभाव पार्न नसक्ने उल्लेख गर्नुभयो।
साथै, पार्टी छोड्ने वा पदबाट हटाइएका व्यक्तिहरूले आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनीहरूलाई धन्यवाद दिन सकिने भए पनि पार्टीको वैचारिक तथा राजनीतिक दिशाबाट विचलित गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार