काठमाडौँ। सरकारले नवल खड्काको निर्माण तथा निर्देशन बनेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।
खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको हो । “थप छलफल गर्नु पर्छ भन्दै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएन” निर्माता तथा कलाकारसमेत रहेका निर्देशक नवल खड्काले भने।
सेन्सर बोर्डसँगको अनौपचारिक तथा औपचारिक कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने अडान आफूले राखेको खड्काले जानकारी दिए। “सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने मैले अपेक्षा गरेको छु,” निर्देशक खड्काले भने, “नदिएको खण्डमा न्यायका लागि अदालत जानेछौँ । यसमा जनता तथा दर्शकको साथ सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ।”
उनले कुनै पनि दृश्य वा सम्वाद नकाटी चलचित्र दर्शकसामु पुर्याउने उनले प्रतिबद्धता जनाएका छन्। खड्काले अधिकांश चलचित्र देशभक्तिपूर्ण र परिवर्तनका लागि बनाउँदै आएका छन्। शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको ‘काँडेतार’ चलचित्रका निर्माता माकिको राई र अन्जु केसी छन्। कार्यकारी निर्माता गायिका सत्यकला राई हुन्। श्री श्रेष्ठ को द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे)को सम्पादन रहेको छ। कलाकारमा नवलसँगै गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादवलगायत छन्।
चलचित्रकर्मी खड्काले यस अघि नै चलचित्र भिमदत्त र दशगजा बनाईसकेका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.