नेकपाका नेता सबिनको टिप्पणी: दाङमा माके प्रवेश गरेकाहरु ड्यामेज भएका टायर हुन्

डेली न्युजराप्ती       ९ आश्विन २०८० १९:१३ मा प्रकाशित     701 No Comments

हेमन्त प्रकाश ओली ।

असोज ९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सबिन सीले दाङमा माओवादी केन्द्र प्रवेश गरेकाहरु ड्यामेज भएका टायर भएको टिप्पणी गरेका छन् ।

आज मंगलबार नेकपा पश्चिम दाङको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता सविनले उक्त टिप्पणी गरेका हुन् ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता सबिनले भने – ‘अहिले माओवादी केन्द्र प्रवेश गरेकाहरु ड्यामेज भएका टायर हुन् । ड्यामेज भएका टायर इन्जन सिज भएको गाडीमा आडेश लागेका हुन् । माओवादी केन्द्र पार्टी इन्जन सिज भएको गाडी हो । त्यही इन्जन सिज भएको गाडीमा केही भगौडाहरु जो हाम्रो पार्टीको सदस्यता समेत नविकरण नगरेका केही व्यक्तिहरुले हाम्रो पार्टीको आडमा माओवादी केन्द्रमा प्रवेश गरेका रहेछन् ।’

माओवादी केन्द्रको इन्धन फर्ने हो , त्यसको स्टेरिङ हामिले चलाउने हो , नेता सविनले थपे‘ अहिले माओवादी केन्द्र र हाम्रो पार्टीबिच एकताको चर्चा छ । हामी माओवादी केन्द्रसंग मात्रै कुरा होइन सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न चाहान्छौ । हामी हाम्रो पार्टीको नीति ,नेतृत्व , एजेन्डामा सबैसंग एकताबद्ध हुने नै हो । पहिला माओवादी केन्द्रको चर्चा छ पहिले त्यो पार्टीको इन्जन फेर्ने हो र त्यसको स्टेरिङ हामिले नै चलाउने हो । पहिला त हामिले माओवादी केन्द्रको इन्जन फेर्नैपर्नेछ ।’

समाजवादी मोर्चाको प्रसंगमा बोल्दै नेता सविनले प्रचण्डसंग मोर्चा बनेको भएपनी त्यहाका तस्करहरुसंग नबनेको समेत बताए । उनले भने– ‘समाजवादी मोर्चा प्रचण्डसंग बनेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्षसंग मोर्चा बनेको हो , त्यो पार्टीभित्र रहेका इमानदार नेताकार्यकर्तासंग मोर्चा बनेको हो । माओवादी केन्द्रभित्र रहेका तस्करहरुसंग मोर्चा बनेको होइन । हाम्रो मोर्चा तस्करहरुसंग होइन । हामिले समाजवादका लागि समाजवादी मोर्चा बनाएका हौं । पार्टी एकतापनि हाम्रो बिचार , हाम्रो नीति , हाम्रो नेतृत्व र हाम्रो एजेन्डामा जान तयार भए पार्टी एकता हुन्छ । पार्टी एकता आजको भोलि हुँदैन किनभने माओवादी केन्द्रभित्र लोभिपापीहरु छन ।’

नेता सविनले समाजवादी मोर्चा मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाउन साथै जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेका बेला त्यसको विकल्पमा समाजवादी व्यवस्था निर्माण गर्न मोर्चा बनेको स्पष्ट पारेका हुन् ।

एक अर्को प्रसंगमा बोल्दै नेता सविनले राष्ट्रिय स्वाधीनताको लडाइँ पेचिलो बन्दै गएको बताए । उनले भने – ‘अमेरिकाले नेपालको सेनाको प्रमुखलाई आइपिएसको कार्यक्रम सहभागी बनाएर प्रभावमा पारेको छ । प्रचण्डले चिनमा गएर नेपाल कुनैपनी सैन्य गठबन्धनमा सहभागी नहुने भनिरहदा नेपाली सेनाका प्रमुख आइपिएसको कार्यक्रममा सहभागी भएका छन् । एकातिर दलालहरुको मोर्चा बन्दै छ भने अर्कोतिर देशभक्तहरुको मोर्चापनि बलियो वन्दै छ । यी सबै घटनाक्रमले राष्ट्रिय स्वाधीनताको लडाइँ पेचिलो बन्दैछ ।’

नेता सविनले नेपालको दलाल पुजीवादी संसदीय व्यवस्था असफलसिद्ध भइसकेकाले अब नेकपाको नेतृत्वमा मुलुकमा समाजवादी व्यवस्था स्थापनाको विकल्प नरहेको बताए ।

मङ्गलबार तुलसीपुरमा सम्पन्न नेकपा पश्चिम दाङको छैठौं बैठकले एमसिसी विरुद्ध जिल्लाव्यापी संघर्ष चर्काउने , जिल्ला /पालिकामा अन्तर्क्रीया गर्ने , जनवर्गीय संगठन , मोर्चाको भेला/सम्मेलन गर्ने , पार्टी सदस्यहरु सम्मको प्रशिक्षण गर्ने , भ्रष्टाचार , अनियमितता , कमिसनखोरका विरुद्ध संघर्ष गर्ने लगाएतका निर्णयहरु गरेको जनाइएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीको आतिथ्य रहेको थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन नेकपा पश्चिम दाङका जिल्ला सचिव निर्मल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार