काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले एमसीसी नेपाली जनता र देशका विरुद्धमा रहेकाले यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित बनेको बताए ।
विरोधसभाका प्रमुख वक्ता रहेका महासचिव विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो । नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको महासचिव विप्लवले बताए ।
देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको विप्लवले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । जनतामा विश्वास गर्ने र जनतामा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्न उनले बताए । जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै महासचिव विप्लवले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनिराखे ।
नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने बताए । उनले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने बताए । उनले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’
महासचिव विप्लवले देशको माया हुने हरेक नागरिकले एमसीसीका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि मूल्यमा नेपाली जनतामाथि एमसीसी थोपर्न दिनेछैनौँ ।’
विप्लवले भने, ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्याेँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’ -eratokhabar
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.