जनताहरु हामितिर फर्किएका छन् भने दलालहरुको भागाभाग छ : नेता प्रदिप

डेली न्युजराप्ती       २५ आश्विन २०८० १८:२५ मा प्रकाशित     190 No Comments

हेमन्त प्रकाश ओली ।

असोज २५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले जनताहरु पार्टीतिर फर्किएको बेला दलालहरुको भागाभाग भएको बताएका छन् ।

बिहिवार नेकपा तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको भुह्यारथानमा आयोजित नगर स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

नगर स्तरीय राजनैतिक एवम वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता प्रदिपले भने– ‘ हामिले पार्टी जनताको सेवा गर्न बनाएका हौं । हामी जनताको असल अभिभावक बन्दैछौ । हामिले पार्टी बनाएदेखी नै आम श्रमिक  जनताहरु पार्टीतिर फर्किएका छन् भने दलालहरुको भागाभाग छ । कम्युनिस्ट पार्टीतिर श्रमिक जनतानै हुनुपर्छ भ्रष्ट , तस्कर , माफिया , घुसखोर , सुदखोर , जनतामा लुटखसोट मच्चाउने सबै भागाभाग भएकै राम्रो हो । हामी जनताका विरुद्ध आउने जुनसुकै शक्तिका विरुद्ध लड्न तयार भएका छौ त्यसैले जनताले हामिलाई विकल्पको रुपमा हेरेका छन् ।’

दिनप्रतिदिन राष्ट्रिय राजनीति बदलिदैछ ,उनले थप भने,‘ एमसिसी मार्फत अमेरिका नेपालको दैलोमा आएको छ । देशमा छिनछिनमा राजनीतिक वातावरण परिवर्तन हुँदैछ । अबको विकल्पको रुपमा जनताले हामिलाइ हेरिरहेका छन् । संसदीय व्यवस्था असफल भइसक्यो । प्रचण्ड-माधवहरुले समेत यो संसदीय व्यवस्था टिक्दैन भनेर समाजवादका लागि रुपान्तरण भएर समाजवादी मोर्चामा आइसके । हामिले भनेकै कुरा सत्य सावित भएको छ , यो व्यवस्था असफल भएको छ । अबको विकल्पमा समाजवादका लागि जनतालाइ संगठित गर्नुपर्छ त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरु समाजवादको प्रचारकर्ताका रुपमा गाउँगाउँमा जानुपर्दछ ।’

नेता प्रदिपले पार्टीका नेताकार्यकर्तालाई प्रशिक्षण दिदै समाजवादी मोर्चाको बारेमा भ्रमित नहुन अपिल गरे । समाजवादी मोर्चा संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था निर्माणका लागि बनेको जिकिर गरेका थिए ।

जनताहरु हामीप्रती आकर्षित छन् , उनले थपे, ‘हामी जनताको बिचमा पुग्न सकेका छैनौं । जनयुद्धमा जस्तै एकपटक पुर्णकालिन भएर जनताको सेवामा जुट्नुपर्ने छ । जनतालाइ अनेकौं घेराबन्दी र भ्रममा पारिदैछ । यसलाइ निस्तेज पार्नु कम्युनिस्ट पार्टीको दायित्व हो । जनतालाई आफ्नो भाग्य र भविस्यका लागि एकपटक निर्मम ढंगले क्रान्तिमा सहभागि हुन अपिल गर्नुपर्छ । नेपाली जनता आफ्नो अधिकारका लागि सधै लड्न तयार हुने जनता हुन् ।’

प्रशिक्षणको क्रममा नेता प्रदिपले पार्टीले अब एमसिसी विरुद्ध संघर्ष केन्द्रित गर्ने बताउदै गाउँगाउँ राष्ट्रघाती एमसिसी सम्झौताको  विरुद्ध भण्डाफोर अभियान चलाउन निर्देशन समेत दिए।

पार्टीको तुलसीपुर नगर स्तरीय राजनैनिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सी ,पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा पश्चिम दाङका सचिवालय सदस्य एवम पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी , पार्टीका जिल्ला सचिवालय सदस्य एवम बबई गाउँकमिटिका इन्चार्ज उज्वल सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओली अगाएतको आतिथ्य रहेको थियो ।

अनेमसङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पश्चिम दाङ अध्यक्ष प्रकृति सीको स्वागत मन्तव्यबाट सुरु भएको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सहजीकरण नेकपा पश्चिम दाङकी सदस्य अरुणा सीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार