ईपिएस आवेदन भर्न नपाएकाहरुको आन्दोलन: मन्त्रीको गाडी आगो लगाइयो , गोलि लागेर एकको मृत्यु

डेली न्युजराप्ती       १३ पुष २०८० १४:४२ मा प्रकाशित     185 No Comments

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी  शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् । 

पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको हो । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए ।  आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले बताए । 

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।

अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । उसो त आन्दोलनकारीले मन्त्रीको बा२झ ५८६१ नम्बरको गाडी जलाउँदा अर्को एक सार्वजनिक बसमा पनि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट बा५ख ८७१७ नम्बरको बस क्षतिग्रस्त बनेको छ । अहिले पनि कोटेश्वर–कलंकी सडक अबरुद्ध छ । 

यस्तै ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताएका छन् ।

पाठकका अनुसार घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए । 

उनलाई शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले  जानकारी दिए । 

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रहरीले प्रदर्शनमा संलग्न १० जनालाई पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका छन् । ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका हुन् । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै आन्दोलन थालेका हुन् ।

उनीहरूले बालकुमारीसहित सो क्षेत्रको सडक अवरुद्ध  पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् ।

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

१८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको हो ।

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार