सल्यानमा पनि बन्यो समाजवादी मोर्चा

डेली न्युजराप्ती       १४ फाल्गुन २०८० ०७:३८ मा प्रकाशित     81 No Comments

सल्यान । सल्यानमा समाजवादी माेर्चा घाेषणा भएको छ। जिल्लामा क्रियाशील समाजवादी माेर्चाका घटकहरु महासचिव विप्लव सी नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी, पुष्प कमल दाहाल “प्रचण्ड” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) हरुले साे माेर्चा घाेषणा गरेका हुन । जिल्ला सदरमुकाम खलंगा बजारमा समाजवादी माेर्चाकाे घाेषणा कार्यक्रम गरेर पार्टीहरुले सल्यानमा साे माेर्चा घाेषणा गरेकाे नेकपा सल्यानले बताएको छ। माेर्चा घाेषणा गर्न आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य आधार सीले देशकाे राष्ट्रियता जाेगाउन समाजवादी माेर्चा बनेको बताउनु भयो । दलाल पुँजिवादले देश निल्नै लाग्दा राष्ट्रियतामा खतरा आएपछि समाजवादी माेर्चा बनेको उहाँले बताउनु भयो ।कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेतले अबको नेपालकाे अन्तरविराेध समाजवादी माेर्चाले हल गर्ने बताउनु भयो । देशमा राजनीतिक रुपमा ठूलो संकट आएकोले त्यसलाई हल गर्ने दायित्व माेर्चाकाे रहेको उहाँले बताउनु भयो ।कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सदस्य उदय बाेहराले देशका सबै वामपन्थी तथा कम्युनिस्टहरु एकजुट हुने हाे भने समाजवाद धेरै टाढा नरहेको बताउनु भयो । समाजवाद भन्नु नै दलाल पुँजिवादकाे अन्त्य हुनु हाे उहाँको भनाई थियोे ।कार्यक्रममा बाेल्दै नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार तथा संविधान सभा सदस्य उमाकान्त शर्माले एक्लाएक्लै लडेर काेहि सफल हुँदैन त्यसैले मिलेर लडनु पर्ने बताउनु भयो ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सी,पार्टीका दक्षिण जिल्ला सचिव वीरबहादुर सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी, नेकका( एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार दामोदर शर्मा, प्रेमा अधिकारी लगायत नेताहरु अथितिकाे रुपमा उपस्थित हुनुहुन्थ्यो ।

समाजवादी माेर्चाकाे चक्रिय प्रणाली अनुसार नेतृत्व रहने गरि हाल समाजवादी माेर्चा सल्यानका संयाेजक नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष कृति बहादुर पुन रहनु भएको छ। माेर्चाका सदस्यहरु, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल सी, नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हरि के.सी., नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य मान बहादुर मल्ल,नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव रमेश गाैतम र माेर्चाका सदस्य सचिव नेपाल कम्युनिस्ट पार्टी उत्तर सल्यानका सचिव मदन सी रहनु भएको छ।

कार्यक्रम माेर्चाका जिल्ला संयाेजक कृति बहादुर पुनकाे अध्यक्षता, सदस्य सचिव मदन सीकाे संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई माेर्चाका सदस्य हरि के.सी.ले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार