इमानदार माओवादीहरुको चाहना विप्लवको नेतृत्वमा माओवादी पार्टीहरुको एकता होस भन्ने छ : सविन

डेली न्युजराप्ती       ८ जेष्ठ २०८१ १५:५० मा प्रकाशित     331 No Comments

नेकपा राप्ती गाउँकमिटीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठक सम्पन्न

हेमन्त प्रकाश वली ।

जेठ ८ , दाङ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले इमानदार माओवादीहरुको चाहना विप्लवको नेतृत्वमा माओवादी पार्टीहरुको एकता होस भन्ने रहेको बताउनुभएको छ ।

मंगलबार पार्टीको तेस्रो आवधिक योजना अन्तर्गत राप्ती गाउँपालिका कमिटीको प्रथम पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

इमानदार माओवादीहरुको चाहना माओवादीहरु एक भइदिए हुन्थ्यो भन्नेछ , उहाँले भन्नुभयो – ‘ केही माओवादीहरु कामै नलाग्ने गरि बिग्रेका छन् तिनको कुरा नगरौं तर इमानदार माओवादी नेताकार्यकर्ताहरुको चाहना अब विप्लवले माओवादी पार्टी हाक्नु भए हुन्थ्यो भन्नेछ । हामीले सबैका सुझाब ग्रहण गरिरहेका छौँ , आम सहिद परिवार , वेपत्ता परिवार , घाइते योद्धाहरुको चाहना जनयुद्धको अधुरो सपना पूरा होस , विप्लवको नेतृत्वमा सबै माओवादी पार्टीहरु एकता गरि मिलेर अघि बढुन भन्ने छ । हामी नेपाली जनताका प्रतिनिधि हौं , जनताको सुझाबप्रती सकारात्मक छौँ । त्यसैले अहिले हामिले माओवादी धाराकाबिचमा एकताको ढोका खुल्ला गरेका छौँ तर एकताका लागि नीति , नेतृत्व हाम्रो हुनुपर्छ भन्ने आम माओवादी नेताकार्यकर्ताको सुझाब छ । माओवादी मात्रै होइन अब नेपालका सम्पुर्ण कम्युनिस्टहरुलाई एकतावद्ध गर्दै जानुपर्छ , मुद्दा मिल्नेहरुसंग सहकार्य , बिचार मिल्नेहरुसंग एकता गर्दै जानुपर्छ । कम्युनिस्ट जनमतको रक्षा आजको आवश्यकता हो ।’

नेता सविनले ०८४ को निर्वाचनलाई पार्टीको संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने समेत वताउनुभएको हो । ‘नेकपाले चुनाव प्रयोग गर्ने भनेपछी राजनीति तरंगित बनिरहेको छ ।’, बैठकमा बोल्दै उहाँले भन्नुभयो , ‘ संसदीय चुनावलाई नेपालका कम्युनिस्टहरुले परम्परागत ढंगले मात्रै बुझिरहेका छन् । यहाँका कम्युनिस्टहरुले चुनावलाई बहिष्कार र प्रयोग बाट मात्रै बुझेका छन् । प्रयोग भनेपछी चुनावबाट मात्रै सम्भव छ भन्ने अनि अन्त्यमा संसोधनवादि बाटो हुँदै यहि संसदीय सत्तामा विसर्जन हुने खतरा छ भने अर्को फेरि बहिष्कारको नाममा क्रान्तिका ठुला कुरा गर्ने तर जनतामा जान नसक्ने वा जड , यान्त्रिक बन्ने खतरा पनि छ । तर हाम्रो पार्टीले चुनावलाई हेर्ने दृष्टिकोण बदलेका छौँ । आजको दुनियाँमा चुनावलाई कार्यनीति र रणनीतिको मात्रै बिषय नबनाएर यसलाई क्रान्तिको समग्र मोर्चाको रुपमा बुझ्नुपर्दछ । त्यसैले पार्टी नेताकार्यकर्ता कोहिपनी भ्रमित हुनुपर्दैन चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्दछ ।’

नेता सविनले अब जनताले संसदवादीहरुको दिनदिनैको झगडा हेरेर नबस्ने समेत बताउनुभएको हो । ‘ दिनदिनै संसदवादीको झगडा देखेर नेपाली जनता वाक्कदिक्क भइसकेक छन् । अहिले संसदमा भईरहेको तान्डव हेर्नुस त , के हो यो ? यहि कुकुर झगडाका लागि जनताले जिताएर पठाएका हुन त ? यी संसदवादीहरु रातदिन बिदेशी मालिकको सेवा गर्दै देश बेच्न बाहेक अरु जानेका छैनन् ।’, उनले भने, ‘ अब जनता यो झगडा हेरेर बस्नेवाला छैनन् । हामिले भनेको सहि सावित भएन त ? यो व्यवस्था चल्दैन भनेका थियौँ , आज घाम जत्तिकै छर्लङ्ग भएको छ । हामिले समस्याको समाधान पनि दिएका छौँ । यो संसदीय व्यवस्थाले जनताको प्रतिनिधित्व गर्न सक्दै सकेन अब समाजवादमा जाऔँ ।’

नेता सविनले संसदीय व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवाद स्थापना अनिवार्य भएको ठोकुवा गर्नुभएको थियो ।

बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सीले बिश्वभरी आतंक मच्चाइरहेको अमेरिकी साम्राज्यवादले नेपालमा पनि शान्ती भाड्न अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेकाले त्यसको प्रतिरोध गर्न सबै कम्युनिस्ट , समाजवादीहरु एकताबद्ध हुने बेला आएको बताउनुभएको हो।

यस्तै बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ इन्चार्ज बिक्रम सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने बेला भएको बताउनुभएको थियो ।

बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले तेस्रो आवधिक योजनाको मर्म अनुसार जनताको बिचमा पुग्न पार्टी कमिटीलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा सहभागी गाउँकमिटीका नेताकार्यकर्ता

यस्तै मंगलबार राप्ती – ५ पहरुवामा बसेको बैठकले पार्टीको जिल्ला समितिको पुर्ण बैठकले लिएका महत्वपूर्ण एवम दीर्घकालीन निर्णयहरु अक्षरंस पालना गर्ने निर्णय गरेको नेकपा राप्तीका इन्चार्ज सुरज सीले जानकारी दिनुभएको छ ।

बैठकले अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन , चोरी , पैठारी , लागुऔसधको कारोबारो , पालिकामा भइरहेका भ्रष्टाचार , अनियमितता विरुद्ध शसक्त जनसंघर्ष गर्ने निर्णय गरेको जनाइएको छ । साथै मिटरव्याज पीडित , लघुवित्त पिडित नागरिकका पक्षमा समेत संघर्ष गर्ने निर्णय गरिएको छ।

बैठकले राप्तीमा समाजवादका पक्षमा भित्तेलेखन गर्ने , पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने , सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. १ इन्चार्ज बिक्रम सी , पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. २ इन्चार्ज पाटन जंगली सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका राप्ती गाउँकमिटीका इन्चार्ज सुरज सीको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन पार्टीका राप्ती गाउँकमिटीका सेक्रेटरी अदिप सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार