हेमन्त प्रकाश वली ।
जेठ २८,घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले नेकपा महान आदर्श बोकेको पार्टी भएको बताउनुभएको छ ।
आइतबार घोराहीमा पार्टीको २ नं. क्षेत्र स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता सविनले उक्त कुरा बताउनुभएको हो ।
पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै नेता सविनले भन्नुभयो –‘यो पार्टी महान आदर्श बोकेको पार्टी हो । नेकपा कलकल बग्ने सुन्दर नदिजस्तो पार्टी हो । अन्य पार्टीहरु गन्हाउने ढल्जस्ता भएका छन् । ती पुराना भनिएका ठुला भनिएका पार्टीहरु खराब छन् । हाम्रो पार्टी भनेको महान आदर्श , सपना , उर्जा भएको बिशाल पार्टी हो । हामीसंग नेपाली जनतालाई पुजीवादी दासताबाट मुक्त गर्ने महान लक्ष्य छ ।’
माओवादी आन्दोलनमा बिचलन पैदा भएपछि बिद्रोह गरेर पार्टी बनाएका हौं ।’, विचारधारात्मक प्रशिक्षणमा बोल्दै उहाँले भन्नुभयो , ‘प्रचण्ड-बाबुरामहरुले माओवादी आन्दोलनलाई छाडेपछी बिचारधारात्मक संघर्ष गरेर नेकपा बनाएका हौं । यो चानचुने दुखकष्टले बनाएको पार्टी होइन । राज्यको प्रतिबन्ध झेल्दै सहिदहरु जन्माएर बनेको पार्टी हो । राज्यले करिव २२ सय नेताकार्यकर्तालाई गिरफ्तार गरि झुठा मुद्दा लगाएर जेल हिरासतमा बन्दी बनाउदापनी नझुकेको पार्टी हो ।’
प्रचण्ड र केपीको सरसल्लाहमा नेकपामाथी प्रतिबन्ध लगाएर नेकपालाई सिध्याउने षडयन्त्र थियो तर त्यो सफल भएन ।’, नेता सविनले थप्नुभयो , ‘कथित प्रतिबन्ध मार्फत नेकपा सक्ने योजना थियो तर जनताको काखमा बसेर त्यो योजना बिथोलिदियौँ ।’
नेता सविनले दलाल पुजीवादले नेपाली जनतालाई बाँडिरहेको निराशालाई आशामा बदल्दै जनताको बिचमा नयाँ निति सहित आइपुगेको बताउनुभयो।
उहाँले भन्नुभयो , ‘जनताका बिचमा पार्टीको नीति र नेतृत्व जोड्ने अभियान चलाईरहेका छौँ । अब नेकपाका नेताकार्यकर्ता विशाल आत्मबिश्वास सहित जनतामा पुग्नुपर्छ । हाम्रो सबै प्रकारले जनताको सेवा गर्ने एकमात्र उद्देश्य हो त्यो उद्देश्यका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्दछ ।’
नाम मात्रैका नक्कली कम्युनिस्टहरुले सिद्धान्तलाई जिवन व्यवहारमा प्रयोग गरेनन् ।’, राजनीतिक प्रशिक्षणमा बोल्दै उहाँले थप्नुभयो , ‘समानता ,श्रम र स्वतन्त्रता सबै कम्युनिस्ट पार्टीले भन्छन् तर त्यो सिद्धान्तलाई जीवन व्यवहारमा प्रयोग गर्दैनन् । हामिले प्रयोग गरिरहेका छौँ । उनिहरु र हामीबिचको भिन्नता यहीँ हो । एमाले-माकेले संसदीय व्यवस्थाको प्रतिनिधित्व गर्छन् र मशाल र वैद्यको पार्टी कुनैपनी कम्युनिस्ट पार्टीहरु प्रयोगमा जानै सक्दैनन् ।कम्युनिस्ट हुनका लागि आचरण व्यवहार प्रयोग गरेको छ कि छैन् हेर्नुपर्दछ । नेपालमा केही कम्युनिस्टका कुरा कोठादेखी कोठासम्म सिमित छन् भने अर्काथरीका कम्युनिस्टहरु चुनावदेखी चुनावसम्मका लागि छन् ।’
नेपाली जनताको दुखभोगको एउटै कारण दलाल पुजीवादी राज्यसत्ता हो ।’, नेता सविनले कार्यकर्तालाई भन्नुभयो , ‘दुखभोग गर्नुको एउटै कारण यहाँको दलाल पुजीवादी राज्यसत्ता हो । यो व्यवस्थाले कहिलैपनी उत्पादनसंग जोड्दैन । नेपालको श्रम विदेश निर्यात म गर्दछ । मानवीय शक्तिलाई बिदेशिन बाध्य पारेको छ । अहिले त यतिसम्म हिरानी छ कि अमेरिकामा समेत नेपालीहरु काम नपाएर हैरान छन् । यो सत्ताका विरुद्ध लड्नुपर्छ त्यसका लागि हामिले एकीकृत जनक्रान्ती चलाईरहेका छौँ ।’
राजनीतिक एवम विचारधारात्मक प्रशिक्षणमा बोल्दै नेता सविनले दलाल पुजीवादी राज्यसत्ताको विकल्प नेपाली बिशेषताको समाजवाद भएको जिकिर गर्नुभएको हो ।
उहाँले भन्नुभयो , ‘नेपाली बिशेषताको समाजवाद स्वाधिन व्यवस्था हो । अहिलेको व्यवस्था दलाल व्यवस्था हो । अहिलेको व्यवस्था अस्थिर व्यवस्था हो । संसदहरुलाई किनबेच गर्ने व्यवस्था हो । नेपाली बिशेषताको समाजवाद स्थिर व्यवस्था हो । यो ५ वर्ष पुरै चल्छ । समाजवाद भनेको प्रत्येक नागरिकलाई उत्पादनसंग जोड्ने व्यवस्था हो । निशुल्क शिक्षा , स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था हो समाजवाद ।’
यो दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्न तीन तरिका अवलम्बन गर्न सकिन्छ ।’, उहाँले भन्नुभयो , ‘यदि राज्य तयार हुन्छ भने हामिले संविधान संशोधन गरेर भएपनी समाजवाद उन्मुख लेखिएको यो संविधानलाई संसोधन गरेर समाजवादी संविधान बनाऔं भनेका छौँ । एउटा तरिका यो पनि हो तर राज्य तयार देखिदैन । हामिले जनमतसंग्रहको माग पनि गरिरहेका छौँ । एकपटक जनतालाई कुनै पार्टी वा व्यक्ती चुन्ने भन्दापनी व्यवस्था चुन्ने अधिकार दिउँ । व्यवस्था परिवर्तनको अर्को बाटो हो जनसंघर्षको त्यसमा अहिले जनसंघर्षको स्वरुप बदलिन सक्छ ।’
हामिले कम्युनिस्टहरुले चुनावलाई हेर्ने परम्परागत दृस्टिकोणलाई पनि बदलेका छौँ , नेता सविनले फेरि भने , ‘ चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुदैन भन्ने छलफल हामिले केन्द्रीय समितीको बैठकमा गरेका छौँ । चुनावलाई क्रान्तीको मोर्चाका रुपमा हेर्नुपर्दछ । हामिले केन्द्रीय कमिटीको बैठकबाट ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानका रुपमा प्रयोग गर्ने सोचेका छौँ । हामिले सबै कम्युनिस्टहरुसंग सहकार्य गर्ने र माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेका छौँ । कम्युनिस्टहरुको रातो झण्डाका विरुद्ध अमेरिका षड्यन्त्रमुलक ढंगले आएकाले सबै कम्युनिस्टहरु सचेत हुँदै एकताबद्ध हुनुपर्ने ऐतिहासिक जिम्मेवारी काँधमा आएको छ । साम्राज्यवादका विरुद्ध लडाइँका सबै मोर्चाहरु खुल्ला गरेर जानुपर्दछ।’
यस्तै विचारधारात्मक प्रशिक्षणमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चाकी इन्चार्ज सम्झना सीले समाजवादी व्यवस्थामा कोहि अपमानित हुनु नपर्ने भन्दै त्यस्तो व्यवस्था स्थापना अपरिहार्य रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य विक्रम सीले पार्टीका सदस्यहरुले विचारधारात्मक बहस गर्ने सक्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो , ‘पार्टीलाई टोलटोलसम्म घरघरसम्म पुगाउनुपर्दछ । हाम्रो पार्टीलाई जनतामा पुग्न नदिन वर्गवैरी लागिपरेका छन् । हामी जुनसुकै मुल्यमा भएपनी जनतामा पुगेर हाम्रा कुरा सुनाउनुपर्दछ । वर्गवैरीका किल्लाहरु सबै प्रकारले भत्काउन तयार रहनुपर्दछ । वुर्जुवाहरुको राजनीति चुनावदेखी चुनावसम्म मात्रै हो । यो देशमा नेकपाको दरिलो ओज छ । जनताले हामीबाट ठुलो अपेक्षा त्यो पूरा गर्ने दायित्व सै नेताकार्यकर्ताको हो ।’
यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले जनतासंग नङ र मासुको सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘ हाम्रो र जनताको सम्बन्ध र नङ र मासु जस्तो हुनुपर्छ । पार्टीलाई मजबुत बनाउन पार्टीका नेताकार्यकर्ता जनताको सुखदुःखमा हरहमेसा संगै रहनुपर्दछ । जनतामा देखिएको निराशालाई आशामा बदल्नुपर्दछ । निराशाको जड संसदीय व्यवस्था हो व्यसबाट मुक्ती पाउन समाजवादी व्यवस्था चाहिन्छ । समाजवादी क्रान्तीको नेतृत्व र समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले गर्ने हो । त्यसैले हामिसंग जनताको विशाल अपेक्षा छ त्यो पूरा गर्न हामिलाई विशाल संगठन चाहिएको छ ।’
नेकपा नेपालको वैकल्पिक शक्ति हो , उहाँले फेरि भन्नुभयो , ‘ पुराना पार्टीहरुले वितण्डा मच्चाएका छन् । हाम्रो पार्टी नेकपा नेपालको वैकल्पिक शक्ति हो । हामिले अहिलेको दलाल पुजीवादको विकल्प नेपाली बिशेषताको समाजवाद भनेका छौँ । हाम्रो पार्टी श्रम र उत्पादनमा जोडिएको छ । गाउँगाउँ दलालहरुको हालीमुहाली छ । हामी एकताबद्ध र संगठित भए बल पैदा हुन्छ , बल पैदा भए दलालहरुलाई लखेट्न सकिन्छ।अरुले मिसन ०८४ भनेका छ्न नेकपाले मिसन समाजवाद भन्नुपर्दछ । समाजवादको मिसनसहित जनतामा जानुपर्दछ ।’
यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम २नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सीले संकिर्णता र जडताले समाजवाद नआउने बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘ संकिर्णता र जडताले समाजवाद आउनेवाला छैन । समाजवादका लागि सबै कम्युनिस्टहरुको एकता र ध्रुवीकरण आवश्यक छ । पुजीवादका विरुद्ध अब सच्चा कम्युनिस्ट , वामपंथी , देशभक्त , प्रगतिशील , लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट हुने वेला भएको छ ।’
पार्टीप्रती जनताको ठूलो अपेक्षा छ , नेता पाटनले थप भन्नुभयो , ‘ यो देशमा कसैले केही गर्छ भने नेकपाले गर्छ , महासचिव विप्लवले गर्नुहुन्छ भन्ने सर्वत्र भइसकेको छ । हामिले जनताको यो अपेक्षालाई जिवित राख्नुपर्दछ। अब यो राजनितिक प्रभावलाई व्यापक संगठनमा बदल्नुपर्दछ । चुनावलाई नयाँ ढंगले बिश्लेसन गर्नुपर्छ पुरानो मान्यताबाट मात्रै हेरेर हुँदैन । जनताको मत लिने कुरा पुजिपतीको नारा होइन । संसारभरी मत लिएर आफ्नो प्रतिनिधि छान्ने कुरा कम्युनिस्टको कुरा हो।चुनावलाई एकीकृत जनक्रान्तीको मोर्चा बनाउनुपर्दछ ।चुनावलाई पार्टी विस्तार र सुदृढ गर्ने कुरासंग जोड्नुपर्छ ।’
नेता पाटनले कम्युनिस्टहरुको आफ्नै समाज र जाती चाहिने भएकाले पार्टीले सी समाज र सी संस्कृतिको सुरुवात गरेको समेत बताउनुभएको हो ।
यस्तै कार्यक्रममा आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्दै पुराना दाङका वाम बुद्धिजीवी माधव गौतमले लामो संघर्षपछि अहिलेपनी आधारभुत आवश्यकता पूरा हुन नसेकेको बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘ लामो लडाइँपछि अहिलेपनी जनताका आधारभुत आवश्यकता पूरा हुन सकेनन् । जनतामाथी शोषण दमन अहिलेपनी कायमै छ । हामिले वैचारिक लडाइँ निरन्तर रुपमा लडिरहनुपर्दछ । कम्युनिस्टहरुले आफ्नो आत्मवल दर्हो बनाउनुपर्दछ ।
समाजवाद बिना नेपाली जनताको भाग्य र भविस्यको फैसला हुन सक्दैन ।’
बुद्धिजीवी गौतमले मार्क्सवादी संस्कृतिलाई व्यवहारमा ढाल्न नसक्दा पश्चिमा संस्कृति हावी भएको बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको विचारधारात्मक प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य एवम जवस/मोर्चा लुम्बिनी प्रदेशकि इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ १ नं.क्षेत्र इन्चार्ज विक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , वाम बुद्धिजीवी माधव गौतम लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी निकट सामना परिवारले विभिन्न सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का शुरेस शाहले नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।
नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो भने सञ्चालन पार्टीका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सीले गर्नुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.