दाङ, २९ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी छानबिन समितिको घेरामा परेका छन् । नगरमा प्रविधि तथा सफ्टवयर खरिदमा
अनियमितता भएको आशंकामा डाँगी छानबिन समितिको घेरामा परेका हुन् ।
उपमहानगरपालिकाको शुक्रबार बसेको २५ औँ कार्यपालिका बैठकले प्रविधि तथा सफ्टवयर खरिदबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। लेखा समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको नगरका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले करिब एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने छ । ‘लेखा समितिको संयोजकमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।’ उहाँले भन्नुभयो–‘ छानबिन समितिले अर्को कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।’
समितिको सदस्यमा वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाह र आन्तरिक लेखा परिक्षक प्रकाश केसी सदस्य रहनुभएको छ । तर समिति गठन हुँदा लेखा समितिका संयोजक ढकाल र वडाअध्यक्ष शाह कार्यपालिका बैठकस्थलबाट बाहिरिसकेका थिए ।
नगरमा मेयर टिकाराम खड्काको मिलेमतोमा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले प्रविधि तथा सफ्टयर खरिदमा अनियमितता गरेको आरोप लागेको छ। करिब ४१ लाखको प्रविधि तथा सफ्टवेयर खरिद गर्दा टेण्डर नगरि कोटेशनमार्फत गरिएको, कार्यपालिका सदस्यलाई झुक्याएर निर्णय गरिएको लगायतका आरोप प्रमुख प्रशासकिय अधिकृत र मेयर खड्कालाई छ ।
सत्यतथ्य छानबिन गरिनुपर्ने भन्दै एमालेबाटै निर्वाचित वडाअध्यक्ष र कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले बिरोध जनाएका थिए । एमालेबाट निर्वाचित वडा अध्यक्षलाई शुक्रबारको बैठकमा बहिष्कार नगर्न पार्टीले निर्देशन दिएपछि उनीहरु पहिलेको कार्यतालिका अनुसार ब्याक भएका हुन् ।
पहिलेको कार्यतालिकामा बैठक बहिष्कार गर्ने र प्रमुख प्रशासकिय अधिकृत सहभागी भए बैठक कक्षमै प्रवेश नगर्ने सल्लाह भएको थियो । तर पार्टीले त्यसो गरेको पाइएमा चेतावनी दिएपछि उनीहरु शुक्रबारको बैठकमा निरिह बनेका हुन् ।
उनीहरुले २३ औँ कार्यपालिका बैठकमा आफुहरुलाई झुक्याएर प्रविधि तथा सफ्टवयर खरिद गरिएको भन्दै आपत्ति जनाउदै आएका थिए । सोहि बारेमा २५ औँ कार्यपालिका बैठकमा चर्काचर्की समेत भयो ।
कार्यपालिका बैठकमा नगरप्रमुख टिकाराम खड्काले प्रविधि तथा सफ्टवयर खरिद प्रक्रियागत ढंगले नै गरेको दावि गरेका थिए । उनले छानबिन समिति नै आवश्यक नपर्ने लेखा समितिले गर्न सक्ने बताएका थिए । तर एमालेबाटै निर्वाचित केहि वडा अध्यक्ष र कांग्रेसका वडा अध्यक्षले अनिवार्य रुपमा छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका थिए ।
शुक्रबारको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले मेयर टिकाराम खड्काको निर्देशनमा प्रविधि तथा सफ्टवयर खरिद गरिएको बताएको एक वडा अध्यक्षले बताए । प्रशासकिय अधिकृृत डाँगीले आफुबाट केहि कमजोरी नभएको बताएका थिए । ‘बरु कसको खुट्टा ढोग्नुपर्छ, ढोक्छु तर अनावश्यक रुपमा फसाउने काम नगरियोस् भनेका थिए ।’ एक वडाअध्यक्षले भने–‘हाकीमले छानबिन समिति आवश्यक छैन्, यदि छानबिन समिति गठन आवश्यक भएमा घनश्याम ढकाल बाहेकको नेतृत्वमा गर्नुस् भनेका थिए ।’
स्रोतका अनुसार उनको मनशाय घनश्याम ढकालको नेतृत्वमा छानबिन समिति बनाउने थिएन । तर पछिल्लो पटक लेखा समितिको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय भयो ।
लेखा समितिबाटै राजिनामा दिन्छु, यो निर्णय मान्य छैन्: ढकाल
लेखा समितिका संयोजक घनश्याम ढकालले आफ्नो उपस्थितिबिना गरिएको छानबिन समिति मान्य नहुने बताउनुभएको छ । संयोजक ढकालले यो समितिको कुनै अर्थ नहुने बताउनुभयो । ‘हामी बाहिरिएपछि कसले के ग¥यो, कसलाई कहाँ राखियो केहि अर्थ छैन् ।’ उहाँले भन्नुभयो–‘हामीले छलफल गर्दा सहमति भएन, त्यसपछि के भयो मलाई केहि थाहा छैन् ।’
बैठकमा छानबिन समिति गठनको माग राखेपछि मेयर खड्काले संयोजक ढकाललाई मिडियामा नगरको समाचार आउनुमा तपाई नै हो सूचना दिने व्यक्ति भनेर आरोप लगाएपछि ढकालसहित दुई जना वडाअध्यक्ष बैठकस्थलबाट बाहिरिएका थिए । आजको बैठक बहिष्कार गर्दै ढकालसहित वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाह बैठकस्थलमा ऐजेन्डा च्यातेर बाहिरिएका थिए । कांग्रेसका अन्य तीन जना वडा अध्यक्ष भने बैठकको अन्तिमसम्म बसेका थिए ।
यसैबिच लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष ढकालले आइतबार लेखासमितिबाटै राजिनामा दिने बताउनुभएको छ । ‘मैले लेखा समितिको संयोजकबाट राजिनामा दिदैँ छु ।’ उहाँले भन्नुभयो–‘आफुले मागेका कुरा केहि दिदैनन्, यसकारण पनि लेखा समितिमा बसिरहनुको अर्थ छैन् ।’
यसैगरी उहाँले दलको नेताबाट पनि राजिनामा दिने बताउनुभयो । उहाँका अनुसार शुक्रबारको कार्यपालिका बैठक बहिष्कार गर्ने निर्णय भएको थियो । तर दलको नेता बाहिरिँदा पनि तीन जना कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले पार्टीको ह्विप नमानेको भन्दै उहाँले दलको नेताबाट कांग्रेसलाई राजिनामा दिने बताउनुभयो । ‘दलको नेता बैठकबाटै बाहिरिसकेपछि कांग्रेसबाट निर्वाचित सबै वडाअध्यक्ष बाहिर आउनुपर्ने थियो, तर तीन जना वडा अध्यक्षले पार्टीको ह्विप दलको नेता भइरहनुको अर्थ ठानेन ।’ उहाँले भन्नुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.