विप्लवका सबै भातृसंगठनहरु जोडिए उत्पादनमा,युवा संगठनले फलायो ३५ क्विन्टल धान

डेली न्युजराप्ती       ३० कार्तिक २०८१ १९:४२ मा प्रकाशित     112 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक ३०,दाङ ।
विप्लव सी नेतृत्वको नेकपा निकटका सबै भातृसंगठनहरु उत्पादनमा जोडिएका छन् ।
पार्टी निकट युवा , बिद्यार्थी , मजदुर लगाएतका सबै जनसंगठनहरु कृषि उत्पादनमा जोडिएका हुन् ।

शुक्रबार नेकपाको सहायक संगठन युवा संगठन नेपाल केन्द्रीय समितीले दाङमा लगाएको धान भित्र्याएको छ ।
संगठनले दाङको तुलसीपुर-२ मचोटमा करिव २२ कठ्ठामा लगाएको धान भित्र्याएको हो ।

संगठनले २२ कठ्ठामा करिव ३५ क्विन्टल धान उत्पादन गरेको संगठनका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले जानकारी दिएका छन् ।

‘हामी योजनाबद्ध ढंगले कृषि उत्पादनमा जोडिएका छौँ । राजनितिलाई उत्पादनसंग जोडेर काम गरिरहेको पार्टी नेपालमा नेकपा नै हो । हामिले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर जनताको एजेन्डा लिएर देशव्यापी उत्पादनमा छौँ । हामिलाई गफ गरेर खाने छुट छैन् , यो देश बदल्ने महान अभियानमा छौँ । हामी नेपालका निराश भएका जनता , युवाहरूलाई नयाँ आशा र बिश्वास जगाउन समेत उत्पादनको कार्यलाई अघि बढाएका हौं । हामी हाम्रो आफ्नै पसिना , पौरख आफ्नै माटोमा प्रयोग गरेर यो देशलाई समृद्ध बनाउन चाहेक छौँ ,’ नेता बिष्लेषणले भने।

नेता बिष्लेषणले नेपालमा शान्ती , समृद्धि र स्वाधीनताको बाधक दलाल पुजीवादी संसदीय सत्ता भएकाले संगठनले यसका विरुद्ध संघर्ष गरिरहेको बताए।

उनले भने – ‘नेपालमा समाजवादको विकल्प छैन् । लामो संघर्षमा होमिएका नेपाली जनताको सदियौँदेखिको चाहना समाजवादी सत्ता हो । वास्तवमा मुलुकमा शान्ती , समृद्धि र स्वाधीनताको बाधक अहिलेको दलाल पुजीवादी संसदीय सत्ता हो । त्यसैले हाम्रो संघर्ष अहिलेको संसदीय सत्ताका विरुद्धमा हो । हामीले यो सत्ता खारेजीका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएका छौँ । नेपालका सबै कम्युनिस्ट , देशभक्त , प्रगतिशिल एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु संग मोर्चावन्दी गर्दै अघि बढ्ने योजना बनाएका छौँ । अहिले नै वैज्ञानिक समाजवादसम्म पुग्न नसकिने हो ,सबैले स्वीकार गर्ने स्थिती होइन भनेपनि कम्तिमा अहिलेको अस्थिरता , अराजकतालाई रोक्न स्थिर प्रकारको राज्यप्रणालीको विकल्प खोजौं भन्ने हाम्रो कुरा हो । त्यसका लागि नेपाली बिशेषताको समाजवाद उत्तम विकल्प हो भन्ने हाम्रो पार्टीको प्रस्ताव हो । नेपालमा समाजवाद नभन्ने कुनै पार्टी नै भएनन् त्यसो हो भन्ने अब समाजवादको खुल्ला बहस गरौ ।’

यस्तै युवा संगठन नेपालकि केन्द्रीय कोषाध्यक्ष जिवनी सीले संगठनले लगाएको धान स्याहार्न संगठनका नेताकार्यकर्ताहरुलाई परिचालन गरिएको बताइन् ।

‘सबै नेताकार्यकर्ताहरु सामुहिक श्रममा जोडिएका छौँ । यसको दुरगामी महत्व छ । हामिले कम्युनिस्ट दर्शन , आदर्श , संस्कृतिलाई जिवन्त राखेका छौँ । कोहि कम्युनिस्ट बिग्रेका होलान् त्यो उहाँहरुको कुरा हो । हामी नेपालका करोडौं युवाहरुलाई निराशाको जिवनबाट मुक्त गर्न प्रतिवद्ध छौँ । गणतन्त्र हामिले लडेर ल्याएका हौं अब यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने जिम्मेवारी पनि पूरा गर्छौं । श्रम र उत्पादनबिना समाजवाद सम्भव छैन् ।’

नेताकार्यकर्ताहरु उत्पादनमा नजोडिए दलालमा परिणत हुन बाध्य हुनुपर्ने समेत नेतृ जिवनीको भनाई थियो ।

यस्तै युवा संगठन नेपाल केन्द्रीय समितीको धान भित्र्याउने कार्यमा सहभागी हुन पुगेका नेकपा दाङका सेक्रेटरी तिलक सीले पार्टीले अब जिल्लाका सबै भातृ एवम जनसंगठनहरुलाई उत्पादन कार्यमा जोड्ने बताए ।

‘कुरा समाजवादका गर्ने तर व्यवहारमा दिनभरी डुलेर चन्दा उठाइखाने परिपाटी हुनुहुँदैन । हाम्रा नेताकार्यकर्ता श्रममा बाँच्न सक्नुपर्दछ । हामिले सरल जिवनशैली र कठोर मेहनतको संस्कृतिलाई लागू गर्नुपर्दछ । समाजवादका लागि हामी आफू पहिले समाजवादी बन्नुपर्दछ । राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक दृस्ठिकोणलाई समाजवादी बनाउनुपर्दछ । हामी जनताका सेवक हौं भन्ने कुरा व्यवहारमा पुष्ठि गर्नुपर्दछ ।’

नेता तिलकले पार्टीको नीति कार्यान्वयन गर्ने युवा संगठन नेपाललाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

यता नेकपा दाङले घोराही र देउखुरीमा धान स्याहार्ने कार्य चलिरहेको जनाएको छ । साथै यो वर्ष धान उत्पादनमा वृद्धि भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार