रुसद्वारा पहिलोपटक युक्रेनमाथि अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार

डेली न्युजराप्ती       ७ मंसिर २०८१ ०६:५१ मा प्रकाशित     45 No Comments

काठमाडौँ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरू गरेको रुसले पहिलोपटक युक्रेनमाथि अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले बिहीबार बिहान अस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको जनाएको हो । युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने आईसीबीएम प्रहारबारे केही उल्लेख गरेको छैन । आईसीबीएमका साथै रुसले अन्य क्षेप्यास्त्रसमेत प्रहार गरेको जनाइएको छ । युक्रेनी सेनाले रुसले प्रहार गरेका ६ वटा ‘के-१०१’ क्रुज क्षेप्यास्त्र खसालेको जनाएको छ ।
युक्रेनले रुसमाथि बेलायतमा निर्मित लामो दूरीको ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गरेको जवाफमा मस्कोले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । घटनाबारे बेलायत सरकारले भने कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ । तर बेलायतका रक्षामन्त्री जोन हेलीले ‘युक्रेनले युद्धको मैदानमा गरेको कारबाही आफैं बोलेको’ प्रतिक्रया दिएका छन् । रुसी सेनाले भने युक्रेनी भूभागबाट प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र निस्तेज पारेको जनाएको छ ।
केही दिनअघि अमेरिकाले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) लगायतका लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका थिए । एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ । साथै, अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार मात्रै युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका थिए । युक्रेनले गत मंगलबार अमेरिकामा निर्मित पाँचवटा एटीएसीएमएसबाट रुसी भूमिमा आक्रमण गरेको थियो । रुसी अधिकारीहरूका अनुसार तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको थियो । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार