दाङमा सामनाको प्रस्तुति भोलिदेखी सुरु हुँदै, सामनाले भन्यो‘निराशा चिर्ने प्रयास हो’

डेली न्युजराप्ती       १२ बैशाख २०८२ २२:५८ मा प्रकाशित     680 No Comments

हेमन्तप्रकाश वली ।
बैशाख ११,घोराही ।
सामना सांस्कृतिक परिवारले भोलिदेखी दाङमा सांस्कृतिक एवम सांगीतिक प्रस्तुति कार्यक्रम सुरु गर्ने भएको छ ।
सामनाले समाजवादका लागि सांस्कृतिक अभियान अन्तर्गत भोलीदेखि दाङका दुई पालिकामा सांस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

सांस्कृतिक एवम सांगीतिक कार्यक्रम अन्तर्गत सामना परिवारले भोलि शुक्रबार घोराहीको मालाइन होटलमा मध्यान्ह १२ बजे कार्यक्रम गर्ने जानकारी दिएको छ ।

देशैभरी सांस्कृतिक कार्यक्रम चलाइरहेको सामना परिवार आज दिउसो दाङ आएर पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराएको हो ।

सामना सांस्कृतिक परिवारले घोराहीको कार्यक्रम सम्पन्न भएलग्गत्तै बैशाख १३ गते शनिबार तुलसीपुरमा कार्यक्रम गर्ने जनाएको छ ।
तुलसीपुर नगर विकास समितिको प्रांगणमा हुने कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु गरिने आयोजकले जानकारी दिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपाका पिबिएम एवम वरिष्ठ जनवादी कलाकार माइला लामाले सांस्कृतिक कार्यक्रम मार्फत नेपालमा बढ्दो निराशा चिर्ने प्रयास गरिने बताए ।

उनले भने– ‘ मुलुक निराशाको कालो बादलभित्र छ । ठूलो बलिदानबाट प्राप्त व्यवस्था मास्ने षडयन्त्र भइरहेको छ । आजको गणतन्त्रले पनि मुलुकका विधमान समस्याहरु हल गर्न नसकेको कुरा साँचो हो । पश्चगमन , प्रतिगमन अहिलेको राजनीतिक संकटको निकास होइन् । हामिले सांस्कृतिक अभियान मार्फत नेपालको निराशाको विकल्प समाजवादी व्यवस्थाबाट हुन्छ भन्ने सन्देश दिन गित-संगितको माध्यमबाट अभियानमा हिडेका छौँ । हामी निराशा चिर्ने प्रयत्न गर्नेछौं ।’

यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री एवम जनवादी गितकार मणि थापाले नेपालमा व्यापक ध्रुवीकरणको आवश्यकता रहेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सी , केन्द्रीय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज पाटन सी , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष सुवेदी लगाएतका अतिथी जनवादी कलाकारहरु एवम क्रियाशिल पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सामना सांस्कृतिक परिवारका संयोजक आरोह नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार