नेकपा (माओवादी) दाङको पाँचौ आवधिक योजनाको प्रथम पूर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       २५ मंसिर २०८२ ०९:०४ मा प्रकाशित     487 No Comments

दाङ, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङको पाँचौ आवधिक योजनाको  प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीको आयोजनामा मंगलबार घोराही -१४ झिंगौरास्थित वनको भवनमा पाँचौ आवधिक योजनाको  प्रथम पूर्ण बैठक सम्पन्न भएको हो।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता सम्पन्न भएको बैठकले पालिकास्तरीय राजनीति तथा बैचारिक प्रशिक्षण र जनसर्वेक्षण तथा जागरण अभियान चलाउने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले पालिकास्तरीय  राजनीति तथा बैचारिक प्रशिक्षण अन्तर्गत तुलसीपुरमा  २५ गते, घोराहीमा २६ गते र  देउखुरीमा २७ गते चलाउने निर्णय गरेको छ । त्यस्तै यही मंसिर २९ गते सबै पालिकाको पालिकास्तरीय बैठक बस्ने समेत निर्णय भएको  पार्टीले बताएको छ ।

त्यसैगरी पालिकाका इञ्चार्जको नेतृत्वमा पुस १ गतेदेखि १० गतेसम्म पालिका जनसर्वेक्षण तथा जागरण अभियान चलाउने निर्णय बैठकले गरेको छ ।  जनवर्गीय संगठनको पालिकाको भेला गर्ने र त्यसअन्तर्गत तुलसीपुर १५, घोराही १६ र बाँकी सबैको १७ गते भेला सम्मेलन गर्ने, जिल्लामा जनसेवक कमिटी निर्माण गर्ने, पार्टी सदस्यता अध्यावधिक गर्ने, आर्थिक पाटोलाई पारदर्शी बनाउने, उत्पादनलाई थप व्यवस्थित गर्ने लगायतको निर्णय बैठकले गरेको पार्टी दाङले जानकारी दिएको छ ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य दिँदै पार्टीका केन्द्रीय तथा जिल्ला इञ्चार्ज सविन सीले पछिल्लो समय समाजमा बिद्रोहको सामाजिक प्रकोप भएको  बताउनुभयो । उहाँले जेनजी बिद्रोह पछि समाजमा बिद्रोहको सामाजिक प्रकोप रहदै आएको समेत बताउनुभयो । यस्तो अवस्थामा असल नेता र कम्युनिस्ट पार्टी चाहिन्छ, उहाँले भन्नुभयो । असल कम्युनिस्ट पार्टी र असल नेता बिना देशलाई समृद्ध बनाउन नसकिने उहाँले बताउनुभयो । 

कम्युनिस्टको भाव, विचार र नीति बुझ्ने र त्यही नीति अनुसार आफूलाई ढाल्न सक्ने मान्छे नेपालको कम्युनिस्ट पार्टी नेता र कार्यकर्ता हुने नेता सविनले बताउनुभयो । तर, त्यो बाहेक सबै कोही समर्थक, शुभेच्छुक, आलोचक र जनता हुने उहाँको जोड रहेको थियो । आज देशले जुन निकास खोजेको छ, त्यो निकास हाम्रो पार्टीबाट सम्भव छ, उहाँले भन्नुभयो । हाम्रो पार्टीको नेतृत्वबाट सम्भव छ र हामीले गर्न सक्छौं ।

पार्टीले आगामी निर्वाचनमा जानेगरी निर्वाचन आयोगमा दल दर्ता गरेर गुलावको फूल चुनाव चिन्ह ल्याएको स्मरण गराउँदै यो चुनाव जित्ने र हार्नेसँग नभएर राजनीतिसँग भएको उहाँले बताउनुभएको थियो । नेकपा ( माओवादी)को  प्रतिस्पर्धा भनेको अहिले विद्यामान संसदवादीको दलहरुसँग भएको कुरा जोड दिँदै  आत्मविश्वासका साथ जनताको बीचमा गएमा उथलपुथल गर्ने सकिने भएको हुँदा  नेताकार्यकर्ताहरु ढुक्क भएर जनतासामु जानुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने र आवश्यक परे विचार , मुद्दा मिल्ने पार्टी ,शक्तिहरुसँग मिलेर भएपनि निर्वाचनमा जाने उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा जनवर्गीय संगठनका लुम्बिनी पदेशका फ्याक्सन इञ्चार्ज सम्झना सीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा दर्ता भएर गुलाव चिन्ह लिएर आएसँगै नेताकार्यकर्ताको जिम्मेवारी बढेको बताउनुभयो । उहाँले पार्टीले माओवादीको इतिहासलाई आत्मसात गर्दै  माओवादीको त्याग र समर्पणलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित निर्वाचन आयोगमा पार्टी दर्ता भएको बताउनुभयो ।  देश नेकपा (माओवादी ) मय हुनुपर्ने भन्दै पार्टी महत्त्वपूर्ण कार्यदिशाका साथ अगाडी बढेको हुँदा त्यसतर्फ पार्टीका नेताकार्यकर्ताहरुको ध्यान केन्द्रीय हुनुपर्ने समेत उहाँको भनाइ थियो । 

पार्टीका केन्द्रीय सदस्य बिक्रम सीले पार्टीको नीति र योजना अनुसारका कार्यक्रमहरु जनतासामु पुर्‍याउन नसकेको बताउनुभयो ।  पार्टीले ठोस परिस्थितिको ठोस विश्लेषणसहितका योजनाहरु ल्याएको र जिल्लाका नेताकार्यकर्ताहरुले पार्टीको नीति र योजाना जनतासम्म लग्न नसकेको समेत उहाँले बताउनुभयो । पार्टीका नीति र योजना अनुसार आएका कार्यक्रमहरु नेताकार्यकर्ताहरुले अभियानकै रुपमा अगाडि बढाएर जनतालाई पार्टीका नीति र योजाना बुझाउनुपर्ने उहाँको भनाइ थियो । पार्टीले बानएका योजनाहरुलाई कार्यान्वयन गर्न सकेमात्र पार्टी सशक्त बन्ने उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप सीले पार्टीका नेताकार्यकर्ताहरुको जिम्मेवारी बढ्दै गएको बताउनुभयो। उहाँले सफल हुनलाई निश्चित जिम्मेवारीमा गएमा मात्र आफ्नो भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । पार्टीको विधि र प्रक्रियामा बसेर अगाडी बढ्न सकियो भने पार्टी दाङलाई नयाँ उचाइमा लग्न सकिने समेत उहाँको जोड थियो । पार्टीको जिम्मेवारी अनुसार सही र उचित ढंगबाट पार्टीका कार्यक्रमहरु जनतामाझ लैजानुपर्ने उहाँले बताउनुभयो । जनताले विकल्पको रुपामा अहिले आफ्नो पार्टीलाई हेरेको हुँदा पार्टीको विधि र प्रक्रियाबाटै जनताको माझमा जानुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य पाटन सीले नेपालमा भएको सबै कम्युनिस्टको दायित्व आफ्नो पार्टीमा आएको बताउनुभयो । उहाँले पूँजीवादीहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्न खोजेको कुरामा जोडदिँदै नेपालबाट कम्युनिस्टको रक्षा गर्ने दायित्व नेकपा(माओवादी ) आइपुगेको र त्यसका लागि पार्टीको संगठन स्वरुपलाई मजबुत बनाउनुपर्ने बताउनुभयो । पार्टी आगामी निर्वाचन भाग लिने गरी अगाडी बढेको  र चुनाव पनि क्रान्तिको एउटा मोर्चा भएको उहाँले बताउनुभयो । नेपालमा कम्युनिस्ट सभ्यता स्थापना गर्नुपर्ने र त्यो सभ्यता भनेको संस्कार भएको हुँदा पार्टीका कमिटी सदस्यहरु गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । पार्टीले नेपाली विशेषताको समाजवादमा जानका लागि पार्टी र संगठनलाई मजबुत बनानुपर्ने उहाँले बताउनुभयो।

पार्टीका केन्द्रीय सदस्य मिर्मल सीले जेनजी आन्दोलन पश्चात् वर्तमान नेकपाको छवि इमानदार र स्वच्छ भएको प्रमाणित भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा सहभागी हुने गरी निर्वाचन आयोगमा नेकपा (माओवादी) को नाम दर्ता भएको र आयोगबाट गुलाव चुनाव चिन्ह लिएर अगाडि बढेको जानकारी दिनुभयो ।  पार्टीले माओवादीको विरासत जोगाएको र नेकपा (माओवादी) दाङलाई सच्चिकै माओवादी बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य विकाश सीले समय व्यवस्थापन हुन नसक्दा हरेक काम प्रभावकारी ढंगले अगाडी नबढ्ने बताउनुभयो । उहाँले पार्टीको घोराही उत्पादन केन्द्रबाट  दुई लाख ७० हजारको धान बराबर रकमको धान बिक्री भएको जानकारी दिनुभयो । कुरा गर्ने मान्छेले काम पनि गरेको हुनुपर्ने भन्ने कुरामा जोड दिँदै पार्टीको नीति अनुसार उत्पादन केन्द्रमा श्रममा पार्टीमा नेताकार्यकर्ताहरुको उत्साहजनक सहभागी भएको बताउनुभयो ।  

पछिल्लो समय प्रत्येक दिनको २४ घण्टामा राजनीतिक घट्नाक्रमको विकास हुँदै आएको पार्टीका जिल्ला सेक्रेटरी  तिलक सीले बताउनुभयो । उहाँले पाँचौ आवधिक योजनाको प्रथम पूर्ण बैठकको बारेमा जानकारी दिँदै पार्टी जनताको आकर्षण  केन्द्रमा रहेको समेत बताउनुभएको थियो । पार्टीले  ल्याएका आवधिक योजनाका बारेमा गम्भीर ढंगले सोच्नुपर्ने र अब पार्टीलाई रिफान्ड गर्दै अगाडि बढ्ने भएको हुँदा सबै पार्टी कमिटीका सदस्यहरुले समक्ष र सकारात्मक रुपले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा  उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार