दाङ-३ प्रतिनिधि सभा निर्वाचन: पहिलो इन्ट्रीमै जित्ने आधार तयार पार्दै उम्मेदवार शीतल

डेली न्युजराप्ती       १९ फाल्गुन २०८२ १३:४२ मा प्रकाशित     75 No Comments

दाङ। दाङ–३ मा यसपटकको प्रतिनिधि सभा निर्वाचन रोचक प्रतिस्पर्धाबीच अघि बढिरहेको छ। पहिलोपटक निर्वाचनमा होमिएका नेकपा (माओवादी)का उम्मेदवार बलबहादुर ओली “शीतल”को पक्षमा चुनावी माहोल देखिएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।
लामो समयदेखि वैचारिक राजनीति र जनसरोकारका विषयमा सक्रिय शीतलले यसपटक राष्ट्रिय स्वाधीनताको रक्षा, आत्मनिर्भर अर्थतन्त्रको विकास, समानता र समाजवादलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। घरदैलो अभियान तथा चुनावी सभाहरूमा उनले “देशको नीति र अर्थतन्त्र विदेशी प्रभावबाट मुक्त हुनुपर्छ” भन्ने धारणा स्पष्ट रूपमा राख्दै आएका छन्।
दाङ–३ का विभिन्न गाउँ–टोलमा गरिएको अन्तरक्रिया कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिनु उनको पक्षमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। विशेषगरी युवा र किसान समुदायले आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी विकासको एजेन्डालाई समर्थन गरेको बताइन्छ।
यस क्षेत्रमा परम्परागत रूपमा प्रभाव राख्दै आएका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीसँगै नयाँ शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धामा छन्। तर स्थानीय विश्लेषकहरूका अनुसार मतदातामा परम्परागत दलप्रति असन्तुष्टि र वैकल्पिक राजनीतिक धारप्रति आकर्षण बढेकाले शीतलको पक्षमा लहर देखिएको छ।
शीतल समर्थकहरूले “स्वाधीनता, समानता र समाजवादको पक्षमा मत” भन्ने नारासहित अभियान तीव्र पारेका छन्। राजनीतिक पर्यवेक्षकहरूको भनाइमा, यदि वर्तमान माहोल कायम रह्यो भने दाङ–३ मा यसपटक नयाँ सन्देशसहितको परिणाम आउन सक्ने सम्भावना देखिएको छ।
यद्यपि अन्तिम निर्णय भने मतदाताको मतबाटै हुने भएकाले सबैको ध्यान अब निर्वाचन परिणामतर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार