नेकपा (माओवादी) लुम्बिनी प्रदेशको प्रतिक्रिया: चुनाव संघर्षको एक चरण मात्र

डेली न्युजराप्ती       ३० फाल्गुन २०८२ १०:३८ मा प्रकाशित     70 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढा मगरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै निर्वाचनलाई पार्टीले राजनीतिक संघर्षको एक मोर्चाका रूपमा प्रयोग गरेको बताएका छन्।

शुक्रबार जारी गरिएको प्रेस वक्तव्यमा उनले सरकारद्वारा हतारमा घोषणा गरिएको निर्वाचन सुरक्षा फौज परिचालनको बीच सम्पन्न भएको उल्लेख गर्दै परिणाम शंकास्पद र अवास्तविक भएको दाबी गरेका छन्।
वक्तव्यमा निर्वाचन परिणामका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा आएको उल्लेख गर्दै त्यसप्रति पनि प्रश्न उठाइएको छ।

वक्तव्यअनुसार नेकपा (माओवादी) ले पहिलोपटक गुलाफ चिन्ह लिएर निर्वाचनमा सहभागिता जनाएको थियो। पार्टीले देशभर १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १२९ स्थानमा उम्मेदवार उठाएको र समानुपातिकतर्फ ११० सिटका लागि उम्मेदवारी दिएको जनाइएको छ। प्राविधिक कारणले केही उम्मेदवारहरूको नाम खारेज भएपछि कुल २३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको पनि वक्तव्यमा उल्लेख छ।

पार्टीले आन्तरिक तथा बाह्य अवरोधका बाबजुद नेता–कार्यकर्ता उच्च मनोबलका साथ जनतामाझ पुगेको र पार्टीका विचार, नीति तथा उद्देश्य प्रचार गर्न सफल भएको दाबी गरेको छ।
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २३ क्षेत्रमा उम्मेदवार उठाइएको तर गुल्मी, दाङ र बाँकेका केही स्थानमा प्राविधिक कारणले उम्मेदवारी दिन नसकिएको बताइएको छ।

वक्तव्यमा निर्वाचनलाई पार्टीले जनसम्बन्ध विस्तार गर्ने राजनीतिक अभियानका रूपमा प्रयोग गरेको उल्लेख गर्दै सीमित समयमै संगठन विस्तार र जनसम्पर्क बढाउन सफलता प्राप्त भएको जनाइएको छ। यस कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने उम्मेदवार, जिल्ला इन्चार्ज, सेक्रेटरी तथा सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद दिइएको छ।

इन्चार्ज मगरले अपेक्षित परिणाम प्राप्त नभए पनि निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै नियोजित चुनावमार्फत दलाल र पूँजीवादी शक्तिहरू सत्तामा पुग्ने सम्भावना रहेको टिप्पणी गरेका छन्। उनले पार्टीको लक्ष्य समाजवादी क्रान्ति भएकाले निर्वाचन परिणामलाई संघर्षको एक चरण मात्रका रूपमा लिएको बताएका छन्।

वक्तव्यमा विदेशी शक्तिको प्रभाव, पूँजी र प्रचारको प्रभावका कारण निर्वाचन परिणाम प्रभावित भएको दाबी गर्दै आगामी दिनमा पनि देश र जनताको पक्षमा निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

मगरले मतदाताहरू, शुभेच्छुक तथा समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ सशक्त रूपमा जनताको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार