“देश काठमाडौं महानगर होइन” —प्रधानमन्त्रीमाथि सांसद अमरेश सिंहको विस्फोटक हमला

डेली न्युजराप्ती       ८ जेष्ठ २०८३ ०७:१८ मा प्रकाशित     67 No Comments

काठमाडौं । अमरेशकुमार सिंह ले प्रधानमन्त्री बालेन्द्र शाह को कार्यशैलीमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्। सरकार गठन भएको डेढ महिनामै उनले शासनशैली, संसद्प्रतिको व्यवहार र राज्य सञ्चालनको तरिकाबारे गम्भीर प्रश्न उठाउँदै नेपाल “पुलिस स्टेट”तर्फ उन्मुख भइरहेको चेतावनी दिएका हुन्।
हिमालय टिभी को चर्चित कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै सिंहले व्यापारीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने र भोलिपल्टै छाड्ने प्रवृत्तिले देशमा भय र असुरक्षाको वातावरण बनेको बताए।
“हामी ‘पुलिस स्टेट’ बन्नु हुँदैन, ‘डेमोक्रेटिक स्टेट’ बन्नुपर्छ,” उनले भने, “संसद्लाई कमजोर बनाउने शैलीले पाकिस्तानको अस्थिर लोकतन्त्रको झल्को दिन थालेको छ।”
सिंहले अहिलेको राजनीतिक अवस्था खतरनाक दिशातर्फ गइरहेको दाबी गर्दै बहुमत र दुईतिहाइका सरकारहरू इतिहासमा सफल हुन नसकेको उदाहरण दिए। वर्तमान सरकार पनि पूर्ण कार्यकाल नटिक्ने संकेत उनले गरे।
प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै सिंहले भने, “देश काठमाडौं महानगर जस्तो होइन। महानगर चलाएजस्तो देश चल्दैन। सत्ता हातमा आयो भन्दैमा जे पनि गर्न पाइने छुट संविधानले दिएको छैन।”
उनले संसद्लाई बेवास्ता गर्दै निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाए। नयाँ शक्तिको नाममा लोकतान्त्रिक अभ्यास कमजोर पार्ने प्रयास भइरहेको उनको दाबी थियो।
भूराजनीतिक सन्तुलनबारे पनि सिंहले गम्भीर टिप्पणी गरे। उनका अनुसार नेपाल–भारत र नेपाल–चीन सम्बन्ध अहिले झन् असन्तुलित बनेको छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयभन्दा अहिले परिस्थिति झन् जटिल बनेको बताए।
त्यसैगरी उनले मधेशका जनताको समस्या, सीमावर्ती क्षेत्रको अवस्था र सुकुमवासी बस्ती व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप लगाए। सुकुमवासी बस्ती हटाउने सरकारी कदममाथि प्रश्न उठाउँदै उनले “पहिले वैकल्पिक बसोबासको व्यवस्था गरेर मात्रै हटाउनुपर्ने” धारणा राखे।
बनेपामा निर्माण गरिएको होल्डिङ सेन्टरको अवस्थालाई समेत उनले “दयनीय” भएको टिप्पणी गरे।
अन्त्यमा सांसद सिंहले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी स्थानीय तहको निर्वाचनसम्म संविधान नै सुरक्षित रहन्छ वा रहँदैन भन्ने आशंका व्यक्त गरे।
“समस्या संविधानमा होइन, नियतमा छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार