सल्यानमा ‘बिपिन भण्डारी मेमोरियल’ पार्क तथा संग्राहलय बन्ने

डेली न्युजराप्ती       २ चैत्र २०७८ २०:२० मा प्रकाशित     340 No Comments


चैत २,सल्यान। सल्यानकाे बागचाैरमा बेपत्ता पार्क बनाइने भएकाे छ । जनयुद्धको क्रममा राज्यसत्ताद्वारा बेपत्ता पारिएकाहरूको सम्झनामा बागचौर नगरपालिका वडा नम्बर २ स्थित ‘बिपिन भण्डारी मेमोरियल’ पार्क तथा संग्राहलय बन्ने भएको छ ।

जनयुद्धमा बेपत्ता पारिएका बिपिन भण्डारीको नाममा दर्ता रहेको बिपिन भण्डारी फाउन्डेसनले उक्त पार्क तथा संग्राहलय बनाउने भएको हो ।

जसका लागि बिपिनका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र आमा शान्ता भण्डारीले बागचौरमा रहेको १ रोपनी १२ आनाको जग्गा दान गर्ने भएका छन् । पार्कमा बेपत्ता पारिएका बिपिन भण्डारीको सालिक पनि राखिनेछ ।

बिपिनलाइ २०५९ असार ३ गते तत्कालिन राज्यपक्षद्वारा काठमाडाैंकाे सुकेधाराबाट बेपत्ता पारिएकाे थियाे । २०३७ सालमा बागचाैर नगरपालिका २ मा जन्मिएका बिपिन अध्ययनकाे शिलसिलामा काठमाडाैं गएकाे बेला राजनीतिमा लागेका थिए । तत्कालिन माओवादी निकट अनेरास्ववियुकाे काठमाडाैं जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य र नेकपा माओवादीकाे काठमाडाैं जिल्ला सचिवालय सदस्यमा बिपिनले जिम्मेवारी निभाएका थिए ।

त्यस्तै उक्त पार्कमा देशभरी बेपत्ता पारिएका सम्पूर्ण १ हजार ९८ जनाको विस्तृत जानकारी सहितको शिलालेख राखिने भएकाे छ ।

यस पार्कमा खानेपानी, शौचालय र कार्यक्रम गर्ने मिल्ने टहरा बनाउने र बिस्तारै यसलाई संग्राहलयको रूपमा स्थापित गर्ने बिपिनका बुबा वरिष्ठ अधिवक्ता भण्डारीले बताए । बेपत्ता योद्धा सम्बन्धी अध्ययन गर्न चाहनेको लागि यो एउटा अध्ययन केन्द्रको रूपमा विकास गर्ने योजना रहेको उनकाे भनाइ छ ।

पार्क निर्माणका लागि बागचौर नगरपालिकाले २५ लाख बजेट विनियोजन समेत गरिसकेकाे नगरप्रमुख लाेकमान बुढाथोकीले बताए । पार्क तथा संग्राहलयको निर्माण पछि पर्यटनको क्षेत्रमा नगरलाई लाभ मिल्ने उनकाे भनाइ छ ।
लेकाली अनलाइनबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार