वैद्यहरुसंग समाज विश्लेषणमै कुरा मिल्दैन् : आहुती

डेली न्युजराप्ती       १६ चैत्र २०७८ ०७:४८ मा प्रकाशित     597 No Comments


१६ चैत, काठमाडौं । विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पनि आगामी चुनावमा सहभागी नहुने भएको छ ।
अभियानको रुपमा सुरु भएर २०७५ वैशाखमा पार्टीका रुपमा घोषणा भएको यो दलले भोलि (बिहीबार)देखि काठमाडौंमा प्रथम राष्ट्रिय भेला गर्दैछ ।

यो दल ३० वैशाखको स्थानीय तह निर्वाचनमा भने सहभागी नहुने पक्का भएको छ । ‘अहिले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई उपयोग गर्ने वा भाग लिने दुवै अवस्था छैन भन्ने हाम्रो बुझाइ छ,’ संयोजक अहुतीले अनलाइनखबरसँग भने, ‘यसबाट समस्या समाधान हुने देखिएको छैन । जनतालाई भ्रम दिने थलो बाहेक केही बनेको छैन ।’

मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिस्कारको निर्णय गरिसकेको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मध्यमार्गी निर्णय गर्दै उपयोग न बहिस्कारको लाइनमा छ ।

के हुन्छ भेलामा ?

प्रज्ञा भवन कमलादीमा हुने वैज्ञानिक समाजवादी पार्टीको भेलामा प्रत्येक जिल्लाबाट ५ जना दरले प्रतिनिधि उपस्थित हुने छन् । पार्टीले अहिलेसम्म ७२ जिल्लामा संगठन विस्तार गरिसकेको संयोजक आहुती दाबी गर्दछन् । प्रवास अन्तर्गत १५ देश र मोर्चा संगठनबाट पनि प्रतिनिधित्व हुने भेलामा ४५० भन्दा बढी सहभागी हुने उनले बताए ।

राष्ट्रिय भेलाको प्रारम्भ सत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) र नेकपाका ऋषि कट्टेललाई वक्ताका रुपमा बोलाइएको छ ।

‘सांस्कृतिक रुपमा हामी यो पटकबाट नयाँ गर्दैछौं,’ संयोजक आहुतीले भने, ‘मञ्चमा कोही पनि बस्दैनन् । मञ्चमा जसको काम छ, त्यो मान्छे मात्रै त्यति बेला त्यहाँ जान्छ ।’ उनले अघि भने, ‘मञ्चलाई पाठशाला बनाउन सुरु गरेका छौं । त्यहाँ बेला–बेलामा वृत्तचित्र देखाइन्छ । कसैले गीत गाउँछ, कसैले विज्ञान प्रविधि त कसैले दर्शनशास्त्र र समाज विज्ञानबारे केही कुरा भन्छ ।’
विनोद विक्रम केसी, राजु स्याङ्तान, सुमिना, अस्मिता वादी लगायतले कविता वाचन गर्ने छन् ।
नयाँ विचार ल्याउने दाबी
राष्ट्रिय भेला भिडभाड जम्मा गर्नेभन्दा वैचारिक मन्थनमा केन्द्रित हुने संयोजक आहुतीको दाबी छ ।
भेलामा आहुतीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । ‘हाम्रो विचारधारात्मक राजनीतिक प्रतिवेदनमाथि तीन वर्षदेखि आम समाजमा छलफल चलाइरहेका छौं,’ आहुती भन्छन्, ‘त्यसलाई हामीले अझै परिमार्जन गरेर पेश गरेका छौं । तलैदेखि साथीहरु छलफल गरेर आउनुहुन्छ, हामीले दुई दिनसम्म चल्ने बन्द सत्रमा समूहगत छलफल गरेर अन्तिम रुप दिने मात्रै हो ।’
भेलाले नयाँ विचार दिने आहुतीको दाबी छ । ‘नेपाली समाजको बनावटको बारेमा अहिलेसम्म जे विश्लेषण गरिएको छ, त्यो अपर्याप्त मात्रै होइन, गलत पनि छ,’ उनले भने, ‘नेपाली समाजको नयाँ विश्लेषण हुनुपर्छ, त्यही हामी गर्दैछौं ।’
क्युवाली क्रान्तियता किन क्रान्ति भएन भन्ने प्रश्न पनि आफूले राजनीतिक प्रतिवेदनमा समेटेको उनको भनाइ छ । आहुती भन्छन्, ‘सन् १९५९ पछि विश्व कम्युनिष्ट आन्दोलमा नयाँ क्रान्ति भएन । क्युवाली क्रान्तिसम्म क्रान्तिको लहर छ, त्यसपछि एउटा क्रान्ति पनि भएन । यसको कारण के हो भन्नेबारे नयाँ तथ्यसहित हामी छलफल गर्छौं ।’
त्यस्तै समाजवादको रणनीतिक लक्ष्यसम्म पुग्ने कार्यक्रम पेस गर्ने आहुतीको दाबी छ । ‘समाजवाद स्थापना हाम्रो रणनीतिक लक्ष्य हो,’ उनको भनाइ छ, ‘त्यो प्राप्त गर्नका लागि एक, दुई, तीन गरेर कहाँ पुगेर क्रान्ति सम्पन्न हुन्छ भन्ने श्रृंखला नै हामी प्रस्तुत गर्छौं ।’
आहुतीका अनुसार ‘वैज्ञानिक समाजवाद’ कस्तो हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ, जसको सार उनले पाँच बुँदामा यसरी सुनाए ।
पहिलो– आजको मुख्य उत्पादक शक्ति विज्ञान तथा प्रविधि हो । अब पुँजी पनि होइन, सामूहिक श्रम पनि होइन र मेसिन मात्रै पनि होइन । हिजोको समाजवाद सामूहिक श्रममा आधारित रहेर बनाउने भनिएको हो । अब विज्ञान प्रविधिमा आधारित भएर बन्छ ।
दोस्रो– निजी सम्पतिको उल्मूलन गर्नुपर्छ तर राष्ट्रियकरण होइन । राष्ट्रियकरणको साटो सामुदायिकीकरण गर्नुपर्छ । राष्ट्रियकरण भनेको राज्यकरण हो । राज्य भनेको निजी सम्पतिकै विस्तारित रुप हो ।
तेस्रो– अहिलेसम्म चलेको प्रतिनिधिमुलक राजनीतिक प्रणाली गलत छ । प्रतिनिधिहरुले शासन गर्ने व्यवस्था पुँजीवाद हो । अब सरोकारवाला वर्ग समुदायले निर्णय गर्ने र तिनका प्रतिनिधिले केवल लागू गर्ने गर्नु पर्छ । प्रतिनिधिले लागू मात्रै गर्न पाउँछ, निर्णय गर्न पाउँदैन । कविला युगमा पनि सामूहिक निर्णय हुन्थ्यो र तिनको मुखियाले लागू गर्न पाउँथ्यो । त्यहाँ प्रत्यक्ष लोकतन्त्र हुन्थ्यो । अब प्रतिनिधिमुलक समाजवाद होइन, सरोकारवालाले निर्णय गर्ने र प्रतिनिधिहरुले केवल लागू मात्रै गर्ने प्रणाली मात्रै समाजवाद हुन सक्छ । हामी त्यसमा जान्छौं ।
चौथो– समाजवाद प्रकृतिमैत्री हुनुपर्छ । हिजोको क्रान्तिमा प्रकृतिको समस्या देखापरिसकेको थिएन । अथवा ज्ञान पनि थिएन । अब त यो मानवजातीकै अस्तित्वको मुख्य मुद्दा भएको छ । वैज्ञानिक समाजवाद प्रकृतिमैत्री हुनुपर्छ ।
पाँचौं– जात व्यवस्था, पितृसत्ता र मावननिर्मित सम्पूर्ण भेदभावको अन्त्य यो व्यवस्थामा हुनुपर्छ ।
नेतृत्व प्रणालीमा ‘नयाँ अभ्यास’
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विधानमा निरन्तर एक कार्यकाल भन्दा बढी महासचिव हुन नपाइने व्यवस्था गरिएको छ । केन्द्रीय सचिवालय कमिटीमा चक्रीय प्रणालीको व्यवस्था गरिएको छ । ‘महासचिवको कार्यकाल चार वर्षको हुनेछ,’ आहुतीले भने, ‘एक कार्यकाल महासचिव चलाइसकेको मान्छे, अर्कोपटक महासचिव हुँदैन । त्यसपछि ऊ त्यही केन्द्रीय कमिटीको सदस्य हुन्छ ।’
केन्द्रीय कमिटी संख्याको तिहाइ संख्या रहने गरी केन्द्रीय सचिवालय गठन हुनेछ । एक कार्यकाल सकिंदा केन्द्रीय कमिटीका ६६ प्रतिशत सदस्य सचिवालयमा पुगिसक्ने छन् । आहुती भन्छन्, ‘यसले नेतृत्वको विकासमा सहयोग गर्छ ।’
आहुतीका अनुसार पार्टीमा उत्पादनमुलक र राजनीतिक गरी दुई कमिटी हुने छन् । ‘एउटा उत्पादनमुलक सार्वभौम समितिहरु हुन्छन्, जसले उत्पादनमा भाग लिन्छन् । प्रत्येक सदस्य कुनै न कुनै उत्पादन इकाइको सदस्य हुन्छन्,’ उनले भने, ‘अर्कोतिर राजनीतिक लडाइँ लड्ने सार्वभौम समिति हुन्छन् ।’
वैद्य र विप्लवसँग एकीकरणको प्रयास
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती वैद्य, विप्लव लगायतका सीमित नेतालाई कम्युनिष्ट नेता मान्छन् । उनी नजिकका मित्रशक्ति पनि उनीहरुलाई नै ठान्छन् । तथापि उनीहरुसँग एकता हुन सकेको छैन ।
एकताका लागि पहल गरेपनि नेताहरुको रुचि नदेखिएको आहुतीको भनाइ छ । ‘हामीले क्रान्तिकारी धाराका पार्टीहरुलाई चिठ्ठी नै लेखेर छलफल गरौं भनेर अपिल गरेका थियौं । छलफल पनि भयो’, आहुती भन्छन्, ‘तर कार्यदिशाको मामिलामा छलफलका लागि त्यति रुचि राख्नु भएन । उहाँहरु जे तय गरिएको छ, त्यही ठीक हो भन्नेमा हुनुहुन्छ ।’
आफूहरुले जस्तै विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादीको कुरा गरेको भएपनि त्यो सोभियतकालीन भएको उनको भनाइ छ । ‘नेकपाले सोचेको वैज्ञानिक समाजवादको विशेषता पनि पुरानो र सोभियतकालीन हो,’ विप्लवबारे आहुती भन्छन्, ‘क्रान्तिको कार्यदिशाबारे पनि उहाँहरुको मूर्त केही छैन । एकीकृत जनक्रान्ति भन्नुभएको छ, तर आजदेखि भोलिसम्म के गर्ने भन्ने श्रृंखला नै छैन ।’ वैद्य र ऋषि कट्टेलहरु ‘नयाँ जनवादी क्रान्ति’ गर्ने लाइनमा भएकाले समाज विश्लेषणमै आफूहरुसँग नमिल्ने आहुतीले बताए ।

साभार:अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार